उत्तर कोरियाका नेता छोरीसँग पहिलो पटक सार्वजनिक कार्यक्रममा

उत्तर कोरियाका नेता किम जङ-अन पहिलो पटक आफ्नी छोरीका साथ सार्वजनिक कार्यक्रममा देखिएका छन्। उनकी छोरीबारे लामो समयदेखि विभिन्न खालका भ्रमणहरू थिए।

किम चु-ए नाम भएको ठानिएकी ती बालिका शुक्रवार गरिएको देशकै ठूलो अन्तर महाद्वीप बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निरीक्षणका क्रममा आफ्नो बुवासँग देखिएकी हुन्।

परीक्षणका क्रममा दुवै जना एक अर्काको हात समातेका थिए। अमेरिकाले उक्त परीक्षणको निन्दा गरेको थियो।

नेता किमले विश्वकै अति गोप्य देशहरूमध्येमा पर्ने उत्तर कोरियाको नेतृत्व गरिरहेका छन्। उनको निजी जीवनबारे पनि निकै कम जानकारी छ।

देखिएका दृश्यहरू

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले प्रकाशित गरेका विभिन्न तस्बिरहरूमा आपसमा हात समाएका उनीहरूले परीक्षणको अवलोकन, अधिकारीहरूसँग वार्तालाप र कुराकानी गरेको देखिन्छ।

वासिङ्टन डिसीस्थित स्टिमसन सेन्टरका उत्तर कोरिया मामिला विज्ञ माइकल म्याडन चु-एको सार्वजनिक उपस्थिति निकै अर्थपूर्ण रहेको ठान्छन्।

उत्तर कोरियाको नेतृत्व गर्ने परिवारको तेस्रो पुस्ताका किमले देशका कुलीन वर्गलाई शक्ति अझैँ पनि आफ्नो नियन्त्रणमा रहेको कुरा देखाइरहेको आफ्नो बुझाइ उनले बीबीसीलाई सुनाए।

उत्तराधिकारीको रूपमा चौथो पुस्ता आफ्नो रगतबाट आइरहेको छ भन्ने कुरा देखाउने त्यो किमको तरिका हुनसक्ने उनले बताए।

सन्देश के?

म्याडनले भने, “सन् २०२१ मा किम र अन्य कुलीन समूहहरूबीच अन्तर्द्वन्द्व रहेको खालका विवरणहरू आएपछि यसो गरिएको छ।”

‘यदि मलाई चुनौती दिन्छौँ भने तिमि सकिन्छौँ’ भन्ने किमको सन्देश रहेको उनको बुझाइ छ।

म्याडनले चु-ए १२ देखि १३ वर्षको ठानेका छन्। त्यसको अर्थ विश्व विद्यालय वा सैन्य सेवामा जान उनले करिब चारदेखि पाँच वर्ष तयारी गर्नुपर्ने ठानिएको उनले बताए।

गत सेप्टेम्बर महिनामा उत्तर कोरिया विज्ञहरूले देशको राष्ट्रिय दिवस समारोहमा प्रस्तुत भिडिओमा चु-ए देखिएको बताएका थिए।

तर त्यो अनुमान थियो। उत्तर कोरियाको नेतृत्वले उनी नेताकी छोरी भएको कुरा पुष्टि गरेका थिएन।

गोप्य परिवार

खेलबाट अवकाश लिएका अमेरिकी बास्केटबल स्टार डेनिस रोडमनले गरेको उत्तर कोरियाको विवादास्पद भ्रमणपछि सन् २०१३ मा पहिलो पटक चु-एको अस्तित्वबारे उल्लेख गरिएको थियो।

रोडमनले त्यस बेला किमको परिवारसँग समय बिताएको र उनीहरूको बच्चा चु-एलाई खेलाएको बताएका थिए।

त्यस बेला समुद्रमा आराम गरेको पनि उनले उल्लेख गरेका थिए।

विज्ञहरूले किमका दुई छोरी र एक छोरा भएको हुनसक्ने ठानेका छन्।

तर नेता किम आफ्नो परिवारबारे निकै गोप्य राख्छन्।

यति सम्मकी विवाहपछि पनि केही समयसम्म उनकी पत्नी रि सोल-जुबारेका जानकारी गोप्य राखिएको थियो।