तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मान्छेको मस्तिष्कमा न्यूरालिङ्कको ताररहित चिप राखिएको इलोन मस्कको घोषणा
- Author, प्याट्रिक ज्याक्सन
- Role, बीबीसी न्यूज
इलोन मस्कले आफ्नो कम्पनी न्यूरालिङ्कले निर्माण गरेको एउटा ताररहित ब्रेन चिप पहिलो पटक मानवमा सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका छन्।
उनका अनुसार प्रारम्भिक नतिजाले न्यूरोन अर्थात् स्नायुकोशिकामा उत्साहप्रद सङ्केत देखाएको छ र उक्त चिप प्रत्यारोपण गरिएका बिरामीको अवस्थामा सुधार भइरहेको छ।
न्यूरालिङ्क कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने उद्देश्य राखेको छ। स्नायुप्रणालीसँग सम्बन्धित जटिल अवस्थालाई निराकरण गर्न आफूले सघाउन खोजेको उसले जनाएको छ।
अरू केही कम्पनीले यसअघि नै त्यस्ता उपकरणहरू मानिसको शरीरमा प्रत्यारोपण गरिसकेका छन्।
बीबीसी न्यूजले न्यूरालिङ्क र स्वास्थ्यसम्बन्धी अमेरिकी नियामक निकाय फूड एन्ड ड्रग अड्मिनिस्ट्रेशन (एफडीए) लाई प्रतिक्रियाका लागि सम्पर्क गरेको छ।
गत मे महिनामा एफडीएले मस्कको कम्पनीलाई मानवमा चिप परीक्षण गर्ने अनुमति दिएको थियो। त्यस्तो अनुमति पाउन न्यूरालिङ्कले निकै सङ्घर्ष गर्नुपरेको थियो।
अनुमति पाएपछि न्यूरालिङ्कले छ वर्ष चल्ने अध्ययन आरम्भ गर्न पायो।
ब्रेन चिपले कसरी काम गर्छ?
यो अध्ययनमा एउटा रोबटले शल्यक्रियामार्फत् ६४ वटा लचिला त्यान्द्रा मानिसको मस्तिष्कमा राख्ने न्यूरालिङ्कले जनाएको छ। त्यस्ता त्यान्द्रा मानिसको रौँभन्दा पातला हुन्छन्।
ती त्यान्द्रा "हिँडडुल गर्ने आशय" नियन्त्रण गर्ने मस्तिष्कको एउटा भागमा राखिन्छ।
न्यूरालिङ्कका अनुसार ती त्यान्द्राले मस्तिष्कबाट निस्किने सङ्केत एउटा एपमा तारबिनै प्रसारित गर्न र तिनको अभिलेख राख्न सघाउँछन्।
त्यो उपकरण ब्याट्रीबाट चल्छ। मस्तिष्कबाट सङ्केत पाउने एपले मानिसले कसरी चल्न वा हिँडडुल गर्न चाहेको छ भन्ने छुट्ट्याउँछ।
इलोन मस्क के भन्छन्?
आफ्नो स्वामित्वमा भएको सामाजिक सञ्जाल एक्समा मस्कले न्यूरालिङ्कको यो साधनलाई 'टेलिप्याथी' नाम दिइएको उल्लेख गरेका छन्।
उनका अनुसार टेलिप्याथीले "तपाईँको फोन वा कम्प्युटरलाई नियन्त्रण गर्न अनि तिनका माध्यमबाट लगभग सबै उपकरणलाई केवल सोचेर मात्रै नियन्त्रण" गर्न सक्षम बनाउने छ।
"आफ्ना हातखुट्टा प्रयोग गर्न नसक्ने मानिसहरू यसका प्रारम्भिक प्रयोगकर्ता हुने छन्," उनले घोषणा गरेका छन्।
"तीव्र गतिमा टाइप गर्ने व्यक्ति वा लिलामीकर्ताले भन्दा स्टीभन हकिङले चाँडै सञ्चार गर्न सकेको भए के हुन्थ्यो भन्ने कल्पना गर्नुहोस् त, त्यो नै लक्ष्य हो," दिवङ्गत ब्रिटिश भौतिकशास्त्रीको नाम उल्लेख गर्दै मस्कले पोस्ट गरेका छन्।
अरू उपकरणले कसरी काम गर्छन्?
मस्कको संलग्नताले न्यूरालिङ्कको छवि अग्लिएको छ। तर यो क्षेत्रमा अरू प्रतिद्वन्द्वीहरू पनि छन्। तीमध्ये केही त दुई दशकदेखि क्रियाशील छन्।
यूटास्थित ब्ल्याकरक न्यूरोटेकले सन् २००४ मै मस्तिष्क र कम्प्युटरबीच सम्बन्ध भएको आफ्नो पहिलो इन्टरफेस मानिसको मस्तिष्कमा प्रत्यारोपण गरेको थियो।
न्यूरालिङ्ककै एक सहसंस्थापकले स्थापना गरेको प्रिसिजन न्यूरोसाइन्सले पनि पक्षाघात भएका मानिसलाई सहयोग पुर्याउने उद्देश्य राखेको छ। त्यसले बनाएको उपकरण निकै पातलो टेपजस्तो छ र मस्तिष्कको सतहमा राखिन्छ।
उक्त उपकरण खप्परमा निकै सानो प्वाल पारेर मस्तिष्कमा राखिने र त्यो विधि निकै सामान्य भएको प्रिसिजन न्यूरोसाइन्सले जनाएको छ।
अहिले प्रचलनमा रहेका उपकरणहरूले परिणाम पनि दिएका छन्।
संयुक्त राज्य अमेरिकामा गरिएका दुइटा ताजा वैज्ञानिक अध्ययनमा एक व्यक्तिले बोल्न खोज्दा मस्तिष्कमा देखिएको गतिविधि निगरानी गर्न प्रत्यारोपित साधन प्रयोग गरिएको थियो।
मस्तिष्कबाट प्राप्त सङ्केत बुझेर ती मानिसलाई सञ्चार गर्न सघाउन सकिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।