तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानसँग प्रशोधित युरेनिअमको भण्डार छ – तर के उसले परमाणु अस्त्र बनाउन सक्छ?
- Author, लुइस बारुचो
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ६ मिनेट
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानले युद्ध समाप्त गर्ने सम्झौताअनुरूप उसको प्रशोधित युरेनिअमको भण्डार हस्तान्तरण गर्ने बताएको भन्ने दाबीपछि यस विषयमा फेरि धेरैको ध्यान आकृष्ट भएको छ।
तर सोमवार इरानका उपविदेश मन्त्री सईद खातिब्जादेहले उक्त दाबी अस्वीकार गर्दै असोसिएटेड प्रेस समाचार संस्थालाई त्यसो हुन नसक्ने बताए।
दुई पक्षबीच थप शान्ति वार्ताका निम्ति कुराकानी चल्दै गर्दा यो विषय त्यसको प्रमुख एजेन्डा हुने निश्चित् देखिएको छ।
तर खासमा यो प्रशोधित युरेनिअम भनेको के हो - र यो किन महत्त्वपूर्ण छ?
के हो प्रशोधित युरेनिअम?
पृथ्वीको सतहमा युरेनिअम प्राकृतिक रूपमै पाइने तत्त्व हो।
यसका दुई थरी आइसोटोपहरू हुन्छन्: यू-२३८ र यू-२३५।
प्राकृतिक रूपमै भेटिने युरेनिअममा ९९% यू-२३८ हुने गर्छ जसले 'चेन रियाक्सन' गराउन सक्दैन। जबकी ०.७% मात्रामा मात्र भेटिने यू-२३५ आइसोटोप सहजै टुक्रन सक्छ जसकारण 'परमाणु फिसन' भनिने परमाणू टुक्रिएर ऊर्जा निस्कने प्रक्रियाका निम्ति उपयोगी हुन्छ।
त्यसैले युरेनिअम उपयोगी बनाउनका निम्ति यू-२३५को अनुपात बढाउनै पर्छ जुन प्रशोधन प्रक्रियालाई 'इनरिच्मेन्ट' भनिन्छ।
सबभन्दा पहिले युरेनिअमलाई ग्यासमा परिणत गर्नुपर्छ। उक्त ग्यासलाई सेन्ट्रिफ्युज - अति उच्च गतिमा घुम्ने मेशीन - मा पठाइन्छ।
मेशीन घुम्दाखेरि अलि गह्रुङ्गो यू-२३८ बाहिरी घेरामा हुत्तिन्छ भने अलि हलुको यू-२३५ केन्द्रतिरै समेटिन्छ।
यसो गर्दा यू-२३५लाई छानेर सङ्कलन गर्न सकिन्छ।
परमाणु रियाक्टर तथा अस्त्रहरूमा उपयोग हुने युरेनिअममा के भिन्नता?
प्रशोधनको विभिन्न स्तर अनुसार युरेनिअमको विविध उपयोगिता हुने गर्छ।
न्यून प्रशोधित युरेनिअममा ३-५% यू-२३५ हुने गर्छ जसलाई व्यावसायिक परमाणु ऊर्जा केन्द्रमा इन्धनको रूपमा प्रयोग गरिन्छ। यो स्तरको युरेनिअममा नियन्त्रित "चेन रियाक्सन" हुन सक्छ तर अस्त्र नै बनाउन पुग्ने गरी त्यो पर्याप्त हुँदैन।
उच्च प्रशोधित युरेनिअम जसमा यू-२३५ को मात्रा २०% वा केही बढी हुन्छ त्यसलाई रिसर्च रियाक्टरहरूमा प्रयोग गरिन्छ। अस्त्र नै बनाउनका निम्ति प्रशोधित युरेनिअम यू-२३५को मात्रा करिब ९०% हुनु पर्छ।
त्यति स्तरको सघनता भयो भने तत्काल अनियन्त्रित "चेन रियाक्सन" वा निरन्तर परमाणु प्रतिक्रिया हुन सक्छ। त्यसैले ९०% प्रशोधित युरेनिअमको पर्याप्त परिमाण सङ्कलन गरिने हो भने अति द्रुत गतिमा परमाणु टुक्रन थाल्छन् र एक निमेषमै विशाल परिमाणमा ऊर्जा निस्कन्छ।
यसैबाट युरेनिअमको सैन्य तथा गैरसैन्य प्रयोग छुट्टिन्छ: रियाक्टरभित्र उपयोग हुने इन्धन न्यून प्रशोधित हुन्छ र यहाँ रासायनिक प्रतिक्रियालाई जानाजान कम गतिमा गराइन्छ र होसियारीका साथ व्यवस्थापन गरिन्छ ताकि ऊर्जा निस्कने प्रक्रिया विस्तारै अनि महिनौँ वा वर्षौँ लाग्ने गरी गराइन्छ। बम बनाउँदाखेरि चाहिँ यसको विपरीत तत्काल अनियन्त्रित रासायनिक प्रतिक्रिया हुन दिइन्छ।
सन् २०१५मा ६ वटा विश्व शक्ति - चीन, फ्रान्स, जर्मनी, रुस, अमेरिका र यूके - सँग भएको सम्झौता अन्तर्गत इरानलाई केवल ३.६७% को स्तरमा मात्र युरेनिअम प्रशोधन गर्न सीमित गरिएको थियो।
साथै उक्त सम्झौताले इरानलाई त्यसको भण्डार पनि ३०० किलोग्रामभन्दा धेरै नहुने गरी मात्र गर्न अनुमति दिएको थियो। उसले सञ्चालन गर्न पाउने सेन्ट्रिफ्युजहरूको सङ्ख्या निर्धारित गरिएको थियो तथा फोर्दोस्थित भूमिगत संरचनामा प्रशोधन प्रतिबन्धित गरिएको थियो।
तर सन् २०१८ मा आफ्नो पहिलो कार्यकालमा राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग्ग्याइदिए।
प्रशोधनको स्तर किन महत्त्वपूर्ण हो?
युरेनिअमको प्रशोधनको स्तर जति उच्च हुन्छ परमाणु अस्त्र बनाउन त्यो त्यति नै उपयोगी हुन्छ।
२०% प्रशोधनको स्तर पुग्नुलाई महत्त्वपूर्ण विन्दु मानिन्छ किनभने अस्त्र बनाउने स्तरको प्रशोधन प्रक्रियाका निम्ति आवश्यक मिहेनतको ठूलो हिस्सा यति गर्दा नै लागेको हुन्छ।
प्राकृतिक युरेनिअमलाई २०% प्रशोधित बनाउन हजारौँपटक दोहोर्याएर छुट्ट्याउने कार्य गरिएको हुन्छ जसमा ठूलो मात्रामा ऊर्जा र समय खपत भइसकेको हुन्छ।
त्यसको तुलनामा २०% प्रशोधित युरेनिअमलाई ९०% प्रशोधित युरेनिअममा परिणत गर्न थोरैमात्र अतिरिक्त मिहेनत पर्छ।
यसको अर्थ उच्च प्रशोधित युरेनिअमलाई अस्त्रस्तरको प्रशोधन गर्ने काम तुलनात्मक रूपमा छिटै हुन सक्छ।
इरानसँग कति युरेनिअम छ?
वर्तमान वार्ताको केन्द्रमा इरानसँग भएको प्रशोधित युरेनिअमलाई के गर्ने भन्ने विषय रहेको छ।
युद्धको प्रारम्भमा इरानसँग ६०% प्रशोधित गरिएको करिब ४४० किलोग्राम युरेनिअम रहेको वरिष्ठ अमेरिकी अधिकारीहरूले बताएका थिए। तिनलाई छोटो समयमै अस्त्र बनाउन मिल्ने ९०% मा पुर्याउन सकिन्छ।
साथै इरानसँग करिब १ हजार किलोग्राम २०% प्रशोधित युरेनिअम थियो भने ८,५०० किलोग्राम परिमाणमा ३.६% प्रशोधित युरेनिअम थियो - जसको प्रयोग ऊर्जा उत्पादन गर्न वा मेडिकल रिसर्चका निम्ति हुन सक्छ।
परमाणु हतियार बनाउन सकिने उच्च प्रशोधित युरेनिअमको अधिकांश हिस्सा इस्फाहानमा भण्डार गरिएको विश्वास गरिन्छ। गत वर्ष अमेरिका-इजरेलले हवाई हमला गर्दा निसानामा पारिएका तीनवटा भूमिगत परमाणु केन्द्रहरूमा इस्फाहान पनि एक थियो।
तर अन्य स्थलहरूमा कति उच्च प्रशोधित युरेनिअम भण्डार गरिएको छ भन्ने प्रस्ट छैन।
स्रोतहरूका अनुसार तेहरानले परमाणु प्रशोधन कार्यलाई २० वर्षसम्म स्थगन गर्ने माग अस्वीकार गरेको छ। बरु उसले युद्ध अगाडि नै भनेको जस्तो ५ वर्ष स्थगनको प्रस्ताव गरेको छ।
साथै उसले उसको ४४० किलोग्रामको उच्च प्रशोधित युरेनिअम हस्तान्तरण गर्नु पर्ने माग पनि अस्वीकार गर्दै बरु विगतमा ६०% प्रशोधित गरिएको युरेनिअमलाई कम स्तरमा झार्न सकिने बताएको छ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए)का प्रमुख राफाएल ग्रोसीले एपी समाचार संस्थासँग गत अक्टोबरमा बोल्दै यति परिमाणको युरेनिअम १० वटा परमाणु बम बनाउन पर्याप्त भएको बताएका थिए।
के इरानले परमाणु अस्त्र बनाउँदै छ?
इरानले उसका परमाणु केन्द्रहरू शान्तिपूर्ण कार्यका निम्ति मात्र केन्द्रित भएको बताउने गरेको छ। आईएईएले पनि इरानमा सक्रिय परमाणु अस्त्र कार्यक्रम भइरहेको प्रमाण आफूले नभेटेको बताएको छ।
परमाणु अस्त्र बनाउने दिशामा हतियार बनाउन मिल्ने स्तरको प्रशोधित युरेनिअम बनाउने भनेको केवल एक कदम मात्र हो। काम लाग्ने बम बनाउन 'वारहेड'को डिजाइन र निर्माण अनि प्रहार गर्ने प्रणाली निर्माणजस्ता थप जटिल कदमहरू आवश्यक पर्छन्।
"सन् २००३ मा नै इरानले वारहेडको डिजाइनमा केही क्षमता विकास गरिसकेको थियो। त्यतिबेला उसले उक्त कार्यक्रम रोकेको देखियो," एकजना स्वतन्त्र अस्त्र नियन्त्रण विज्ञ प्याट्रिसिया लिविसले भनिन्।
तर उनले भनिन्: "सन् २०१५ को परमाणु सम्झौता खारेज भएपछि अनि नयाँ सम्झौताबारे भएका वार्ताहरूको निरन्तर विफलताका माझ इरानले फेरि त्यस्तो क्षमता विकास गर्ने निर्णय गरेको हुन सक्छ।"
सन् २०२५को मे मा अमेरिकी रक्षा जासुसी निकायले गरेको जाँचमा इरानले "सायद एक साताभन्दा कम समयमा" एउटा बम बनाउ पुग्ने परिमाणमा अस्त्र बनाउन सकिने स्तरको प्रशोधित युरेनिअम निर्माण गर्न सक्ने देखाएको थियो।
तथापि इरानले "लगभग निश्चित् रूपमा परमाणु अस्त्र नबनाइरहेको" पनि उसले जनाएको थियो। तर चाहेको खण्डमा इरानले अस्त्र निर्माण गर्न सक्ने गरी कदमहरू चालेको उसले उल्लेख गरेको थियो।
इजरेलले सङ्कलन गरेको खुफिया जानकारीमा चाहिँ इरानले परमाणु अस्त्रका विविध भाग विकास गर्ने दिशामा "ठोस प्रगति" गरेको उल्लेख थियो।
थप रिपोर्टिङ् नादिया सुलेमानबाट अनि सम्पादन मार्क शे बाट