तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्मरणशक्ति बढाउन चाहनुहुन्छ? उसो भए सही व्यायाम गर्नुहोस्
- Author, मेलिसा होगेनबूम
- पढ्ने समय: ५ मिनेट
थोरै समय किन नहोओस्, शारीरिक व्यायाम गर्दा तपाईँको मस्तिष्कका गतिविधिमा विशेष तरङ्गहरू उत्पन्न हुन्छन्। तिनले तपाईँका सम्झनाहरू भण्डारण गर्न र भण्डारण भएका सम्झनाहरू चाहिएका बेला झट्ट सम्झिन मद्दत गर्छन्।
स्मृति निकै संवेदनशील कुरा हो। तपाईँ मानिसका नाम सम्झन खोजिरहनुभएको छ वा पसलबाट किन्न आवश्यक भएका वस्तु सम्झन खोजिरहनुभएको छ वा महत्त्वपूर्ण जाँच या जागिरका लागि अन्तर्वार्ता गर्दै हुनुहुन्छ भने तपाइँले केही बेरअघि सम्झिरहेको कुरा तुरुन्तै बिर्सन पनि सक्नुहुन्छ।
तर नयाँ जानकारी सिक्ने क्रममा आफ्नो स्मरण शक्तिलाई बलियो बनाउन एउटा सजिलो उपाय पत्ता लागेको छ - एउटा कसरत गर्ने साइकलमा चढेर पेडल चलाउन थालिहाल्नुहोस् वा छिटो गतिमा हिँड्न थालिहाल्नुहोस्।
हामी एरोबिक व्यायाम वा कार्डियो गरेर हाम्रो स्मरण शक्ति बढाउन सक्छौँ भन्ने अनुसन्धानले देखाएको छ।
व्यायामले सङ्ज्ञात्मक शक्ति बढाउँछ भन्ने लामो समयदेखि भनिँदै आएको हो। शारीरिक गतिविधिले हामी हाम्रो काम कति राम्रोसँग गर्न सक्छौँ भन्ने दर्शाउँछ र उमेरसँगै कमजोर हुँदै जाने मस्तिष्कका भागहरूलाई बलियो बनाउँछ। शारीरिक गतिविधि गरिरहने हो भने संज्ञानात्मक क्षय हुने क्रियालाई पछाडि धकेल्न सकिने वैज्ञानिकहरू बताउँछन्।
शारीरिक व्यायामले हाम्रो स्मरण शक्ति सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने मस्तिष्कको अंश हिप्पोक्याम्पसलाई पनि बलियो बनाउन सक्ने वैज्ञानिकहरूले बताएका छन्। त्यसैका कारण हाम्रो स्मरण शक्तिमा सकारात्मक असर पार्न सक्ने उनीहरूको ठम्याइ छ। हप्तामा केही पटक मध्यम खालको व्यायाम गर्दा हिप्पोक्याम्पसको आकार बढेको पाइन्छ।
अन्य अध्ययनमा व्यायाम गर्ने समयले पनि स्मरण शक्तिमा फरक पार्ने देखाएको छ। जस्तो कि कुनै कुरा पढेको चार घण्टापछि हिँड्न गयो भने पढेको कुरा सम्झने शक्ति तुरुन्तै हिँड्न गएकोमा भन्दा बढी हुन्छ भन्ने पाइएको छ। तुलना गर्दा जिउका विभिन्न अङ्ग तन्काउने 'स्ट्रेचिङ' व्यायामले भने स्मरण शक्तिमा कुनै सुधार ल्याएको पाइएन।
अहिलेसम्म वैज्ञानिकहरूले त्यस्तो किन हुन्छ भन्ने पत्ता लगाएका थिएनन्। एउटा नयाँ अध्ययनले ठ्याक्कै त्यही कुरा खोज्ने प्रयत्न गर्यो।
स्नायु वैज्ञानिकहरूले १४ जना मानिसका मस्तिष्कमा उनीहरूले व्यायाम गरेको लगत्तै कस्तो असर देखिन्छ भन्ने जाँचेका थिए। उनीहरूले मस्तिष्कका कोष अर्थात् न्युरोनहरूमा विद्युतीय गतिविधिको तरङ्ग पैदा भएको पाए जसले हामीमा स्मरण कायम गर्न वा भण्डारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छन्।
आयोवा विश्वविद्यालय अमेरिकास्थित स्नायु वैज्ञानिक मिशेल भोसले भनिन्, "मस्तिष्कमा धेरै न्युरोनहरू सक्रिय हुन पुग्दा तरङ्ग उत्पन्न हुने हो।"
ती तरङ्गले कसरी मस्तिष्कले सम्झनाका पोकाहरू बनाउँछ र मान्छे शान्त रूपमा आराम गरेका बेला वा सुतेका बेला भण्डारण गर्ने गर्छ भन्नेमा महत्त्वपूर्ण भूमिका खेल्छन्।
यो टोलीले परीक्षणमा सहभागीहरूको मस्तिष्कमा छोटो व्यायामपछि कस्तो प्रभाव पर्यो भनेर हेरेको थियो।
उनीहरूले व्यायामपछि हिप्पोक्याम्पस र हिपोक्याम्पस जोडिएका क्षेत्रमा तरङ्गहरू बढेको पाए।
अनुसन्धानकर्ताहरूको विश्वासमा त्यसले नै मस्तिष्कलाई सम्झनाहरू एक ठाउँमा ल्याउन मद्दत गर्छ। भोस भन्छिन्, "यी तरङ्गहरू मस्तिष्कका अन्य गतिविधिसँग पनि मिलेका पाइयो।"
उनको टोलीले छारे रोगको शल्यक्रियाका लागि चिकित्सा परीक्षण भैरहेका बिरामीहरूका मस्तिष्कमा विद्युतीय गतिविधि कस्तो हुन्छ भन्ने हेरिरहेका न्यूरोसर्जनहरूसँग सहकार्य गरेको थियो।
ती बिरामीहरूको मस्तिष्कमा अस्थायी रूपमा इलेक्ट्रोडहरू राखिएको थियो जसको सहायताबाट टोलीले साइकलमा व्यायाम गर्नुअघि र पछिका विद्युतीय गतिविधि हेर्न सक्षम भएका थिए।
सहभागीहरूले अध्ययनको क्रममा कुनै नयाँ कुरा नसिकेपनि अघिल्ला अध्ययनहरूले मस्तिष्कमा निस्कने "तरङ्ग"ले स्मरण शक्तिहरू भण्डारण गरेर राख्न सहयोग गर्छन् भन्ने देखाएका थिए।
भोस भन्छिन्, " सीधा रूपमा विद्युतीय सङ्केत मापनको सहयोगले हामीलाई मानिसको मस्तिष्कले कसरी काम गर्छ भन्ने बुझ्न विशेष अवसर उपलब्ध गराउँछ। यो नै मस्तिष्कले कसरी काम गर्छ भनेर देखाउने मुख्य उपाय पनि हो।"
यी मस्तिष्कमा उत्पन्न हुने तरङ्गको गति अत्यन्त तीव्र हुने गर्छ त्यसैले यसलाई नियमित मस्तिष्कको स्क्यान गर्दा देख्न सकिन्न। कसरत वा व्यायामले मानिसको मस्तिष्कलाई कसरी प्रभावित गर्छ भन्ने देखाउन यो पहिलो अध्ययन भएको छ।
किन मानिसहरू कुनै कुरा सिकेपछि व्यायाम गर्न गए भने त्यसलाई राम्ररी सम्झिन्छन् र त्यसको जैविक व्याख्या के हो भन्ने यसले देखाउँछ।
छोटो समयको सक्रियताले पनि मस्तिष्कको हलचल बढाएको देखिनुको अर्थ हो छोटो समयको गतिविधिले पनि हाम्रो स्मरण शक्तिलाई फाइदा पुर्याउँछ।
भोसले शारीरिक गतिविधिको महत्त्वबारेको यो परिणामले मानिसहरूको बुढ्यौलीमा संज्ञानात्मक क्षय कम होस् भनेर कसरी काम गर्ने भन्नेमा सघाउने आशा व्यक्त गरिन्।
नियमित व्यायामले मस्तिष्कका लागि र शारीरिक स्वास्थ्यका लागि विभिन्न प्रकारका फाइदा पुग्छ भन्ने हामीलाई थाहा भएको कुरा हो।
अनुसन्धानले देखाए अनुसार एक पटक व्यायाम गर्दा पनि त्यसपछिको दुई घण्टासम्म त्यसले हाम्रो ध्यानलाई केन्द्रित गर्न सहयोग गर्न सक्छ। त्यसले खुसी तुल्याउने होर्मोन डोपामाइनको तह पनि तत्कालै बढाइदिन्छ।
हालैको एक अध्ययनले पनि हामी जति व्यायाम गर्छौँ त्यति स्वस्थ बन्छौँ र त्यसपछि एक पटक गर्ने व्यायामले पनि धेरै फाइदा दिन सक्छ भन्ने देखाएको छ।
जुनसुकै शारीरिक गतिविधि स्पष्ट रूपमा फाइदाकारी छ तर यो नयाँ अध्ययनले हामी जति सक्रिय रह्यौँ त्यति हाम्रो मस्तिष्कमा फाइदा पुग्ने देखाएको छ।
त्यस्तो किन हुन्छ भने व्यायामले हाम्रो हृदय स्वस्थ राख्छ र हाम्रो शरीरको मांसपेशीले हाम्रो मस्तिष्कका लागि आवश्यक 'ब्रेन डिराइभ्ड न्युट्रोफोनिक फ्याक्टर' उत्पादन गर्छन्।
"सक्रिय रहनुपर्ने कारण छ किनभने हरेक पटक सक्रिय रहँदा तपाईँलाई फाइदा पुग्छ," युनिभर्सिटी कलेज लन्डन यूकेमा व्यायामले दिने फाइदाबारे अनुसन्धानकर्ता रहेकी फ्लामिनिया रोन्काले भनिन्।
उनले भनिन्, "यदि तपाईँले ६ हप्तासम्म व्यायाम गरिरहनुभयो भने भविष्यमा हुने कुनै पनि व्यायामका सेसनले तपाईँलाई झन् बढी फाइदा पुर्याउँछन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।