भेनेजुएलाको ट्याङ्कर कब्जापश्चात् अमेरिकाद्वारा मदुरोमाथि थप दबाव र प्रतिबन्ध

अमेरिकी सेनाद्वारा तेल ट्याङ्कर कब्जा गरिँदै

तस्बिर स्रोत, Reuters

    • Author, माइया डेभिज
  • पढ्ने समय: ३ मिनेट

भेनेजुएलाको तटपारि एउटा विशाल तेल ट्याङ्कर कब्जा गरेको भोलिपल्ट अमेरिकाले भेनेजुएलाली तेल बोक्ने थप छवटा पानीजहाजमाथि ताजा प्रतिबन्ध लगाएको छ।

साथै भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोका आफन्त तथा वाशिङ्टनकै शब्दमा "उनको अवैध सत्तासँग जोडिएका व्यापार"माथि थप आर्थिक प्रतिबन्धहरू पनि लगाइएको छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलाइन लेभिटले पत्रकारहरूसँग बोल्दै 'स्किपर' नामक कब्जा गरिएको तेल ट्याङ्कर अवैध तेल कारोबारमा संलग्न रहेको र अब त्यसलाई अमेरिकी बन्दरगाह लगिने बताइन्।

भेनेजुएलाले उक्त कार्यलाई 'अन्तर्राष्ट्रिय डकैती'को सङ्ज्ञा दिएको छ।

मदुरोविरोधी अभियान?

निकोलास मदुरो

तस्बिर स्रोत, Reuters

मदुरोविरुद्ध चलाइएको अमेरिकी दबाव अभियानलाई पछिल्लो घटनाले थप उत्कर्षमा पुर्‍याएको छ।

केही महिनायता भेनेजुएलाबाट लागुऔषध बोकेर आएका भनिएका पानीजहाजहरूमा अमेरिकी सेनाले हमला गर्दा दर्जनौँ मारिएका छन्।

ठूला अमेरिकी युद्धपोतलाई क्यारीबिअन क्षेत्रमा खटाइएको छ।

ट्रम्प प्रशासनले भेनेजुएलामाथि अमेरिकामा लागुऔषध तस्करी गरेको आरोप लगाएको छ।

विश्वको सबभन्दा विशालमध्येका तेलभण्डारहरू रहेको भेनेजुएलाको सरकारले चाहिँ अमेरिकाले उसको ऊर्जा स्रोत चोर्न खोजेको बताएको छ।

बुधवार मदुरोले भेनेजुएला कहिल्यै पनि 'तेल उपनिवेश' नबन्ने घोषणा गरे।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी लेभिटले लागुऔषध तस्करी रोक्न तथा आर्थिक प्रतिबन्ध लागु गर्न अमेरिका प्रतिबद्ध रहेको बताइन्।

अमेरिकी योजना

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलाइन लेभिट

तस्बिर स्रोत, EPA/Shutterstock

भेनेजुएलाको तेल बोकेका थप ट्याङ्करहरू पनि अमेरिकाले कब्जा गर्ने योजना बनाएको छ? भन्ने प्रश्नमा उनले स्पष्ट जबाफ दिइनन्।

"कालो बजारको तेल बोकेका प्रतिबन्धित पानीजहाजलाई हामी यत्तिकै चुप लागेर हेरिरहँदैनौँ। त्यस्ता कारोबारले लागुऔषध-आतङ्कवाद अनि विश्वभरि अवैध शासनलाई मलजल गर्छ," उनले भनिन्।

अमेरिकाले यसै साता कब्जा गरेको स्किपर नामक ट्याङ्करमा भएका तेललाई आवश्यक कानुनी प्रक्रियापश्चात् नियन्त्रणमा लिइने उनले बताइन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फोन गरेर 'बाह्य दबावका माझ' मदुरोलाई समर्थन दिएको भन्ने विषयले राष्ट्रपति ट्रम्प चिन्तित नहुने पनि लेभिटले बताइन्।

यसबीच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मदुरोकी पत्नीका तीनजना भतिजहरू तथा अन्य व्यापार एवं पानीजहाजहरूमाथि लगाइएका ताजा आर्थिक प्रतिबन्धले मदुरोको 'निरङ्कुश र क्रूर नियन्त्रण'लाई धक्का दिने बताए।

एक्समा पोस्ट गर्दै उनले ट्रम्प प्रशासनले "(मदुरो)सत्ता र त्यसका आसेपासे तथा कम्पनीहरूलाई तिनको निरन्तरको अपराधमा जबाफदेही बनाइरहेको" उल्लेख गरे।

बुधवार ह्वाइट हाउसले सार्वजनिक गरेको भिडिओमा हेलिकप्टरबाट अमेरिकी सेना स्किपर नामक तेल ट्याङ्करमा झरेर नाटकीय ढङ्गले त्यसलाई कब्जामा लिएको देखिन्छ।

भेनेजुएलाको सरकारले उक्त कार्यको कडा निन्दा गरेको छ। मदुरोले अमेरिकाले जहाजका क्रु लाई 'अपहरण' गरेको र जहाज 'चोरेको' बताएका छन्।

"उनीहरूले नयाँ युग सुरु गरेका छन्," मदुरोले भने। "क्यारिबीअनमा आपराधिक सामुद्रिक डकैतीको युग।"

अमेरिकाले आफ्नो नियन्त्रणमा लिएको भेनेजुएलाको पानीजहाज स्किपर

तस्बिर स्रोत, US Department of Justice

आन्तरिक मामिला मन्त्री डिओस्डाडो काबेयोले अमेरिकालाई "हत्यारा, चोर, डाँका" भनेका छन्।

अमेरिकाले तेल तस्करी गरेर हिज्बोल्लाह तथा इरानको सेनाका निम्ति फाइदा गराएको आरोपमा उक्त पानीजहाजलाई सन् २०२२ मै प्रतिबन्ध लगाएको थियो।

कब्जा गर्नु अगाडि अमेरिकाले क्यारिबीअन सागरमा भेनेजुएलाको सिमानाको उत्तरी क्षेत्रमा सैनिक उपस्थिति बाक्लो बनाएको थियो।

विश्वकै सबभन्दा विशाल विमानवाहक युद्धपोत यूएसएस जेराल्ड फोर्डलाई अनि हजारौँ फौजलाई अमेरिकाले अहिले सो क्षेत्रमा तैनाथ गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।