छोराबुहारी यार्सागुम्बा टिप्न गएपछि बूढाबूढी कसरी सम्हाल्छन् घरायसी जिम्मेवारी?

तस्बिर स्रोत, PRAKASH PANT/BBC

तस्बिरको क्याप्शन, छोराबुहारी यार्सागुम्बा खोज्न गएपछि बस्तुभाउदेखि नातिनातिनीको हेरचाह गरेर बसिरहेका ठूली भेरी नगरपालिका माझपाल डोल्पाका ७० वर्षकी लालमती रोकाया र ६० वर्षकी मङ्गला रोकाया
    • Author, प्रकाश पन्त
    • Role, डोल्पा, बीबीसी न्यूज नेपाली

डोल्पा ठूलीभेरी नगरपालिका माझपालकी ७० वर्षकी लालमती रोकाया हिजोआज गाई गोरु, भेडा बाख्रा चराउन र नातिनातिना हेर्न व्यस्त छन्।

तीन छोरा र बुहारीहरू साईक्वारी पाटनमा यार्सा टिप्न गएपछि घरायसी जिम्मेवारी आफ्नो काँधमा आइपरेको उनी बताउँछिन्।

तीन छोराका १० जना छोराछोरीलाई खाना पकाएर खुवाउने, बिहान गाईबस्तुलाई चराउन जङ्गलमा लैजाने र साँझ घर ल्याएर बाँध्ने काम उनले गर्दै आएकी छन्।

जेठ १९ गते उनका छोराबुहारीहरू बहुमूल्य जडीबुटी यार्सागुम्बा खोज्न पाटन गएका हुन्।

अब उनीहरू असार महिनाको अन्तिमतिर मात्रै घर फकर्ने छन्।

त्यतिन्जेलसम्म उनले सम्पूर्ण घर व्यवहार धान्नु पर्नेछ।

उनले भनिन्, "खेतबारीको उत्पादनले ६ महिना पनि धान्न मुस्किल पर्छ। पाटन नगए वर्षभरि के खाने, के लाउने? कसरी काठमाण्डूमा ११–१२ कक्षामा पढिरहेका दुई जना नातिनीको पढाइ खर्च जुटाउने?

पढाइ र खर्च धान्ने मेलो

तस्बिर स्रोत, PRAKASH PANT/BBC

तस्बिरको क्याप्शन, यार्सागुम्बा खोज्न पाटन पुगेका छोराबुहारीलाई खानेकुरा लिएर पाटनतिर जाँदै गरेका एक जना ज्येष्ठ नागरिक

दुई भाइ छोरा बुहारी यार्सा टिप्न पाटन गएपछि माझफालकै ६५ वर्षका हर्कबहादुर कामी घर व्यवहार एक्लै धानिरहेका छन्।

"छोरा बुहारी जरा खोज्न गइसके। म बूढो नातिनातिना र गाई गोरु हेर्न घरै बसेको छु," उनले भने।

"नुन तेल खान, बिरामी पर्दा औषधीमूलो गर्न र नातिनातिना पढाउन यार्सा टिप्न नगई हुँदैन।"

छोरा, बुहारी, नातिनातिनाहरू सबै यार्सागुम्बा टिप्न हिँडेपछि डोल्पा दरगाउँकी ६५ वर्षीया सिद्धी रोकायाको काँधमा पनि घरको सबै जिम्मेवारी आइपरेको छ।

"खेतीको उब्जनीले तीन महिना पनि धान्दैन। त्यसैले वर्षको छाक टार्न सिजनको बेला यार्सा टिप्न नगएपछि के खाने," उनी भन्छिन्।

माझगाउँकै ६० वर्षकी मङ्गला रोकाया पनि अहिले घरमा एक्लै छन्।

उनले पनि गाई गोरु, भेडाबाख्रा, कुखुरा हेर्ने काम गरिरहेका छन्।

तस्बिर स्रोत, PRAKASH PANT/BBC

तस्बिरको क्याप्शन, यार्सागुम्बा टिप्न डोल्पा जिल्लाको माथिल्लो भेगमा जाँदा मानिसहरूले आफ्ना घोडा पनि लिएर जाने गर्छन्

बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्ने सिजन सुरु भएसँगै यार्सागुम्बा पाइने पाटन नजिक रहेका डोल्पाका गाउँबस्तीमा हिजोआज बूढाबूढी, बिरामी र साना केटाकोटी मात्रै भेटिन्छन्।

पाटन गएका छोराबुहारी नफर्केसम्म बूढाबूढीहरूले नै यसरी हरेक वर्ष महिना दिन सम्पूर्ण घर व्यवहार धान्ने गरेका छन्।

बूढाबूढी नहुने कतिपयले भने घरमा ताल्चा लगाएर पशुचौपाया समेत लिएर यार्सागुम्बा टिप्न पाटनमा गएका पनि छन्।

अर्को दिन अन्त्येष्टि

तस्बिर स्रोत, PRAKASH PANT/BBC

तस्बिरको क्याप्शन, छोराबुहारीलाई यार्सागुम्बा खोज्न पाटन पठाएर नातिनातिना हेर्नमा व्यस्त ठूली भेरी नगरपालिका माझफाल डोल्पाकी ७० वर्षीया लालमति रोकाया

गाउँमा साना केटाकेटी, बुढाबुढी र अपाङ्गता भएकाहरू मात्र भएकोले गाउँमा कसैको मृत्यु भए यतिबेला मलामी समेत नभेटिने गाउँलेहरू बताउँछन्।

"गाउँमा कसैको मृत्यु भए पाटनबाट आएर अर्कोदिन मात्रै अन्त्येष्टि गर्छन्," डोल्पा दुरगाउँका राजीमान बोहराले भने।

"गएको हप्ता हाम्रै गाउँमा एक जना वृद्ध मान्छेको निधन हुँदा पाटनबाट छोराहरू आएर अर्को दिनमात्रै अन्त्येष्टि गरे।

यार्सागुम्बा टिप्ने सिजन सुरु हुने बित्तिकै हरेक वर्ष कम्तीमा पनि महिना दिनसम्म पाटन नजिकका दुरगाउँ, माझफाल, लाहारा, हुँ, काँडाताली, थरगाँउमा बूढाबूढी, अपाङ्गता भएका व्यक्ति र ६–७ वर्ष उमेरका बालबालिका मात्रै छन्।

बूढाबूढी र केटाकेटी नभएकाहरूले भने आफ्नो घरमा ताला लगाएर यार्सागुम्बा खोज्न पाटन जान्छन्।

ताला लगाएर जानेहरूले आफ्ना गाईगोरु, भेडाबाख्रा, घोडा खच्चड र भैँसीहरू पाटनमा लगेर छोड्ने गर्छन्।

तस्बिर स्रोत, PRAKASH PANT/BBC

तस्बिरको क्याप्शन, सबै यार्सागुम्बा टिप्न पाटन गएपछि बूढाबूढी र साना केटाकेटी मात्रै रहेको डोल्पाको रुप पाटन नजिक पर्ने काँडाताली गाउँ

रुप पाटनमा यार्सागुम्बा खोज्न गएकाहरू तल्लो ढोकेनी, माथिल्लो ढोकेनी, डाराकोट, ओफा, बागेडाँडा र तरपरेमा त्रिपाल र अस्थायी टहरा बनाएर बसेका छन्।

एकै घरबाट यार्सागुम्बा टिप्न जाने ६-७ जनाले दैनिक १५-२० हजार रुपैयाँ सम्मको यार्सागुम्बा टिप्ने गरेको बताउँछन्।

यार्सागुम्बाको सिजनमा एकै घरले कम्तीमा पनि ४-५ लाख देखि १२-१५ लाख रुपैयाँसम्म भित्र्याउने गरेको डोल्पाका विष्णु बोहराले बताए।

उनले भने, "डोल्पालीको वर्षभरिको आम्दानीको स्रोत नै यार्सागुम्बा लगायतका जडिबुटी हुन्। यो सिजनमा घरमा बुढाबुढी अपाङ्गता भएका व्यक्ति र साना बालबालिकाहरू मात्रै हुन्छन्। बाहिर गएकाहरू पनि यार्सागुम्बा टिप्ने सिजनमा घर फर्किन्छ्न।"

यो बेला जति सक्यो बढी यार्सागुम्बा र जडिबुटी टिपेर उनीहरूले वर्षभरिको खर्च जुटाउने गर्छन्।

उनीहरू समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेका पाटनमा पाल हालेर महिना दिनजति बस्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।