चन्द्रमाको पछाडिपट्टि पुग्दा आर्टिमिस अन्तरिक्षयात्रीहरू जब ४० मिनट सम्पर्कविहीन हुने छन्

तस्बिर स्रोत, Nasa/Reid Wiseman

तस्बिरको क्याप्शन, ओराइअन क्याप्स्यूलबाट गत साता खिचिएको पृथ्वीको नयाँ तस्बिर
    • Author, रेबेका मोरेल
    • Role, विज्ञान सम्पादक
    • Author, एलिसन फ्रान्सिस र
    • Author, केभिन चर्च
    • Role, जोन्सन स्पेस सेन्टर
  • पढ्ने समय: ४ मिनेट

आर्टिमिस अभियानमा सहभागी अन्तरिक्षयात्रीहरू पृथ्वीबाट सबैभन्दा टाढा पुग्ने छन्।

उनीहरू जति टाढा पुग्यो पृथ्वीलाई उति सानो देख्छन्। तर उनीहरू टेक्ससको ह्यूस्टनस्थित अभियान नियन्त्रणकक्षसँग निरन्तर सम्पर्कमा रहँदै आएका छन्। नासाको उक्त टोलीसँग कुरा गर्दा उनीहरूलाई घरको न्यास्रो लाग्न पाउँदैन।

तर चाँडै उक्त सम्पर्कसेतु अवरुद्ध हुने छ।

उनीहरू सोमवार राति ब्रिटिश समर टाइम (बीएसटी) अनुसार २३ः४७ बजे (नेपाली समयानुसार मङ्गलवार बिहान ४ः३२ बजे) चन्द्रमाको पृष्ठभाग हुँदै अघि बढ्दा अन्तरिक्षयान र पृथ्वीबीच सञ्चारसम्पर्क अवरुद्ध हुने छ।

अन्तरिक्षयात्रीहरू र नासाको टोलीबीच आदानप्रदान हुने रेडिओ र लेजर सङ्केतलाई चन्द्रमाले नै ४० मिनटजति छेक्ने छ। अनि आर्टिसिस अभियानमा संलग्न चार जनाको टोली झन्डै ४० मिनट अन्तरिक्षको निष्पट्ट अन्धकारमा एक्लो पर्ने छ।

आर्टिमिसका पाइलट भिक्टर ग्लोभर त्यो अवधिमा संसार "एकताबद्ध" हुने आशा व्यक्त गर्छन्।

"हामी सबैसँग सम्पर्कविहीन भई चन्द्रमाको पछाडिपट्टि हुँदा त्यसलाई एउटा अवसरका रूपमा लिऔँ," अन्तरिक्षयान प्रक्षेपण हुनुअघि उनले बीबीसी न्यूजसँग भने। "अन्तरिक्षयात्रीहरूको टोलीसँग हाम्रो पुनः सम्पर्क होओस् भनेर प्रार्थना र आशा गरौँ, शुभकामना र शुभेच्छा व्यक्त गरौँ।"

५० वर्षअघि के भएको थियो

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, अन्तरिक्षयात्री माइकल कोलिन्सले चन्द्रमाको पछाडिपट्टिको भागमा पुग्दा "आफू नितान्त एक्लो" भए जस्तो अनुभूति भएको बताएका छन्

चन्द्रयात्राको अभियानमा अपोलो अन्तरिक्षयात्रीहरूले पनि ५० वर्षभन्दा अघि सञ्चारविच्छेद र एक्लोपन भोगेका थिए।

सम्भवतः अपोलो ११ का माइकल कोलिन्सले जस्तो समस्या अरूले भोग्नुपरेन।

सन् १९६९ मा नील आर्म्स्ट्रङ र बज एल्ड्रिनले चन्द्रमामा पाइला टेकेर इतिहास बनाए। तर त्यतिबेला कोलिन्स 'कम्यान्ड मोड्यूल'मा एक्लै बसेर चन्द्रमाको परिक्रमा गर्दै थिए।

उनको यान चन्द्रमाको पछाडिपट्टिको भागमा पुग्दा चन्द्रमामा अवतरण गरेका दुई सहयात्री अनि पृथ्वीस्थित अभियान नियन्त्रणकक्षसँग उनको सम्पर्क ४८ मिनट विच्छेद भएको थियो।

सन् १९६७ मा प्रकाशित संस्मरणमूलक पुस्तक 'क्यारिइङ द फाइअर'मा उनले आफ्नो अनुभूति लेखेका छन्। उनका अनुसार त्यतिबेला उनले आफूलाई "नितान्त एक्लो" र "चिनिएका सबै जीवबाट छुट्टिएको" पाएका थिए तर डर वा एक्लोपन भने महसुस भएको थिएन।

त्यसपछि दिएका अन्तर्वार्ताहरूमा उनले रेडिओ सङ्केत बन्द हुँदा उत्पन्न शान्तिबारे वर्णन गर्दै सो अवधिमा आफूले नियन्त्रणकक्षबाट निरन्तर आइराख्ने निर्देशनहरूबाट विश्राम पाएको बताए।

पृथ्वीमा तनाव

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नासाको आर्टिमिस २ का अन्तरिक्षयात्रीहरू जेरमी ह्यान्सन, राइड वाइज्मन, क्रिस्टिन कोख र भिक्टर ग्लोभले २ एप्रिलमा अन्तरिक्षबाटै सञ्चारकर्मीहरूका प्रश्नको उत्तर दिएका थिए

सम्पर्कविच्छेद हुँदा पृथ्वीमा अन्तरिक्षयानसँग सञ्चार गर्ने उत्तरदायित्व पाएको टोली भने तनावमा पर्ने छ।

दक्षिणपश्चिम इङ्ल्यान्डमा कोर्न्वलस्थित गून्हिली अर्थ स्टेशनमा जडित एउटा विशाल एन्टेनाले ओराइअन क्याप्स्यूलबाट प्राप्त सङ्केतहरू सङ्केत गर्दै उक्त यान पूरा यात्राभरि कुन ठाउँमा छ भन्ने पत्ता लगाउँदै आएको छ। उक्त एन्टेनाले उक्त सूचना नासाको मुख्यालयलाई पठाउँछ।

"हामी मानिस सवार अन्तरिक्षयान पहिलो पटक ट्र्याक गर्दै छौँ," उक्त स्टेशनका प्रमुख प्राविधिक अधिकारी म्याट कोज्बीले बीबीसीसँग भने।

"यान चन्द्रमाको पछाडिपट्टिको भागमा पुग्दा हामी अलिअलि चिन्तित हुन्छौँ। त्यसलाई फेरि देख्दा हामी निकै उत्साहित हुन्छौँ। किनभने हामीले उनीहरू सबै सुरक्षित भएको थाहा पाउँछौँ।"

भविष्यमा के होला

तर सञ्चारविच्छेद हुने यस्तो अवस्था हटाउन सकिने ठानिएको छ।

कोज्बीका अनुसार नासा र अन्तरिक्ष अन्वेषण गर्ने अन्य निकायहरूले चन्द्रमालाई शिविर बनाएर थप अन्वेषण गर्न थालेपछि त्यस्तो अवस्था हुनु पनि पर्छ।

"चन्द्रमामा दीर्घकालीन उपस्थितिका लागि पूर्ण सञ्चार आवश्यक हुन्छ - दिनमा चौबिसै घण्टा, पछाडिको भागमा पनि किनभने उक्त भागमा पनि अन्वेषण गर्नुपर्छ," उनले भने।

युरोपेली अन्तरिक्ष निकाय ईएसएका 'मूनलाइट' जस्ता कार्यक्रमहरूले भविष्यमा चन्द्रमावरिपरि अनवरत र विश्वसनीय सञ्चार कभरेज उपलब्ध होओस् भन्ने उद्देश्यसहित भूउपग्रहहरू प्रक्षेपण गरेर एउटा सञ्जाल बनाउने योजना बनाएका छन्।

अहिले भने आर्टिमिस अन्तरिक्षयात्रीहरूले पृथ्वीसँग सञ्चारविच्छेद भएको अवधिमा आफ्नो पूरा ध्यान चन्द्रमामा केन्द्रित गर्ने छन्।

त्यस बेला उनीहरूले तस्बिर खिच्ने, चन्द्रमाको बनोट अध्ययन गर्ने र त्यसको सौन्दर्यको रसास्वादन गर्ने छन्।

चन्द्रमाको छायाबाट निस्किएपछि र पृथ्वीसँग पुनः सम्पर्क स्थापित भएपछि पूरा विश्वले राहतको सास फेर्ने छ।

अनि अभूतपूर्व इतिहास बनाएका अन्तरिक्षयात्रीहरूले आफूले देखेका र अनुभूत गरेका कुराहरू पृथ्वीमा सबैले थाहा पाउने गरी पठाउन वा बताउन पाउने छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।