नेपालविरुद्ध यूएई: उही प्रतिद्वन्द्वी, उस्तै लक्ष्य 

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

ठिक ४६ दिनपछि उस्तै कथा दोहोरिँदैछ।

सोमवार नेपाल र यूएई फेरी एउटा अत्यन्त महत्त्वपूर्ण प्रतियोगितामा आमने-सामने हुँदैछन्।

कीर्तिपुर क्रिकेट मैदानमा डेढ महिना अगाडि सम्पन्न विश्वकप लीग-२ अन्तर्गतको नाटकीय अन्तिम खेलको सम्झना नेपाली समर्थकहरू माझ ताजै छ।

र यति छिट्टै दुवै टोलीबिच उही मैदानमा फेरी भेट हुँदा थुप्रै विषयहरू उस्तै उस्तै देखिनेछन्।

फरक यति मात्र हो की त्यो बेला नेपाल-यूएई विश्वकप लीग-२ को फाइनलसरह मानिएको अन्तिम खेलमा भिडेका थिए।

अब ती टोली एसीसी प्रिमिअर कपको फाइनलमा उपाधिका लागि भिड्नेछन्।

लीग-२ को सो खेल जित्ने टोली विश्वकप २०२३ को ग्लोबल क्वालिफायरमा छनोट भयो भने सोमवारको विजेता एसिया कपको लागि छनोट हुनेछ जहाँ विजेतालाई भारत र पाकिस्तानसँग खेल्ने सुनौलो अवसर प्राप्त हुनेछ।

अर्को गजबको समानता प्रतिकूल मौसम हो।

जसरी लीग-२ को खेलमा खेलाडीको प्रदर्शनका अलावा वर्षाको कारण खेलमा डक वर्थ लुइस (डीएल) प्रणाली को लागि 'नाटक' भएको थियो, त्यस्तो नाटकीय घटना सोमवारको खेलमा पनि नदोहोरिएला भन्न सकिन्न।

किनकि सोमवारको मौसमी पूर्वानुमानमा वर्षा हुने देखिन्छ।

यति धेरै समानताका माझ एसोसियट क्रिकेट राष्ट्रका पछिल्ला कट्टर प्रतिद्वन्द्वीबिच रोमाञ्चक फाइनल हुने अपेक्षा गरिएको छ।

कट्टर प्रतिद्वन्द्वी

नेपाल र यूएई कट्टर क्रिकेट प्रतिद्वन्द्वीका रूपमा देखिँदै आएका छन्।

पछिल्लो २ महिना बिचमा मात्रै यी दुई राष्ट्र ४ पटक त आमने सामने भइसकेका छन्।

जसमा यूएईमा खेलेको एउटा खेल नेपालले हारेको थियो भने बाँकी ३ खेलमा नेपालले जितेको थियो।

यूएईसँगको सो खेलमा पराजित भएयता नेपालले आजसम्म अरु कुनै खेल हारेको छैन। 

लीग-२ को पछिल्लो नेपालले १२ मध्ये ११ खेल जित्दा  पराजित भएको एक  खेलमा यूएई विरुद्ध थियो।

सोमवारको फाइनलका लागि दुवै राष्ट्रसँग स्पष्ट योजना हुनेछ।

हारविहीन यात्रामा निस्किरहेको नेपाल पछिल्लो समय 'हार्न जानेकै छैन' जसरी आत्मविश्वाससहितको राम्रो लयमा देखिएको छ। 

यद्यपि प्रतिद्वन्द्वीको शक्ति राम्ररी बुझेको नेपालले यूएईलाई कमजोर आँकेको छैन।  

नेपाली कप्तान रोहित पौडेल भन्छन्, " जसले बढी दबाब थेग्न सक्छ, उसैले जित्ने हो। त्यसैले बिना दवाव खेल्नु हाम्रो पहिलो सिद्धान्त हुनेछ।"

यूएईले पनि लीग-२ को सो हारलाई बिर्सन सकेको छैन। सोमवार यूएईको लागि उस्तै वातावरणमा नेपालसँग साटो फेर्ने मौका हुनेछ।

नेपालसँग लीग-२ हार्दा यूएईलाई ठूलो क्षति भने भएन।

ग्लोबल क्वालिफायर पुग्ने अर्को बाटोको रूपमा 'प्ले अफ' प्रतियोगिता रहेकोले यूएई त्यसको शीर्ष दुई भित्र रहेर नेपालसँगै ग्लोबल क्वालिफायरमा पुगिसकेको छ।

बरु सो प्रतियोगिता यूएईको लागि नियमित खेल्न पाउने एउटा अभ्यासको रूपमा रह्यो। 

जहाँ टोलीले अमेरिकासँगको एउटा खेलमा हार बेहोर्नु बाहेक क्यानडा, जर्सी, नामिबिया र पपुवा न्यूगिनीलाई पराजित गर्न सफल भयो।  

नेपालले भने लीग-२ पछि खेलेको प्रतियोगिता एसीसी कप नै हो। 

नेपाल र यूएई: दुवैका छन् बलियो पक्ष

यूएई एसोसियट राष्ट्रको एउटा बलियो टोली हो जसमा उसका प्रतिभाशाली ब्याटरहरू छन्। 

कप्तान मोहम्मद वासिम, विकेटकिपर ब्याटर भ्रित्या अरविन्द, आसिफ खान र आर्यन लाक्राले पछिल्ला खेलहरूमा आफ्नो स्तरीय ब्याटिङ क्षमतालाई देखाइरहेका छन्।

आसिफले नेपालविरुद्ध कम बल खर्चेर कीर्तिपुर मैदानमै शतक प्रहार गरेका हुन्।

नेपाली माटो चिन्ने भनिएका अलराउण्डर रोहन मुस्तफा कुनै पनि बेला खेललाई बदल्ने क्षमता राख्छन्।

बलरहरू जुनैद सिद्धिकी, आयान अफजल खान र कार्थिक मैयाप्पनको बलिङमा यूएई निर्भर छ।

नेपाली कप्तान पौडेलले नजर यूएईका ब्याटरहरूलाई रोक्ने रहेको बताएका छन्। 

उनले भनेका छन्, "वासिमलाई रोक्न सक्दा धेरै कुरा सजिलो हुनेछ।"

नेपाल समेत  अहिले एसोसियटको शक्ति राष्ट्र मध्येमा गनिन्छ। नेपाली टोलीमा देखिएको पछिल्लो विशेषता भनेको 'टिम वर्क' हो खेलाडीहरूले आफ्नो क्षमतालाई बुझेर खेलिरहेका छन्।

कुनै एक खेलाडीमा निर्भर नरही पूर्ण टोलीको रूपमा खेल्दा नेपालले अप्ठेरो खेलहरू पनि जित्दै आएको देखिएको छ।

यद्यपि कतारले लीग चरणमा नेपालको राम्रो परीक्षा लियो। 

ब्याटिङमा फुकेर खेलिरहेका खेलाडीहरुलाई कतारले १३७ रनमा 'प्याक अप' गरिदिएपछि टोली एकदमै सतर्क हुन पुगेको छ।

धन्न त्यसबेला बलरहरूले ब्याटरहरुको कमजोरीलाई पूर्ति गर्दै स्तरीय बलिङमार्फत् जित निकाल्न सघाए। 

नेपाली टोलीमा लामो समयदेखि जम्न नसकेका कुशल भुर्तेल र आसिफ शेखको प्रारम्भिक जोडी कुवेतविरुद्धको खेलमा लयमा आएको देखिएको छ।

निकै भरपर्दो मानिएका दीपेन्द्र सिंह ऐरीको ब्याट राम्ररी चलिरहेको देखिँदैन। 

तर कप्तान पौडेल, कुशल मल्ल र भीम सार्की हुँदै भरपर्दा आरिफ शेखसम्म नेपालसँग ब्याटिङको दरिलो 'लाइन अप' छ।

सोमपाल कामी र करण केसीले आफ्नो अलराउण्ड फर्मलाई मज्जाले कायम राखेका छन्।

ललित नारायण राजवंशी र सन्दीप लामिछानेले समेत ब्याटिङमा समेत पछिल्लो समयमा निर्णायक भूमिका प्रस्तुत गरे।

यी सबै वास्तविकताका माझ नेपाली टोली फाइनल जित्न योग्य टोली हो भन्ने विश्वास खेलाडीहरूमा पाइन्छ।

सदाझैं नेपाललाई घरेलु दर्शक र परिचित मैदानको बलियो साथ हुनेछ जुन नेपालको लागि ठूलो शक्ति हो भने युएईका लागि सकसपूर्ण अवस्था।

नेपालको लागि यूएई भन्दा ठूलो खतरा मौसमको प्रतिकुलता हुन सक्नेछ। त्यस्तो अवस्थामा पनि कसरी खेल्ने भनेर घरेलु टोलीले लीग-२ को अन्तिम खेलमा देखाइसकेको छ।