तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हिमपोखरी फुटेर सोलुखुम्बुमा अकस्मात् बाढी आएको 'अनुमान', एक अर्ब रुपैयाँभन्दा बढीको क्षति
- Author, गनी अन्सारी
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ३ मिनेट
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे भन्ने ठाउँमा अचानक आएको बाढीले दर्जनौँ घरमा क्षति पुर्याएको स्थानीय अधिकारीहरूले बताएका छन्।
गाउँपालिकाको वडा नं ५ मा पर्ने थामेमा बाढीले एउटा विद्यालयको छात्रावास, एउटा क्लिनिक, पाँचवटा होटल र सातवटा घरसहित १५ वटा भवन पूर्ण रूपमा बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत्प्रसाद भुसालले बीबीसीलाई बताए।
उनका अनुसार बाढीका कारण मानवीय क्षति भएकोबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।
यद्यपि थामे आधारभूत विद्यालय भवनभित्र एक व्यक्ति फसेका जानकारी आफूहरूले पाएको भुसालले बताए। भुलका अनुसार शुक्रवार साँझसम्म सात जनाको उद्धार गरिएको छ।
कसरी बाढी आयो
अधिकारीहरूका अनुसार थामेको माथिल्लो भूभागमा पर्ने टासी लाप्चा पासतर्फबाट दिउँसो अकस्मात् बाढी आएको हो।
के कारणले बाढी आएको हो भन्ने यकिन हुन नसकेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बीबीसीलाई बताइन्।
तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले हिमपोखरी फुटेर अथवा पहिरो गएर बाढी आएको हुन सक्ने आशङ्का व्यक्त गरे।
“त्यहाँ विभिन्न हिमपोखरी छन्। हिउँ जमेको अवस्था छ। सीमावर्ती तिब्बती क्षेत्रमा आज ४.४ म्याग्नीट्यूडको भूकम्प गएपछि त्यसको धक्काले हिमपोखरी फुटेर फ्ल्याश फ्लड आएको हो कि भन्ने अनुमान छ,” प्रमुख भुसालले भने।
थामेमा ५५ जति घरधुरी रहेकामा दिउँसो ती सबैमा बाढी पसेको उनले जानकारी दिए।
“पर्यटनको अफसिजन भएर धेरै मानिसहरू सो क्षेत्रमा थिएनन् र दिनको समयमा बाढी आएकोले पनि मानिसहरू निस्किन पाएर भाग्यले मानवीय क्षति हुन पाएन,” भुसालले भने।
“भौतिक हिसाबले भने एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।”
हेलिकप्टर जान सकेन
अधिकारीहरूका अनुसार बाढीप्रभावित थामे क्षेत्रमा शुक्रवारा हेलिकप्टरमार्फत् जान खोजे पनि प्रयास सफल हुन सकेन।
“काठमाण्डूबाट हामीले हेलिकप्टर मगाएका थियौँ। तर प्रतिकूल मौसमका कारण हेलिप्टर आउन सकेन। अब भोलि [शनिवार] बिहानै जाने प्रयास गर्छौँ,” भुसालले भने।
बाढीपछि थामे आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीसहित ७० जना बास बस्न माथि गुम्बातर्फ गएका उनले जानकारी थिए।
शनिवारबाट आफूहरूको ध्यान राहत तथा पुनर्स्थापनामा केन्द्रित हुने अधिकारीहरूले बताएका छन्।
“प्रधानाध्यापकसँग कुरा हुँदा अब हामी राति बासका लागि गुम्बातर्फ जाँदै छौँ। यसपछि टेलिफोन सम्पर्क नहुन सक्छ भनेर भन्नुभएको थियो,” प्रधानाध्यापकलाई उद्धृत गर्दै भुसालले भने।
गाउँपालिका कार्यालयदेखि पैदल हिँडेर १० घण्टा लाग्ने दूरीमा घटनास्थल रहेको बताइएको छ।
जलवायु परिवर्तनका कारण नेपालका पनि हिमतालहरू फुट्ने जोखिम बढ्दै गएको वैज्ञानिकहरूले बताउँदै आएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।