शक्तिशाली चक्रवातले बाङ्ग्लादेश र म्यान्मारमा लाखौँ मानिस प्रभावित

चक्रवात

प्रतिघण्टा दुई सय किलोमिटरभन्दा बढी वेग भएको मोका नामक शक्तिशाली चक्रवातले आइतवार दिउँसोबाट बाङ्ग्लादेश र उत्तरी म्यान्मारको तटीय क्षेत्रमा प्रभाव पारेको छ।

भारी वर्षा र प्रतिघण्टा १९५ किलोमिटर सम्मको आँधी निम्त्याएको उक्त चक्रवातले बङ्गालको खाडी आसपासका जमिनमा खतरनाक बाढी निम्तने ठानिएको छ।

आइतवार साँझबाट चक्रवातको प्रभाव कम हुँदै जाने भए पनि निरन्तरको वर्षा थप दुईदेखि तिन दिनसम्म चल्न सक्ने बाङ्लादेशको जलवायु निकायलाई उद्धृत गर्दै बीबीसी बाङ्लाले जनाएको छ।

चार मिटरसम्मका अग्ला आँधी समुद्र सतहभन्दा कम उचाइमा रहेका गाउँहरूलाई डुबाउन सक्ने चिन्ता व्यक्त भइरहेका छन्।

बाङ्ग्लादेशको कोक्स बजारमा कम्तीमा दुई लाख मानिस सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका छन्।जहाँ झन्डै १० हजार घर ध्वस्त भएका प्रारम्भिक विवरण छन्।

कोक्स बजार नजिकैको सेन्ट मार्टिन टापुमा १,२०० घर ध्वस्त भएको अधिकारीहरूले बीबीसी बाङ्लालाई बताएका छन्।

पहिरोको चेतावनी

मौसमसम्बन्धी अधिकारीहरूले भीषण वर्षाले पहिरो निम्त्याउने चेतावनी दिएका छन्।

कोक्स बजारमा रहेको झण्डै १० लाख रोहिन्ज्या बस्ने विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा शरणार्थीहरूको सुरक्षालाई लिएर चिन्ताहरू व्यक्त भएका छन्।

म्यान्मारमा कम्तीमा पाँच जनाको ज्यान गएको विवरणमा जनाइएको छ भने बाङ्ग्लादेशमा हताहती भएको कुनै खबर आएको छैन।

म्यान्मारको सित्वे शहरमा दिउँसो एक बजेबाट आँधीको प्रभाव देखिन थालेपछि विद्युत् तथा इन्टरनेट अवरुद्ध हुन पुगेको थियो।

त्यहाँ रूखहरू ढल्नुका साथै एउटा टेलिफोन टावर क्षतिग्रस्त भएको छ।

सित्वे समेत पर्ने म्यान्मारको रखाइन राज्य सबैभन्दा चक्रवातबाट सबैभन्दा धेरै प्रभावित बनेको छ।

लाखौँ मानिसहरूलाई चक्रवातअघि सुरक्षित ठाउँमा सारिएको थियो

तस्बिर स्रोत, Reuters

कति खतरनाक?

खतराको सङ्केत दिने रातो झन्डा
तस्बिरको क्याप्शन, खतराको सङ्केत दिने रातो झन्डा

एकदमै खतरनाक हुनसक्ने ठानिएको उक्त चक्रवातअघि दक्षिणपूर्वी बाङ्ग्लादेशमा झन्डै ५ लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।

यसअघि सो चक्रवात १७० किलोमिटर प्रतिघण्टाको वेगले मध्यदिनमा जमिनमा बज्रिने र हावाहुरी र आँधीले १२ फिटसम्म उचाइ लिनसक्ने भनिएको थियो।

कोक्स बजारमा रहेको शरणार्थी शिविरमा चेतावनी स्वरूप रातो झन्डा उठाइएको छ।

कतिपय पूर्वानुमानमा यस चक्रवात झन्डै दुई दशककै सबैभन्दा शक्तिशाली हुनसक्ने जनाइएको छ।

redline
redline

नेपालमा के प्रभाव

नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उक्त शक्तिशाली चक्रवात उत्तरपूर्वी दिशातर्फ उन्मुख हुँदै बाङ्ग्लादेश तथा म्यान्मारको तटीय क्षेत्रतर्फ प्रवेश गरिरहेकाले नेपालमा उल्लेखनीय प्रभाव नदेखिने जनाएको छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त, 1

तर आगामी २४ घण्टामा देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ।

विभागकी सूचना अधिकारी विभूति पोखरेलले बीबीसीसँग भनिन्, “यो शक्तिशाली चक्रवातको नेपालमा खासै प्रभाव देखिँदैन। पश्चिमी वायु बलियो भएर त्यसले धकेलेको कारण यो म्यानमारतर्फ गइरहेको छ। तर स्थानीय एवं पश्चिमी वायुको कारण हाम्रोमा पनि आंशिक वा सामान्य बदली भने हुनसक्छ।”

पूर्व तयारी

मानिसहरू सुरक्षित स्थानमा बसिरहेका छन्
तस्बिरको क्याप्शन, मानिसहरूले विद्यालय भवनभित्र आश्रय लिइरहेका छन्

मोका चक्रवात बांङ्ग्लादेशले एक दशकभन्दा बढि समययता सामना गरेको सर्वाधिक शक्तिशाली आँधी बन्नसक्ने ठानिएको छ।

मौसम प्रणाली बाङ्ग्लादेश-म्यानमार तटतर्फ अघि बढ्दै जाँदा नजिकैका विमानस्थलहरू बन्द गरिएका थिए।

माझीहरूलाई माछा मार्ने काम रोक्न निर्देशन दिइएको थियो भने असुरक्षित स्थानमा रहेका मानिसहरूका लागि १,५०० अस्थायी आवास व्यवस्था गरिएको थियो।

“हामी विपद् सामना गर्न तयार छौँ… हामी एउटा पनि जीवन गुमाउन चाहँदैनौँ,” कोक्स बजारका अतिरिक्त डेप्यूटी कमिशनर विभुशन कान्ति दासले बीबीसीसँग भने।

redline
redline

सयौँको सङ्ख्यामा परिवारहरू तोकिएका सुरक्षित आवास क्षेत्रमा आएका छन्।

कैयौँ कोक्स बजारका कक्षा कोठाहरूमा बसिरहेका छन्।

केहीले प्लास्टिक झोलाहरूमा आफ्ना सामानहरू पनि ल्याएका छन् भने कतिपयले पशु चौपाया र कुखुरासमेत लिएर आएका छन्।

बाङ्ग्लादेश र म्यानमार सीमातर्फ आइरहेको मोका चक्रवात

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, बाङ्ग्लादेश र म्यानमार सीमातर्फ आइरहेको मोका चक्रवात

कक्षा कोठामा आफ्नी दुई महिनाको सन्तानसँग बसिरहेकी १७ वर्षकी जन्नतले अघिल्लो वर्षको चक्रवातले आफ्नो घरमा क्षति पुर्‍याएको भन्दै अहिले पनि आफू चिन्तामा रहेको सुनाइन्।

उनले केही लुगाहरू झोलामा हालेर ल्याएकी छन् भने उनका श्रीमान् उनलाई साथ दिन आउनुअघि तटीय क्षेत्रमा रहको घरमा रहेका सामानहरूलाई सुरक्षित पार्न लागिपरेका छन्।

जन्नतले भनिन्, “अब के हुन्छ भन्नेमा म चिन्तित छु। मेरो घर फेरि डुब्छ कि भन्ने चिन्ता लागिरहेको छ।”

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त, 2

शरणार्थी शिविरमा विशेष चिन्ता

बाँस र त्रिपालले बनेका अस्थायी शिविरहरूमा बसिरहेका म्यानमारबाट आएका रोहिन्ज्या शरणार्थीहरू पनि चक्रवातका कारण जोखिममा छन्। राष्ट्रसङ्घले आफूले सकेसम्म उक्त क्षेत्रलाई सुरक्षित बनाउन काम गरिरहेको जनाएको छ।

बाङ्ग्लादेश सरकारले शरणार्थीहरूलाई शिविरबाट बाहिर जान दिँदैन। त्यही भएर धेरैजना आफ्नो छाप्राहरूमा आँधीको प्रभाव देखियो भने के गर्ने भन्ने विषयलाई लिएर अत्तालिएका छन्।

त्यस्तो अस्थायी शिविरमा बस्नेमा ४० वर्षका मोहम्मद रफिक र उनको परिवार पनि हो। ठूलो झरी र आँधीबेहरीलाई उनको छाप्रोले थेग्न सक्दैन।

उनले भने, “हामीले गर्न सक्ने भनेको प्रार्थना मात्रै हो। हामीलाई सुरक्षित हुनका लागि जाने ठाउँ पनि छैन र सहयोगका लागि मुख ताक्ने ठाउँ पनि छैन।”

रफिक र उनको परिवारले प्रार्थनाबाहेक केही गर्न नसक्ने बताएका छन्
तस्बिरको क्याप्शन, रफिक र उनको परिवारले प्रार्थनाबाहेक केही गर्न नसक्ने बताएका छन्

चक्रवातले भीषण वर्षा पनि निम्त्याउने ठानिएको छ।

त्यसबाट पहाडको छेउमा बनाइएका शिविरका मानिसहरूलाई पहिरोको गम्भीर जोखिम हुनसक्ने आकलन गरिएको छ।

तर शरणार्थी र शिविर हेर्ने बाङ्ग्लादेशी सरकारको कार्यालयका मोहमद समसुल डोउजाले शिविरहरू चक्रवातसँग जुध्न तयार हुन भन्नका लागि आफूहरूले गैरसरकारी संस्थाहरूसँग काम गरिरहेको बताए।

उनले शरणार्थीहरूलाई शिविरबाट अन्यत्र लैजानु सहज काम नभएको बताए।

आँधी आउने दरमा जलवायु परिवर्तनले कतिको प्रभाव पारेको छ भन्ने प्रस्ट छैन।

तर हामीलाई के थाहा छ भने समुद्रको सतहको बढ्दो तापक्रमले माथिको हावालाई तातो बताउँछ र त्यसले आँधीबेहरी र चक्रवातलाई तेज बनाउन थप शक्ति प्रदान गर्छ।

त्यसको परिणाम स्वरूप ती भीषण वर्षासहित अझ शक्तिशाली हुने ठानिएको छ।

औद्योगिक युग सुरु भए यता विश्व १.१ सेल्सियसले तातो भइसकेको छ र संसारभरका सरकारहरूले उत्सर्जन कटौती नगरेसम्म तापक्रम बढिरहनेछ।