तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पश्चिम बङ्गालमा महिलालाई निर्वस्त्र बनाएर दुर्व्यवहार गरिएको भिडिओ भाइरल
मणिपुरमा दुई महिलामाथि यौन हिंसा भएको भाइरल भिडियोपछि उत्पन्न आक्रोश शान्त नहुँदै अहिले पश्चिम बङ्गालमा उस्तै प्रकृतिको घटना भएको एउटा भिडियो सार्वजनिक भएको छ।
नेपालको पूर्वी सीमासँग जोडिएको यो राज्यस्थित मालदामा भीडले दुई महिलालाई कुटपिट गर्नुका साथै उनीहरूको लुगा च्यातिदिएको भिडिओमा देखिन्छ।
यो घटना मालदाको बामनगोला पुलिस स्टेसन नजिकै पाकुआ हाट क्षेत्रमा भएको हो।
यो घटनामा पीडित दुवै आदिवासी महिला भएको विवरण आएका छन्। सत्तारुढ भारतीय जनता पार्टीका नेता अमित मालवीयले यो भिडियो सामाजिक सञ्जालमा शेअर गरेका छन्।
पीडितहरूलाई भीडबाट कुटपिट हुँदा र उनीहरूको लुगा फुकालिदिँदा प्रहरी मूकदर्शक बनेर बसेको उनको आरोप छ।
पश्चिम बङ्गालमा भएको के हो?
चेतावनीः यो सामग्रीमा वर्णित केही घटनाले कसैकसैलाई विचलित पनि बनाउन सक्छ
स्थानीयवासी बाट प्राप्त जानकारीका अनुसार पीडित दुवै जना मङ्गलवार सो क्षेत्रमा रहेको साप्ताहिक हाट गएका थिए। बजारका अन्य महिलाले उनीहरूमाथि चोरीको आरोप लगाएर झगडा गरेका थिए।
उनीहरूलाई चोरीको आरोप लगाएको देखेर बजारमा उपस्थित अन्य महिलाहरू पनि ती महिलामाथि खनिए र दुबैलाई चप्पलले कुटपिट गर्न थाले।
आक्रोशित भीडले दुवैको लुगा च्यातेर नग्न बनाएको स्थानीयले बताएका छन्।
घटनास्थलमा प्रहरी उपस्थित भए पनि मूकदर्शक बनेको पीडितहरूको आरोप छ। उनीहरूले महिलाहरूलाई भीडको आक्रमण र दुर्व्यवहारबाट बचाउने प्रयास नगरेको बताइएको छ।
दुवै जना पीडित महिला मानिकचक क्षेत्रका बासिन्दा रहेको बीबीसीका प्रभाकर मणि तिवारीले जनाएका छन्।
उक्त राज्यका भाजपाका अध्यक्ष सुकान्त मजुमदारले पनि ट्विटर मार्फत घटनाको भिडिओ शेअर गर्दै राज्य सरकार र विपक्षी गठबन्धनको आलोचना गरेका छन्। यो राज्यमा त्रिणमूल कंग्रेस नेतृत्वको सरकार छ।
उनले लेखेका छन् “बङ्गालमा आदिवासी महिलाहरूसँगको अर्को डरलाग्दो घटना । मालदामा दुई आदिवासी महिलालाई नग्न पारेर निर्ममतापूर्वक कुटपिट गरियो तर दिदी चुपचाप छिन्। भारत किन निन्दा गर्दैन?” उनले राज्यका मुख्यमन्त्री ममता बेनर्जीप्रति सङ्केत गरेका छन्।
अर्कोतर्फ, पश्चिम बङ्गालका महिला र बाल कल्याण मन्त्री र त्रिणमूल कंग्रेस नेतृ शशी पन्जाले मालदा घटनालाई राजनीतिकरण गरेकोमा भाजपाको आलोचना गरेकी छिन्।
"मालदा घटनालाई राजनीतिकरण गर्न आवश्यक छैन। यो चोरीको घटना हो। दुई महिलाले बजारबाट केही सामान चोर्न खोजेका थिए। महिलाहरूको एउटा समूहले कानुनलाई हातमा लिएर कुटपिट गर्न थाले। प्रहरीले घटनाको सम्बन्धमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ," पञ्जाले भनिन्।
मणिपुर घटनामा पाँच जना पक्राउ
यसैबीच, मणिपुरमा महिलालाई नग्न बनाएर सडकमा हिँडाएको घटनासँग जोडिएका पाँचौँ आरोपित पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवक १९ वर्षका छन्। यसअघि चार जना अभियुक्त पक्राउ परेपछि उनीहरूलाई ११ दिनका लागि प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
शुक्रवार घटनाका मुख्य अभियुक्तको घरमा आक्रोशित महिलाहरूको एउटा समूहले आगजनी गरेको थियो।
मणिपुर घटनाको भिडिओ १९ जुलाईमा भाइरल भएको थियो, जसमा केही व्यक्तिहरूले दुई महिलालाई नग्न बनाएर सडकमा हिँडाएको देखिन्छ।
प्रहरीका अनुसार ती आरोपित व्यक्तिले बी फाइनोम गाउँ नजिक भीडलाई निर्देशन दिइरहेको भिडिओमा देखिन्छ।
भिडिओमा देखिएकी एक जना महिलाका पति भारतीय सेनामा छन्। आसाम रेजिमेन्टमा सुबेदार रहेका ती सैनिकले कारगिल युद्धमा पनि भाग लिएका थिए।
मे ४ को उक्त घटनाबारे काङ्गपोकपी जिल्लाको सैकुल प्रहरी चौकीमा उजुरी परेको थियो।
मणिपुरमा के भएको थियो?
मणिपुरमा कुकी समुदायका ती आमा र छोरीलाई मानिसहरूको भिडले निर्वस्त्र हिँडाएको भिडिओ बुधवार सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
उक्त भिडिओमा ती दुई महिलालाई भिडले समातेर घिसार्दै खेतमा धकेलेको देखिन्छ।
भिडिओमा देखिएकी एक महिलाको उमेर झन्डै २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष जति रहेको बताइएको छ।
आदिवासी जनजातिहरूको संस्था आईटीएलएफले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार काङ्गपोकपी जिल्लामा कुकी-जो आदिवासी समुदायका महिलाहरूलाई त्यसरी यातना दिइएको थियो।
उक्त संस्थाले उनीहरूमाथि सामूहिक बलात्कार समेत भएको दाबी गरेको छ।
विगत साढे दुई महिनादेखि मणिपुरमा मैतेई र कुकी समुदायबीच हिंसात्मक द्वन्द्वका घटनामा १३० जनाको ज्यान गएको छ भने ६०,००० जना विस्थापित भएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाले “भारतलाई लज्जित बनाएको” भन्दै घटनाका “दोषीलाई उम्किन नदिने” बताएका छन्।
विपक्षीहरूले लामो समयदेखि प्रधानमन्त्री मोदीले मणिपुरमा जारी हिंसाबारे नबोलेको भन्दै उनीमाथि प्रश्न उठाउँदै आएका थिए।
भारतको सर्वोच्च अदालतले मणिपुरको घटनाले आफूलाई विचलित तुल्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो।