डोनल्ड ट्रम्पको जितमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले देखेको युद्ध 'छिटो अन्त्य हुने' सङ्केत

    • Author, जोर्ज राइड र अलेक्स फिलिप्स
    • Role, बीबीसी न्यूज
  • पढ्ने समय: ४ मिनेट

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्प विजयी भएसँगै अब रुससँगको युद्ध अन्यथा अवस्थामा भन्दा "छिटो अन्त्य" हुने कुरामा आफू ढुक्क रहेको बताएका छन्।

अमेरिकी चुनावमा ट्रम्पको विजयपछि आफूहरूबीच फोनमा कुराकानी हुँदा "रचनात्मक संवाद" भएको उनको दाबी छ।

रुससँगको वार्ताका लागि ट्रम्पले कुनै माग राखेनराखेकोबारे केही नबताए पनि ट्रम्पले युद्धबारे युक्रेनको अडानभन्दा विपरीत हुने गरी कुनै कुरा गरेको आफूले नसुनेको जेलेन्स्कीले बताए।

रुस-युक्रेन युद्धमा अमेरिकी भूमिका

ट्रम्पले युद्धको अन्त्य आफ्नो प्राथमिकतामा रहेको बारम्बार बताएका छन्। सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि सुरु गरेको पूर्णस्तरीय आक्रमणपछि सुरु भएको युद्धमा किएभलाई सैन्य सहायताका रूपमा दिइएको अमेरिकी स्रोतसाधन नाश भएको उनको भनाइ छ।

केही महिनाअघि अमेरिकाको संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टटिभ्सले युक्रेनलाई ६१ अर्ब अमेरिकी डलरबराबरको सैन्य सहायता प्याकेज दिन स्वीकृति दिएको थियो।

अमेरिका युक्रेनलाई सबैभन्दा धेरै हातहतियार उपलब्ध गराउने देश पनि हो। युद्ध सुरु भएदेखि सन् २०२४ को जुनसम्ममा युक्रेनलाई उसले ५५.५ अर्ब अमेरिकी डलरबराबरको हातहतियार तथा उपरकण उपलब्ध गराएको जर्मन अनुसन्धान संस्था कील इन्स्टिच्यूट अफ वर्ल्ड ईकनमिक्सले जनाएको छ।

तर युद्ध सुरु भएदेखि नै अमेरिकामा नागरिकस्तरमा भने युक्रेनलाई हतियार सहयोग गर्ने नीतिप्रतिको समर्थन भने घट्दै भएजस्तो देखिन्छ। ट्रम्पतर्फ आकर्षित भएका रिपब्लिकन मतदाताहरूमाझ अझ बढी असन्तुष्टि छ।

'एक दिनमै युद्ध अन्त्य' गर्ने वाचा

आफ्ना चुनावी अभियानहरूमा रिपब्लिकन उम्मेदवार ट्रम्पले "एक दिनमै" युद्ध अन्त्य गरिदिने कुरा बारम्बार दोहोर्‍याएका थिए। तर युद्ध अन्त्य गर्ने उनको रणनीति के हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन।

यद्यपि त्यसैप्रति आशावादी हुँदै जेलेन्स्कीले एक युक्रेनी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा भनेका छन्, "अब ह्वाइट हाउसको नेतृत्व गर्ने टोलीको नीतिले छिटो युद्ध अन्त्य गर्ने कुरा निश्चित छ। यो उनीहरूको दृष्टिकोण र उनीहरूले आफ्ना नागरिकप्रति गरेको वाचा हो।"

"यस युद्धलाई आगामी वर्ष कूटनीतिक माध्यमबाट अन्त्य गर्नका लागि" युक्रेनले पनि "सबै थोक" गर्ने उनले बताए।

युक्रेनभित्र र बाहिर पनि युद्धबाट मानिसहरू थकित भइसकेको भनाइकाबीच जेलेन्कीले समस्याको "कूटनीतिक समाधान"मा जोड दिएका हुन्।

ट्रम्प-जेलेन्स्की सम्बन्ध

यद्यपि युद्धको कूटनीतिक समाधान कस्तो हुन्छ भन्ने कुरा स्पष्ट छैन। जेलेन्स्कीले रुसले सन् २०१४ देखि कब्जा गरेको क्राइमियालगायत कुनै पनि युक्रेनी क्षेत्र नछाड्ने बताएका छन्।

विगतमा ट्रम्प र जेलेन्स्कीको सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको छ। तर ट्रम्पले पनि जेलेन्स्कीसँग आफ्नो "एकदमै राम्रो सम्बन्ध" रहेको बताउने गरेका छन्।

गत सेप्टेम्बर महिनामा न्यूयोर्कमा जेलेन्स्कीलाई भेट्दा ट्रम्पले आफूले उक्त भेटघाटमा धेरै कुरा थाहा पाएको र अब आफूले युद्धको एकदमै छिटो समाधान गर्ने बताएका थिए।

तर ट्रम्पका डेमोक्र्याट आलोचकहरूले भने उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिक हुन खोजेको आरोप लगाउँदै आएका छन्। उनीहरूका अनुसार ट्रम्प युक्रेनलाई आत्मसमर्पण गराएर युद्ध अन्त्य गराउन चाहन्छन् तर त्यसले सिङ्गो युरोपलाई खतरामा पार्ने छ।

युद्धको पछिल्लो अवस्था

सन् २०२३ मा युक्रेनले रुसकाविरुद्ध गरेको दीर्घप्रतीक्षित प्रत्याक्रमण आफ्नो योजनामा विफल भएदेखि युद्धको अग्रमोर्चा करिब यथास्थतिमै छ।

गत ग्रीष्मयाममा युक्रेनले रुसको कुर्स्क क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो। यो दोस्रो विश्वयुद्धपछि रुसी भूभागलाई कुनै विदेशी सेनाले कब्जा गरेको पहिलो पटक थियो।

उक्त आक्रमणको उद्देश्य रुसी फौजको ध्यान युक्रेनको अग्रमोर्चाबाट अन्यत्र लैजानु रहेको जेलेन्स्कीले बताएका छन्। तर उनी आफ्नो उद्देश्यमा कति सफल भए भन्ने स्पष्ट छैन।

यद्यपि विश्लेषकहरूका अनुसार युक्रेनको नियन्त्रणमा रहेको कुर्स्क क्षेत्र सम्भाव्य शान्ति वार्तामा मोलमोलाइको साधन बन्न सक्छ।

आफ्नो फौजलाई सशक्त बनाउन रुस हजारौँ विदेशी युवालाई आकर्षित गर्न सक्षम भएको छ भने तुलनात्मक रूपमा सानो युक्रेनी सेना पश्चिमा देशहरूले सहयोगस्वरूप पठाएका हतियारमा निर्भर छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।