सन् २०२२ लाई फर्केर हेर्दा: यो वर्ष पहिलो पटक भएका ९ रोचक घटना

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, केही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छ

सन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्!

"गुणनमा कीर्तिमान" देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो ध्यान खिचेका केही कोसढुङ्गाहरू यस प्रकार छन्।

नासाद्वारा एउटा क्षुद्रग्रहको मार्ग परिवर्तन

अमेरिकी अन्तरिक्ष निकायले सेप्टेम्बर २८ मा एउटा क्षुद्रग्रहमा एउटा यान योजनाबद्ध रूपमा ठोक्काएर सफलतापूर्वक त्यो क्षुद्रग्रहको मार्ग परिवर्तन गराइदियो।

कुनै बेला पृथ्वीमा आएर ठोक्किने खतरा भएका चट्टान वा क्षुद्रग्रहहरूलाई सुरक्षित रूपमा अन्यत्र मोडिदिने विषयको परीक्षण गर्न त्यसो गरिएको थियो।

त्यो अभियान सफल भयो।

मानव रगतमा भेटिए प्लास्टिकका सूक्ष्म कण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शरीरमा माइक्रोप्लास्टिक अर्थात् प्लास्टिका सूक्ष्म कण प्रवेश गर्दा के हुन्छ भन्ने स्पष्ट थाहा भइसकेको छैन

गत मार्चमा 'इन्भाइरन्मन्ट इन्टर्न्याश्नल' जर्नलमा प्रकाशित एउटा शोधमा परीक्षण गरिएका ८० प्रतिशत मानिसमा माइक्रोप्लास्टिकका कण भेटिएको उल्लेख गरिएको छ।

माइक्रोप्लास्टिक भनेको प्लास्टिकका सूक्ष्म कण हो जुन लम्बाइमा ५ मिलिमिटरभन्दा कम हुन्छ। माटोमा वा समुद्रमा मिल्काइएका प्लास्टिकका ठूला वस्तु समयक्रममा क्षयीकरण भएर ससाना कणमा परिणत भएर वातावरण प्रदूषित गर्छन्।

शरीरमा तिनको असर स्पष्ट भएको छैन तर तिनले मानवकोषमा हानि पुर्‍याउन सक्ने नयाँ परिणाम चिन्ताजनक भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

अभूतपूर्व विश्वकप

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विश्वकपको खेल सञ्चालन गर्ने प्रथम महिला रेफ्रीको रूपमा फ्रान्सकी स्टेफनी फ्रापार्टले इतिहास रचिन्

सन् २०२२ को कतार फिफा पुरुष विश्वकप प्रतियोगितामा धेरै अभूतपूर्व घटनाहरू भए।

मुख्यत: कुनै अरब वा मुस्लिम देशले आयोजना गरेको यो पहिलो विश्वकप थियो।

साथै समूह चरणका खेलमध्ये जर्मनी र कोस्टारिकाको खेल विश्वकपको इतिहासमा पहिलो पटक महिला रेफ्रीद्वारा सञ्चालन भयो। फ्रान्सकी स्टेफनी फ्रापार्टको नेतृत्वमा सबै महिला अम्पायर रहेको टोलीले उक्त खेल सञ्चालन गर्‍यो।

कुनै अफ्रिकी वा अरब राष्ट्रले गरेको सबभन्दा उत्कृष्ट प्रदर्शन पनि यसै पटक भयो। मोरक्को सेमिफाइनलसम्म पुग्यो।

अनि लिओनेल मेस्सीले अन्तत: विश्वकपको उपाधि जितिछाडे - पाँच पटकको प्रयासपश्चात्!

हामी आठ अर्ब पुग्यौँ… अझै कति

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, १२ वर्षको अन्तरालमा मानव जनसङ्ख्या ७ बाट ८ अर्ब पुगेको छ

१५ नोभेम्बर २०२२। यही मितिमा विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको संयुक्त राष्ट्रसङ्घले जनायो।

"जनस्वास्थ्यको क्षेत्रमा भएका सुधार, पोषण, व्यक्तिगत सरसफाइ अनि औषधोपचारका कारण निरन्तर बढिरहेको मानिसको आयुले यो अभूतपूर्व वृद्धि सम्भव भयो। साथै केही देशमा निरन्तर उच्च प्रजनन दर कायम रहनाले पनि यसो भयो," राष्ट्रसङ्घले विज्ञप्तिमा बतायो।

विश्वको जनसङ्ख्या सात अर्बबाट आठ अर्ब पुग्न १२ वर्ष लागेको थियो भने अब अर्को एक अर्ब जनसङ्ख्या थपिन कम्तीमा १५ वर्ष लाग्नेछ। किनभने समग्रमा जन्मदर बिस्तारै घट्दो क्रममा छ।

'विश्वमै परिवर्तन ल्याउन सक्ने' औलोविरुद्धको खोप

तस्बिर स्रोत, Katie Ewer

तस्बिरको क्याप्शन, नयाँ खोपको परीक्षण बुर्किना फासोमा गरिएको थियो

सेप्टेम्बरमा अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले 'विश्वमै परिवर्तन ल्याउन सक्ने' सम्भावनायुक्त औलोविरुद्धको खोप विकास गरिएको घोषणा गरे।

अर्को वर्ष सर्वसाधारण मानिसहरूमा लगाइने अपेक्षा गरिएको उक्त खोप घातक औलो रोगविरुद्ध ८०% प्रभावकारी भएको परीक्षणहरूमा देखिएको थियो। ‌औलोका कारण प्रत्येक वर्ष चार लाख मानिसको ज्यान जाने गर्छ।

वैज्ञानिकहरूले नयाँ खोप सस्तो भएको पनि बताएका छन्।

विश्वमा बालमृत्युको सबभन्दा ठूलो कारणमध्ये औलो पनि एक हो। यो रोगको कारक परजीवी निकै जटिल प्रकृतिको हुने हुँदा त्यसका विरुद्ध खोप विकास गर्नु निकै कठिन थियो।

औलोको परजीवीले शरीरभित्र आफ्नो स्वरूप परिवर्तन गरिरहने हुनाले त्यसका विरुद्ध प्रभावकारी प्रतिरोधी क्षमता विकास गर्नु गाह्रो भएको थियो।

लडुकले रचे ओलिम्पिक अनि लैङ्गिक इतिहास

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लडुक (दायाँ) शीतकालीन ओलिम्पिक्समा भाग लिने पहिलो नन-बाइनरी समुदायका सदस्य भए

अमेरिकी फिगर स्केटर टिमथी लडुक शीतकालीन ‌ओलिम्पिक्समा भाग लिने पहिलो नन-बाइनरी अर्थात् गैर-द्विसाङ्ख्यिक लैङ्गिक पहिचान भएका खेलाडी बने। उक्त पहिचान भएका व्यक्तिले लैङ्गिक पहिचानलाई महिला वा पुरुष दुईवटामा मात्र सीमित राख्न नहुने मान्यता राख्छ।

सो खेल बेइजिङमा फेब्रुअरीमा भएको थियो।

लडुकले कुनै पदक पाएनन्। युगल खेलमा उनी सातौँ भए तर उनले विश्वभरि प्रभाव चाहिँ पारे।

हामीले निकै पछाडिको समयसम्म यात्रा गर्न सक्यौँ - जेम्स वेब टेलिस्कोपको सौजन्यमा

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, JADES-GS-z13-0 नाम दिइएको तारामण्डल हालसम्मकै सबभन्दा टाढाको पुष्टि भएको छ

सन् २०२२ मा जेम्स वेब टेलिस्कोपले निरन्तर समाचारको हेडलाइन बनाइरह्यो - जुलाईमा सञ्चालनमा आएदेखि सो टेलिस्कोपले ब्रह्माण्डका अद्भुत तस्बिरहरूले पठाइरहेको छ।

तीमध्ये एउटा तस्बिर चाहिँ सुदूर ब्रह्माण्डमा अवस्थित १३ अर्ब वर्ष पुरानो JADES-GS-z13-0 नामक तारामण्डलको थियो।

त्यो भनेको ब्रह्माण्डको उत्पत्तिको समय 'बिगब्याङ' को प्रारम्भिक काल हो।

तस्बिरमा एउटा मधुरो दागजस्तो देखिएको आकृति नै हालसम्म पुष्टि भएको सबभन्दा परको तारामण्डल हो।

ब्रिटेनको प्रधानमन्त्रीमा एशियाली मूलका नेता

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, २५ अक्टोबरमा ऋषि सुनक ब्रिटेनको प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रीटमा प्रवेश गरे

सन् २०२२ मा यूकेले प्रधानमन्त्रीसम्बन्धी विभिन्न कीर्तिमान कायम गर्‍यो।

लिज ट्रसले जम्मा ४५ दिनको सबभन्दा छोटो कार्यकाल पूरा गरेर बिदा भइन्।

उनको उत्तराधिकारीका रूपमा ऋषि सुनकले २५ अक्टोबरमा प्रधानमन्त्री पद सम्हाले। उक्त पदमा पुग्ने उनी पहिलो एशियाली मूलका अश्वेत व्यक्ति हुन्।

ब्याक्टेरियालाई बिनामाइक्रोस्कोप हेर्न सकियो

तस्बिर स्रोत, Jean-Marie Volland

तस्बिरको क्याप्शन, टी म्याग्निफिकाको आकार मानिसको परेला जत्रो छ

जुन महिनामा वैज्ञानिकहरूले संसारको सबभन्दा ठूलो आकारको ब्याक्टेरिया भेटिएको घोषणा गरे।

थायोमार्गरिटा म्याग्निफिका नामक उक्त ब्याक्टेरियालाई हेर्न माइक्रोस्कोप पनि आवश्यक हुँदैन। सो ब्याक्टेरियाको आकार मानिसको परेला जत्रो छ।

करिब १ सेन्टिमिटर लामो उक्त जीव हालसम्म पत्ता लागेको ठूलो ब्याक्टेरियाभन्दा ५० गुना ठूलो रहेको र त्यसलाई नाङ्गो आँखाले पनि देख्न सकिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, थायोमार्गरिटा म्याग्निफिकाः १८ मिलिमिटर चौडा सिक्कासँग तुलना

.