हु जिन्ताओः सी जिन्पिङसँगै बसेका पूर्वराष्ट्रपतिलाई जब चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनबाट बाहिर निकालियो

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट बाहिर निकालिएको छ।

राष्ट्रपति सी जिन्पिङसँगै बसिरहेका ७९ वर्षीय नेता निकै कमजोर देखिएका थिए। अधिकारीहरूले उनी बसेको ठाउँमा पुगेर हुलाई बाहिर निकालेको भए पनि त्यसको कारणबारे केही खुलाइएको छैन।

चिनियाँ कम्युनिस्ट पार्टीको यो अधिवेशनबाट राष्ट्रपति सी जिन्पिङलाई ऐतिहासिक तेस्रो कार्यकालका लागि निर्वाचित गर्ने ठानिएको छ।

प्रत्येक पाँच वर्षमा राजधानी बेइजिङमा हुने अधिवेशनले सीलाई माओ त्सेतुङपछिका सबैभन्दा शक्तिशाली नेताको रूपमा स्थापित गरेको छ।

सन् २००३ देखि २०१३ बीचमा चीनको राष्ट्रपति रहेका हु जिन्ताओलाई अधिकारीहरूले मञ्चबाट बाहिर लैजाँदै गर्दा उनले राष्ट्रपति सीलाई केही भनेका थिए। प्रतिक्रियामा राष्ट्रपति सीले टाउको हल्लाएर सहमति जनाएको देखिन्छ।

त्यसपछि हुलाई अधिकारीहरूले कुम समातेर डोहोर्‍याउँदै ग्रेट हल अफ द पीपलबाट बाहिर लगे।

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

उठ्न 'आनाकानी'

बीबीसीका चीन संवाददाता स्टीभन मक्डोनलका अनुसार पूर्वराष्ट्रपतिलाई हलबाट बाहिर जान भनिएको भिडिओ दृश्यले विश्वभरि ध्यानाकृष्ट भएको भए पनि चिनियाँ सरकारी पक्षले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

भिडिओमा हुले आफू बसिरहेको ठाउँबाट उठ्न आनाकानी गरेको देखिन्छ। यदि यस्तै भएको हो भने त्यो किन भन्ने प्रश्न उठेको मक्डोनल बताउँछन्।

उनले आफूलाई बाहिरिन आग्रह गरिरहेका अधिकारीलाई के भने र बाहिरिँदै गर्दा राष्ट्रपति सीलाई के भने र सँगै रहेका प्रधानमन्त्री ली कछ्याङलाई धाप मार्दै के भने भन्ने अनेकौँ अनुमान गरिएको छ।

उनी बाहिरिनुको कारणबारे विशेषतः दुई किसिमका अनुमान गरिएको छ।

चीनमा जारी शक्ति सङ्घर्षको विषय सतहमै आएको हुनसक्ने वा उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या भएको हुनसक्ने ठानिएको छ।

उनलाई स्वास्थ्य समस्या नै भएको भए किन आकस्मिक रूपमा बाहिर लगियो भन्ने प्रश्न गरिएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हु सन् २००३ देखि २०१३ सम्म चीनका राष्ट्रपति थिए

सीको तेस्रो कार्यकाल

चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनले शनिवार २०५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो।

अधिवेशनका प्रतिनिधिहरूले सीको विचारधारालाई चिनियाँ भविष्यको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्दै पार्टीको विधान संशोधन गर्न सहमति जनाएका थिए।

गत आइतवार अधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति सीले हङ्‌कङमा प्रजातन्त्र पक्षधर आन्दोलन दमन गर्ने कदमलाई "भद्रगोलबाट सुशासन" तर्फको यात्रा भन्दै प्रशंसा गरेका थिए।

उनले स्वशासित टापु ताइवानलाई पनि नियन्त्रणमा लिन चीनसँग बल प्रयोग गर्ने अधिकार रहेको बताएका थिए।

तस्बिर स्रोत, Reuters

राष्ट्रपति सी अहिले चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव, देशको राष्ट्रपति र सैन्य सङ्गठनहरूका प्रमुख हुन्।

उनलाई चिनियाँ सर्वोच्च नेताको उपाधि समेत दिइएको छ।

उनको तेस्रो कार्यकाल आइतवार आधिकारिक रूपमा घोषणा हुँदै छ। आफू महासचिव भएपछि उनले चिनियाँ सरकारमा नयाँ टोली पनि चयन गर्नेछन्।

यसअघि उनले सन् २०१८ मा दुई पटकसम्म मात्र राष्ट्रपति हुन पाउने नियम परिवर्तन गर्दै अनिश्चित कालसम्म देशको शीर्ष नेतृत्वमा रहन सक्ने बाटो खोलेका थिए।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, विदेशी शक्तिले धम्काउन खोजे ‘तिनको टाउकोमा प्रहार हुने’