नेपालको सरकारी हुलाक सेवाले कहिलेबाट विदेशमा पूर्णरूपमा चिठी-पार्सल पठाउँछ?
तस्बिर स्रोत, GENERAL POST OFFICE
कोभिड महामारी सुरु भएसँगै अवरुद्ध भएको नेपालको विदेशमा चिठी पत्र पठाउने काम कहिलेबाट सुरु हुने भन्ने अझै अन्यौल रहेको अधिकारीहरूले बताएका छन्।
हुलाक सेवा विभागका अनुसार महामारीअघि थाई एअरवेजले नेपालमा उडान अझै सुरु नगर्दा विदेशमा चिठी पठाउने प्रक्रिया प्रभावित भएको हो।
"त्यसको अभाव पूर्ति गर्ने काम अन्य विमान कम्पनीमार्फत गर्न खोजिएको छ। तर उनीहरूले हामीलाई केही जवाफ दिइसकेका छैनन्," विभागकी निर्देशक लक्ष्मी हुमागाईँ खतिवडाले बताइन्।
"जसले गर्दा अहिले हामीले नेपाली ध्वजावाहकले उडान गरिरहेका चारवटा देशहरू जापान, मलेसिया, कतार र भारतमा मात्र चिठी पठाउन सकेका छौँ।"
सरकारी हुलाक सेवामा झण्डै साढे दुई वर्षदेखि रहेको त्यस्तो अवरोधबीच सेवाग्राहीहरू कैयौँ गुणा महँगोमा निजी डाँक सेवा प्रयोग गर्न बाध्य रहेको बताइएको छ।
थाइको विकल्प खै?
विश्वभर सर्वसुलभ दरमा डाँक सेवा दिनका लागि एसिया प्यासिफिक पोस्टल युनिअन (एपीपीयू)ले डाँक सेवामा लाग्ने दर तोकेको छ जसको नेपाल समेत सदस्य राष्ट्र हो।
"हामीले उसले तोकेको दरभन्दा बढी विमान सेवाहरूलाई तिर्न सक्दैनौँ," खतिवडा भन्छिन्।
जसले गर्दा थाईको विकल्पमा आग्रह गरिएका विमान सेवाहरूले "उक्त दर फाइदाजनक नहुने" ठानेर रुचि नदिएको ठानिएको नेपाली अधिकारीहरू बताउँछन्।
तर त्यसको विकल्पमा के गर्ने भन्ने प्रश्नको उनीहरूसँग जबाफ छैन।
निर्देशक खतिवडा भन्छिन्, "हामीले पुनः ताकेता गरेका छौँ। सम्भवतः तिहारसम्ममा केही प्रगति होला कि भन्ने आशा छ।"
निजी कम्पनीहरूको दबाव!
सरकारी सेवामा अवरोधहरू देखा परेसँगै निजी कुरिअर कम्पनीहरूको "एकछत्र राज" देखा परेको कुरा अधिकारीहरू स्विकार्छन्।
तस्बिर स्रोत, NAC
सरकारले अहिले बोलपत्र आह्वान नगरीकन विभागको महानिर्देशकलाई जुनसुकै वायुसेवा कम्पनीसँग सम्झौता गर्न सक्ने अधिकारसमेत दिएको छ।
"हालै हामीले काठमाण्डू विमानस्थलमा विमान सेवाहरूका प्रतिनिधिहरूसँग समेत छलफल गरेका छौँ," खतिवडा भन्छिन्।
विदेशबाट नेपालमा चिठी पत्र र पार्सल आउने प्रक्रिया भने रोकिएको छैन।
कैयौँ देशहरूमा त्यहाँको हुलाक सेवा अर्धसरकारी स्वरूप र निजीकरण समेत गरिएकाले उनीहरूले एपीपीयूको दरमा खुकुलो भएर काम गर्न पाइरहेको नेपाली अधिकारीहरूको तर्क छ।
सेवा
नेपालमा सरकारी हुलाकले द्रुत डाँक, पार्सल र चिठी पत्र गरेर तीन प्रकारका सेवाहरू दिँदै आएको छ।
तस्बिर स्रोत, BIJAY GAJMER/BBC
ती सेवामा आएको अवरोधका कारण राजश्व वार्षिक केही करोडबाट केही लाख रुपैयाँमा झरेको बताइएको छ।
गोश्वारा हुलाक कार्यालय डिल्लीबजारको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा विदेशमा पठाइएका पार्सलबाट तीन करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
आर्थिक वर्ष २०७५/७६ मा पनि विदेशमा पार्सल पठाएर हुलाकले तीन करोड १२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
तर कोभिड महामारी सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा आर्थिक वर्ष २०७६/७७ मा विगत वर्षहरूको तुलनामा कम राजस्व सङ्कलन भयो। यो आर्थिक वर्ष हुलाकले विदेश पार्सल पठाएर दुई करोड २७ लाख रुपैयाँ सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ।
विसं २०७७ को चैत्रबाट विदेशमा पार्सल पठाउने कार्य ठप्प प्रायः भएकोमा महामारी केही सुस्त भएपछि सीमित देशका लागि खुलेको छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन