महारानी एलिजाबेथ अन्तिम संस्कार: महारानीले 'आजीवन गरेको सेवा' प्रति सम्मान व्यक्त

तस्बिर स्रोत, PA Media

महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ।

विन्ड्सर कासलस्थित सेन्ट जोर्जेज् च्यापलमा पुर्‍याइएको महारानीको शवपेटिकालाई अन्तिम‌ बिदाइ गर्न 'कमिटल सर्भिस' आयोजना गरिएको थियो।

त्यसपछि उनलाई त्यहाँ निर्दिष्ट स्थानमा समाधिस्थ गरिएको छ। महारानीको अन्तिम संस्कारसँगै ब्रिटेनको दशदिने सार्वजनिक शोकको अन्त्य भएको छ।

त्यसअघि विन्ड्सरमा शवयात्राका क्रममा हजारौँ मानिसको भिड‌ देखिएको थियो।

सोमवारै ब्रिटेनको राजधानी लन्डनस्थित प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न भएको थियो।

त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडनसहित सयौँ गन्यमान्य विदेशी पाहुनाहरू उपस्थित थिए। 

द डीन अफ वेस्टमिन्स्टरले  उक्त समारोहको नेतृत्व गर्ने क्रममा "आजीवन वहन गरेको उत्तरदायित्व"प्रति कृतज्ञता व्यक्त गरेका थिए। 

राजा चार्ल्स तृतीयले मलिन भावमा आफ्नी आमाको शवपेटिकापछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबीसम्मको शवयात्राको नेतृत्व गरेका थिए। 

डीन डेभिड होइलले समारोह सुरु गर्ने क्रममा एलिजाबेथ द्वितीयाले "महारानी र राष्ट्रमण्डलको प्रमुखका रूपमा कैयौँ वर्षसम्म उच्च जिम्मेवारीका लागि अटल प्रतिबद्धता" प्रस्तुत गरेको बताएका थिए। 

उनले भने, "सम्मानसाथ हामीले उनको जीवनभरको जिम्मेवारी बोध र आफ्ना नागरिकप्रतिको प्रतिबद्धताको स्मरण गर्छौँ।" 

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शवयात्रामा रोयल नेभीको स्टेट गन क्यारिज प्रयोग गरिएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सेन्ट जोर्जेज् च्यापलमा गरिएको स्तुतिगानमा राजपरिवारका सदस्यहरू पनि सहभागी भएका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, वेस्टमिन्स्टर हलबाट शवयात्रा निस्किँदा महारानीको शवपेटिका पछिपछि राजपरिवारका सदस्यहरू हिँडेका थिए

तस्बिर स्रोत, Inpho

तस्बिरको क्याप्शन, राजकुमार विलियम र राजकुमार ह्यारी शवयात्रामा आफ्ना पिता राजा चार्ल्ससँगसँगै हिँडेका थिए

महारानीको शव पेटिका वेस्टमिन्स्टर एबीमा प्रवेश गर्दा भजन मण्डलीले सङ्गीतबद्ध ढङ्गले श्लोकहरू गाएका थिए जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चलेको छ। 

प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थको एक अध्याय पाठ गरिन्।  

एक वरिष्ठ धर्मगुरु आर्चविशप अफ क्यान्टरबरी जस्टिन वेल्बीले उपदेश दिए र गायिका डेम भेरा लिनलाई उद्धृत गर्दै "वी विल मिट अगेन" (हामी फेरी भेट्नेछौँ) भने।

उक्त वाक्यांश कोभिड महामारी सुरु भएपछि राष्ट्रलाई गरेका दुर्लभ सम्बोधनमा महारानीले पनि प्रयोग गरेकी थिइन्। 

आर्चविशप वेल्बीले भने: "यस दिनको शोक- दिवङ्गत महारानीका परिवारले मात्र अनुभव गरेको छैन पूरा देश, राष्ट्रमण्डल र विश्वभर महसुस भएको छ - उनको दीर्घ जीवन र प्रेममय सेवा अब हामीबाट गएको छ।"     

उक्त समारोहको अन्त्यतिर देशभर दुई मिनेटको मौन धारण गरिनुअघि द लास्ट पोस्ट धुन बजाइएको थियो।  

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विन्ड्सरतिर जाने क्रममाम महारानीको शवपेटिका राखिएको सवारीसाधनमाथि सर्वसाधारण मानिसहरूले फूल चढाएका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति जो बाइडन र उनकी श्रीमती वेस्टमिन्स्टर हलमा उपस्थित भएका छन्

लण्डनस्थित एक प्रसिद्ध युद्ध स्मारक वेलिङ्टन आर्चबाट दिवंगत महारानीको शव राखिएको पेटिका नयाँ राजकीय शववाहनमा स्थानान्तरण गरेर त्यो विन्डसर कासलतर्फको अन्तिम यात्रामा लगिएको थियो।

विन्डसर कासलमा रहेको गिर्जाघर सेन्ट जोर्जेज् च्यापलमा महारानीको शव पेटिका समाधिस्थ गरिनुअघिका धार्मिक र परम्परागत कार्यहरू भएका छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शवयात्रा मार्गमा जम्मा भएका मानिसहरू अन्तिम संस्कार समारोहका लागि मौन भएका थिए

त्यहाँ झण्डै ८०० जना पाहुनाको उपस्थितिमा डीन अफ विन्डसर डेभिड कोनरले त्यस्तो धार्मिक कार्य सम्पन्न भएपछि आर्चविशप अफ क्यान्टरबरीले प्रार्थना र आशीर्वाद दिएका थिए।

त्यसपछि एक नितान्त निजी समारोहका माझ सेन्ट जोर्जेज् च्यापलभित्र रहेको किङ जोर्ज छैटौँ स्मृति च्यापलमा महारानीको शवलाई उनका पति ड्यूक अफ एडिन्बराको समाधि रहेको स्थानसँगै समाधिस्थ गरिएको थियो।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अन्तिम संस्कार समारोहलाई विश्वभरबाट अवलोकन गरिएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, महारानीको शवपेटिका सेन्ट जोर्जेज् च्यापलतिर जाँदै गर्दा हजारौँ मानिसहरूले विन्ड्सरमा भेला भएका थिए