जापान समुद्री आँधी: टाइफून नान्मादोल जमिनमा बज्रियो, ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

तस्बिर स्रोत, Reuters

जापानमा अहिलेसम्म आएको ठूलोमध्येको एउटा समुद्री आँधी दक्षिणी टापु क्युशुमा बज्रिएको छ।  उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको छ।

टाइफून नान्मादोलका कारण केही क्षेत्रमा आइतवार दिउँसो तथा राति गरेर २० इन्चसम्मको वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उक्त आँधीका कारण कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने ठानिएको छ।

तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका छन्।

प्रभाव क्षेत्र

यो आँधी आइतवार बिहान क्युशुको दक्षिणी टुप्पो कागोशिमा सहरनजिकै जमिनमा बज्रिएको थियो। 

क्युशुको जनसङ्ख्या एक करोड ३० लाखभन्दा धेरै छ। उक्त द्वीप जापानका चार मुख्य टापुमध्ये सबैभन्दा दक्षिणमा पर्छ। 

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, समुद्री आँधीका कारण क्युशुमा रेल सेवा बन्द भएको छ

अधिकारीहरूले उक्त टापुमा सर्वसाधारणलाई सचेत बनाउन "विशेष सूचना" जारी गरेका छन्।

ओकिनावा प्रिफेक्चरबाहिर जारी भएको त्यस्तो सूचना हालसम्मकै पहिलो भएको जापान टाइम्सले जनाएको छ। 

जापानको जलवायु निकायले नान्मादोलका कारण तटीय क्षेत्रमा मुसलधारे वर्षा र आँधीबेहरी आउने जनाएको छ। 

तस्बिर स्रोत, Reuters

वायुको गति निकै शक्तिशाली हुँदा घरहरू ध्वस्त हुनसक्ने जोखिम रहेको उक्त निकायको भनाइ छ।  

उक्त आँधी अहिले क्युशुमा उत्तरतर्फ बढिरहेको छ र त्यसले टापुको मध्यभागमा अवस्थित पर्वतीय क्षेत्रमा ठूलो वर्षा गराइरहेको छ। 

टोक्योसम्म पुग्ने

यो आउँदा दिनमा जापानको मध्यतिर हुँदै टोक्योसम्म पुग्ने अपेक्षा गरिएको छ। त्यस क्रममा यो उत्तिकै शक्तिशाली हुने बताइएको छ। 

आँधीका कारण हुने वर्षाले जनधनलाई जोखिममा पार्ने ठानिएको छ। 

नदीहरूको सतह अहिले नै बढेको छ र पानीले जमिन कटान गर्न थालेको छ। 

क्युशुका मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा शरण लिन भनिएको छ। 

प्रशान्त क्षेत्रमा यस याममा आएको १४औँ समुद्री आँधी नान्मादोल अहिलेसम्म जापानमा बज्रिएको ठूलोमध्ये एउटा हो। 

तस्बिर स्रोत, Getty Images

तुलना

जापानको जलवायु निकायका एक अधिकारीले यो आँधी सन् २०१८ मा आएको जेबी र सन् २०१९ को हगिबिस आँधीभन्दा खराब हुनसक्ने बताएका छन्। 

जेबी आँधीका कारण १४ जनाको मृत्यु भएको थियो भने हगिबिसका कारण व्यापक विद्युत् आपूर्ति बन्द भएको थियो। 

समुद्री आँधीसँग जुझ्न जापानमा राम्रोसँग तयारी गर्ने गरिन्छ।

तर वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले यस्ता विपद्हरू ठूला र थप विध्वंसकारी बनाइरहेको छ। 

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मौसमसम्बन्धी एपबारे तपाईँले जानुपर्ने कुरा