भारत-पाकिस्तान विभाजन: ७५ वर्षअघि ब्रिटिश भारत किन विभाजित भयो?

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमृतसरनजिकै सीमास्थित वाघा नाकामा सन् १९५० देखि प्रत्येक साँझ भारत र पाकिस्तानका सैनिकहरूले आफ्नो देशको झण्डा यसरी झुकाउने गरेका छन्

 सन् १९४७ को अगस्टमा ब्रिटेनले भारतलाई स्वतन्त्रता प्रदान गर्‍यो।

उसले शासन गरिरहेको भूभाग भारत र अर्को नयाँ देश पाकिस्तानका रूपमा विभाजित भयो। (पछि पूर्वी पाकिस्तान बाङ्ग्लादेश बन्यो।)

उक्त घटनाक्रमका बेला हिंसा फैलिँदा झन्डै एक करोड ५० लाख मानिस विस्थापित भए र झन्डै १० लाख जनाले ज्यान गुमाए।

त्यसयता भारत र पाकिस्तान प्रतिद्वन्द्वी रहँदै आएका छन्।

भारत-पाकिस्तान विभाजनको कारण के हो

सन् १९४६ मा ब्रिटेनले भारतलाई स्वतन्त्र दिने घोषणा गर्‍यो। उसले अब आफूले उक्त देशमा शासन गर्न नसक्ने भन्दै जतिसक्दो चाँडो त्यहाँबाट फर्किने चाहना व्यक्त गर्‍यो।

अन्तिम भाइसराय लर्ड लुई माउन्टब्याटनले ब्रिटेन भारतबाट फर्किने मिति सन् १९४७ अगस्ट १५ का लागि तय गरे। 

त्यो समयमा भारतको कुल जनसङ्ख्याको झन्डै २५ प्रतिशत मुस्लिम समुदायको थियो। बाँकी अधिकांश हिन्दू थिए। भारतमा सिख, बौद्धमार्गी र अरू धार्मिक अल्पसङ्ख्यकहरू पनि थिए।

"ब्रिटिशहरूले धर्मलाई भारतका मानिसहरूलाई विभिन्न वर्गमा विभाजित गर्ने उपायका रूपमा प्रयोग गरे," आर्ट्स एन्ड ह्यूम्यानिटीज रिसर्च काउन्सिलसँग आबद्ध भारतीय अध्येता  प्राध्यापक नवतेज पुरेवाल भन्छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नेहरू र गान्धी सबै धर्म अटाउने भारत चाहन्थे

 "उदाहरणका लागि, उनीहरूले स्थानीय चुनावका लागि मुसलमान र हिन्दूहरूका अलगअलग मतदाता सूची बनाए। मुसलमान नेताहरूका लागि सीट आरक्षित गरियो र हिन्दूका लागि पनि त्यसै गरियो। धर्म राजनीतिको एउटा मुद्दा बन्यो।"

"भारतले स्वतन्त्रता पाउला जस्तै भएपछि धेरै भारतीय मुस्लिमहरू आफू हिन्दू बहुमतद्वारा शासित देशमा बस्नुपर्ने भयो भन्दै चिन्तित भए," यूकेमा रहेको च्याटम हाउस फरन पलिसी इन्स्टिट्यूटका डा. ग्यारथ प्राइस भन्छन्।

"उनीहरूले आफूलाई त्यसबाट अप्ठ्यारो पर्छ जस्तो ठाने। उनीहरूले अलग्गै मुस्लिम देशको पक्षमा अभियान चलाउने नेताहरूलाई समर्थन गर्न थाले।"

स्वतन्त्रता अभियान चलाएको कङ्ग्रेसका नेताहरू मोहनदास गान्धी र जवाहरलाल नेहरूले आफूहरूले सबै आस्था अटाउने स्वतन्त्र भारत चाहेको धारणा राखेका थिए।

तर अल इन्डिया मुस्लिम लीगका नेता मोहम्मद अलि जिन्नाले स्वतन्त्रताको सहमतिमा विभाजन हुनुपर्ने माग राखे। 

"एकताबद्ध भारतले कसरी काम गर्छ भनेर सहमतिमा पुग्न लामो समय आवश्यक पर्थ्यो। त्यही भएर विभाजन तुरुन्तै गर्न सकिने र सजिलो समाधानजस्तो देखियो।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मोहम्मद अलि जिन्ना (बायाँ) स्वतन्त्रताको विषयमा महात्मा गान्धीसँग असहमत थिए

विभाजनबाट कस्तो पीडा

भारत र पाकिस्तानको नयाँ सीमारेखा सन् १९४७ मा एक जना ब्रिटिश कर्मचारी सर सिरिल र्‍याड्क्लिफ डक्लिफले कोरेका थिए।

उनले भारतीय उपमहादेशलाई हिन्दूहरूको बाहुल्य भएको मध्य र दक्षिणी क्षेत्र र मुसलमानको बाहुल्य रहेको पश्चिमोत्तर र पूर्वोत्तर क्षेत्रमा विभाजन गरेका थिए।

तर हिन्दू र मुस्लिम समुदायहरू ब्रिटिश भारतभरि नै छरिएका थिए।

यसको अर्थ विभाजनपछि लगभग डेढ करोड मानिसले तय गरिएका नयाँ सीमा पार गर्न सयौँ कोस यात्रा गर्नुपरेको थियो।

तस्बिर स्रोत, Huw Evans picture agency

तस्बिरको क्याप्शन, सन् १९४६ मा कोलकातामा हिन्दू र मुस्लिमहरूबीच दङ्गामा हुँदा २,००० जनाको मृत्यु भएको मानिन्छ।

धेरै ठाउँमा जातीय दङ्गाका कारण मानिसहरूलाई आफ्नो घरबाट लखेटिएको थियो। सन् १९९६ को कोलकाता नरसंहारलाई एउटा उदाहरणका रूपमा लिन सकिन्छ। उक्त घटनामा  झन्डै दुई हजार मानिसले ज्यान गुमाएका थिए।

"मुस्लिम लीगले लडाकु समूह गठन गरेको थियो र हिन्दूवादी दक्षिणपन्थीहरूले पनि त्यसै गरेका थिए," एसओएएस यूनिभर्सिटी अफ लन्डनकी दक्षिण एशियाली इतिहासकी प्राध्यापक एलनोर न्यूबिगिनले भनिन्।

"आतङ्क सिर्जना गरेका समूहहरूले आफ्नो पक्षको पकड बलियो बनाउनकै लागि गाउँबाट मानिसहरूलाई लखेट्थे।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९४७/४८ मा अमृतसरस्थित एउटा शिविरमा सिख शरणार्थीहरू। विभाजनका कारण लाखौँ मानिस विस्थापित भएका थिए

उक्त समयमा दुईदेखि १० लाख जनासम्मको हत्या भएको वा शरणार्थी शिविरमा तिनले ज्यान गुमाएको हुनसक्ने ठानिएको छ।

दशौँ हजार हिन्दू र मुस्लिम महिलाहरूलाई बलात्कार, अपहरण वा अङ्गभङ्ग गरिएको थियो।

विभाजनबाट कस्तो प्रभाव

विभाजनपछि भारत र पाकिस्तानले कश्मीरमा आफ्नो वर्चस्व कायम गर्न निरन्तर लडिरहेका छन्।

उनीहरूबीच सन् १९४७ देखि १९४८ सम्म पहिलो पटक र सन् १९६५ मा दोस्रो पटक कश्मीरका लागि युद्ध भएको थियो। 

सन् १९९९ मा कारगिल सङ्कटको समयमा दुवै देशबीच भिडन्त पनि भएको थियो।

दुवै देशले कश्मीरमाथि आफ्नो अधिकार भएको दाबी गर्दै आएका छन्। अहिले छुट्टाछुट्टै भागमा दुई देशको शासन छ। 

भारतले सन् १९७१ मा पाकिस्तानसँग युद्ध गरेको थियो। 

त्यस बेला उसले अहिलेको बाङ्ग्लादेशको स्वतन्त्रता सङ्ग्रामको समयमा पूर्वी पाकिस्तानप्रति ऐक्यबद्धता जनाउन हस्तक्षेप गरेको थियो।

हाल पाकिस्तान हिन्दूको जनसङ्ख्या दुई प्रतिशतभन्दा कम छ।

"पाकिस्तान थप इस्लामिक बनेको छ," डा. प्राइस भन्छन्, "यसको आंशिक कारण त्यहाँको धेरै जनसङ्ख्या मुस्लिमको छ र अब एकदमै थोरै हिन्दुहरू बाँकी छन्।"

"अनि भारत चाहिँ अझ बढी हिन्दू राष्ट्रवादको प्रभावमा अहिले आइरहेको छ।"

प्राध्यापक न्यूबिगिन विभाजनको विरासत पीडादायक रहेको बताउँछिन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमृतसरमा १९४७ मार्चमा भएको साम्प्रदायिक दङ्गा फैलिँदा सहरका केही भाग ध्वस्त भएका थिए। मुस्लिमहरूले उक्त सहर पाकिस्तानमा पार्न चाहन्थे भने हिन्दूहरूले भारतमा

उनले भनिन्, "यसले दुवै देशमा शक्तिशाली धार्मिक बाहुल्य निर्माण गरेको छ। अल्पसङ्ख्यकहरू एकदमै साना भएका छन् र विगतभन्दा बढी जोखिमको सामना गरिरहेका छन्।"

प्राध्यापक नवतेज पुरेवाल विभाजनलाई टार्न सकिन्थ्यो भन्ठान्छन्। 

"सन् १९४७ मा नै एकताबद्ध भारत निर्माण गर्न सम्भव पनि हुन सक्थ्यो। मुस्लिमबहुल राज्यहरूसहित सबैलाई बाँध्ने राज्यहरूको एउटा खुकुलो फेडरेशन गठन गरेर त्यसो गर्न सकिन्थ्यो।" 

"तर गान्धी र नेहरू दुवैले केन्द्रको नियन्त्रणमा रहेको एकताबद्ध राज्यको पक्षमा अड्डी कसे। उनीहरूले त्यस्तो खालको देशमा मुसलमान अल्पसङ्ख्यक समुदाय कसरी बस्लान् भन्ने वास्ता गरेनन्।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, ७५ वर्षअघि छुट्टिएका दाजुभाइको भेट