युक्रेन युद्धः रुसी नियन्त्रणमा रहेको जापोरीजा ऊर्जा केन्द्रबाट परमाणु विपद् फैलिन सक्ने चेतावनी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रुसले गत मार्चमा उक्त ऊर्जा केन्द्र नियन्त्रणमा लिएको थियो
    • Author, जोर्ज राइट
    • Role, बीबीसी न्यूज

संयुक्त राष्ट्रसङ्घको परमाणु निगरानी निकाय आईएईएका प्रमुखले युक्रेनमा रहेको जापोरीजा ऊर्जा केन्द्रबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्‌बारे आफ्नो चिन्ता बढ्दै गएको बताएका छन्।

रफाएल मारिआनो ग्रोसीले त्यहाँबाट भइरहेको सैन्य कारबाहीले युक्रेन र अन्यत्रको जनस्वास्थ्य एवं पर्यावरणमा दुष्प्रभाव पर्ने चेतावनी दिएका छन्।

रुसले गत मार्च महिनामा युरोपको सबैभन्दा ठूलो उक्त परमाणु केन्द्र आफ्नो नियन्त्रणमा लिएको थियो।

यसअघि त्यसका सञ्चालकहरूले रुसी आक्रमणहरूमा परेर उक्त केन्द्रमा क्षति पुगेको र एउटा रीयाक्टर बन्द गरिएको बताएका थिए।

आफ्नो रात्रिकालीन सम्बोधनका क्रममा युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले जापोरीजा परमाणु ऊर्जा केन्द्रलाई "त्रास फैलाउन" प्रयोग गरिरहेको आरोप लगाए।

आईएईए प्रमुखले अरू के भने?

आईएईए प्रमुख ग्रोसीले आफू युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रबाट गोलाबारी भइरहेको विवरणका कारण चिन्तित भएको बताए।

रुसले उक्त केन्द्रमा भएका युक्रेनी कामदारलाई पनि आफूसँगै राखेको छ।

किएभले रुसी सेनाले उक्त क्षेत्रबाट गैरसैनिक क्षेत्रमा "आतङ्क सिर्जना गर्ने रणनीति" प्रयोग गर्दै रकेटहरू प्रहार गरेको आरोप लगाएको छ।

शुक्रवार भएको आक्रमणले युक्रेन र अन्यत्र पनि जनस्वास्थ्य र पर्यावरणमा जोखिम पुग्ने पारमाणविक विपत्तिको वास्तविक जोखिम उजागर गरेको एउटा विज्ञप्तिमार्फत् आईएईएका प्रमुखले बताएका छन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उक्त परमाणविक ऊर्जा केन्द्रबाट आफूमाथि आक्रमण भइरहेको युक्रेनले बताएको छ

"उक्त केन्द्रबाट हुने वा उक्त केन्द्रलाई लक्षित गर्नेगरी हुने कुनै पनि किसिमको गोलाबारी आगोसँग खेल्नु जस्तै हो जसको सम्भावित परिणाम विनाशकारी हुन सक्छ।"

उनले युक्रेनी कर्मचारीहरूलाई "कुनै धम्की वा दबावबिना" आफ्नो महत्त्वपूर्ण उत्तरदायित्व वहन गर्न दिइनुपर्ने बताए। त्यसबाहेक आईएईएलाई प्राविधिक सहयोग उपलब्ध गराउन दिइनुपर्ने उनको भनाइ छ।

उनले युक्रेन र अन्यत्रका मानिसलाई सम्भावित पारमाणविक दुर्घटनाबाट जोगाउन आफ्ना फरक विचारधारा एक ठाउँमा राखेर तत्कालै कदम चाल्न आग्रह गरे।

केही दिनअघि उनले उक्त केन्द्र "पूर्ण रूपमा नियन्त्रण बाहिर गएको" बताएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: रुसी क्षेप्यास्त्रले विस्फोट गराएको दृश्य

उक्त परमाणु केन्द्रमा जोखिम किन छ?

जापोरीजा प्लान्टको सञ्चालक संस्थानले रुसी क्षेप्यास्त्र आक्रमणले एउटा "पावर यूनिट" बन्द गर्न बाध्य पारेको भन्दै रेडिओधर्मी चुहावटको जोखिम रहेको बताएको थियो।

टेलिग्राममा लेखिएको सन्देशमा सञ्चालक एनेर्होआटोमले ती आक्रमणहरूका कारण उक्त केन्द्रको सुरक्षित सञ्चालनमा गम्भीर जोखिम उत्पन्न गराएको बताएको थियो।

यद्यपि मस्कोले युक्रेनले नै ती आक्रमणहरू गराएको प्रत्यारोप लगाएको छ।

बीबीसीले उक्त परमाणु केन्द्रमा क्षति भएका भन्ने विवरणहरू पुष्टि गर्न सकेको छैन।

तर युरोपेली सङ्घले पछिल्लो घटनाको कडा शब्दमा आलोचना गरेको छ।

वरिष्ठ कूटनीतिज्ञ जोसेफ बोरेलले ईयूले उक्त केन्द्र वरपरको रुसी सैन्य गतिविधिलाई निन्दा गर्ने बताए।

"यो परमाणुसुरक्षासम्बन्धी नियमहरूको गैरजिम्मेवार र गम्भीर उल्लङ्घन हो। साथै अन्तर्राष्ट्रिय मान्यतालाई रुसले बेवास्ता गरिरहेको अर्को उदाहरण पनि हो।"

तस्बिर स्रोत, ENERGOATOM/REUTERS

तस्बिरको क्याप्शन, अगस्ट ४ मा परमाणु उर्जा केन्द्रबाहिर देखिएको एउटा रुसी ट्याङ्क

उनले आईएईएलाई उक्त केन्द्रसम्म पहुँच दिइनुपर्ने पनि बताए।

रुसी सेनाले उक्त केन्द्र र युक्रेनको नियन्त्रणमा रहेका ठाउँनजिकका क्षेत्रमा आफ्नो नियन्त्रण कायम राखेको छ।

उक्त केन्द्रमा छवटा प्रेशराइज्ड वाटर रीयाक्टरहरू छन् र त्यहाँ रेडिओधर्मी फोहोर भण्डारण गरिन्छ।

अझै युक्रेनी नियन्त्रणमा रहेको नजिकैको निकोपोलका सर्वसाधारण मानिसहरूले रुसी सेनाले उक्त केन्द्र वरपरबाट रकेट प्रहार गरिरहेको र उक्त परिसरभित्र सैन्य उपकरणहरू लगिरहेको बताएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रवार उक्त केन्द्रमा हुने जस्तोसुकै आक्रमण "लाजमर्दो अपराध, आतङ्कको काम" भएको बताएका थिए।

यूकेको रक्षा मन्त्रालयले रुसले परमाणु केन्द्रको "सुरक्षित हैसियत" बाट फाइदा लिन त्यसलाई बाहिर आक्रमण गर्ने ठाउँ बनाएको बताएको छ। त्यहाँबाट आक्रमण गर्दा युक्रेनी सेनाले राति प्रत्याक्रमण गर्ने जोखिम कम हुने रुसले ठानेको हुन सक्ने यूकेको भनाइ छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मारिऊपोलमा पुगेको क्षति देखाउने भिडिओ
भिडिओ क्याप्शन सुरु हुँदैछ, शीत युद्ध