भारत: हुनेवाला दुलाहालाई जेल पठाउने महिला प्रहरी गिरफ्तार
तस्बिर स्रोत, Facebook/Junmoni Rabha
गत महिना आफ्नो विवाहको टुङ्गो लागेको पुरुषले धोका दिएको भन्दै उसलाई जेल पठाउने एक महिला प्रहरी अधिकारीलाई आसाम प्रहरीले शनिवार पक्राउ गरेको छ।
माजुली प्रहरीले सई जुनमोनी राभालाई "आपराधिक योजना" र "धोखाधडी"को आरोपमा पक्राउ गरेको हो।
उनले आफ्नो हुनेवाला दुलाहालाई त्यस्तै आरोपमा पक्राउ गरेकी थिइन्।
प्रहरी एसपी गौतम बोराले सई राभाको गिरफ्तारी पुष्टि गर्दै भने,"महिला प्रहरी राभालाई विभिन्न आरोपको आधारमा शनिवार पक्रेका हौँ। मुख्य रूपमा उनीमाथि धोखाधडी र ठगीको आरोप लागेको छ।"
प्रहरीका अनुसार माजुलीमा तैनाथ रहँदा राभाले आफ्नो हुनेवाला दुलाहासँग मिलेर केही मानिसलाई ठगी गरेका थिए।
दुई जना ठेकेदारले राभाका हुनेवाला पति राणा पोगागविरुद्ध दुई भिन्न उजुरी दर्ता गरेका थिए। ती दुवै उजुरीमा उनले वित्तीय ठगी गरेको आरोप लगाइएको थियो।
जुनमोनी राभाको गिरफ्तारी
निवेदकहरूका अनुसार राभाले नै उनीहरूलाई पोगागसँग भेटाएकी थिइन्।
महिला प्रहरी अधिकारीमाथिको भरोसाकै कारण आफूहरूले पोगागलाई तेल र प्राकृतिक ग्यास निगमको ठेक्का प्राप्त गर्नका निम्ति रकम बुझाएका थिए।
माजुली प्रहरीले उजुरीमा राभाको नाम देखिएपछि शुक्रवार उनीसँग सोधपुछ गरेको थियो र शनिवार उनलाई पक्राउ गर्यो।
पोगागले ठगीको रकम यी महिला प्रहरी अधिकारीको ब्याङ्क खातामार्फत लिने गरेको आरोप छ।
तस्बिर स्रोत, Punya Saikia
तीमध्ये माजुलीस्थित क्यानडा ब्याङ्कको खातामा ११ लाख ३३ हजार र एक्सिस ब्याङ्कको खातामा नौ लाख १४ हजार रुपैयाँ लिएको आरोप छ।
पोगाग हाल नौगाउँ थानामा छन्। उनलाई भारतीय दण्ड संहिताको धारा १२० बी, १७०, ४०६, ४१९, ४२०, ४६८, ४७१ र ४७२ अन्तर्गत पक्राउ गरिएको थियो।
गत वर्ष अक्टोबरमा जुनमोनी र राणाको टिकोटालो गरिएको थियो र यसै वर्ष नोभेम्बरमा यी दुईको विवाह हुने भनिएको थियो।
तर त्यसअघि नै उनले आफ्नो हुनेवाला श्रीमानमाथि धोका दिएको आरोप लगाइ पक्राउ गरेकी थिइन्।
नौगाउँ थानामा उजुरी दर्ता
राभाले राणाविरुद्ध नौगाउँ थानामा उजुरी दर्ता गरेकी थिइन् र थुप्रै आरोप लगाउँदै सञ्चारमाध्यम समक्ष टिकोटालो गरेपछि मात्र उनी धोकेबाज भएको थाहा पाएको बताएकी थिइन्।
जुनमोनीका अनुसार राणाले पहिलो भेटमा आफू प्राकृतिक तेल तथा ग्यास निगमको जनसम्पर्क अधिकारी रहेको बताएका थिए। र त्यही कारण आफू राणाप्रति प्रभावित भएको समेत बताएकी थिइन्।
माजुलीमा बस्ने राणा र जुनमोनीको पहिलो भेट गत वर्ष ज्यानुअरीमा भएको थियो। त्यति बेला जुनमोनी त्यहीँ तैनाथ थिइन्।
निरन्तर भेटपछि उनीहरू प्रेम सम्बन्धमा रहेका थिए र केही महिनापछि दुवैको परिवारको उपस्थितिमा उनीहरूले टिकोटालो गरेका थिए।
तस्बिर स्रोत, Facebook/Junmoni Rabha
विवाहको टुङ्गो लगाउनु र राणाको धोकासम्बन्धी विषयमा जुनमोनीले भनेकी थिइन्,"म माजुलीमा तैनाथ थिएँ र मेरो ऊसँग सन् २०२१ को ज्यानुअरीमा भेट भएको थियो।"
"एक परिचित सहकर्मीले हामीलाई एक अर्कासँग चिनाएका थिए। प्रहरी अधिकारीसँग उनको राम्रो चिनजान थियो। प्रहरीसँग सम्बन्ध बनाउँदा भविष्यमा सहयोग मिल्ने आशा गरेको हुन सक्छ।"
लाखौँ रुपैयाँ ठगी गरेको आरोप
तर जुनमोनीको गिरफ्तारी र उनीमाथि लागेको थुप्रै आरोपहरूले उनी पोगागले गर्दै आएको कार्यहरूबारे पहिलेदेखि नै परिचित रहेको सङ्केत गरेको छ।
उनी स्वयं पोगागसँग मिलेर माजुलीका कयौँ मानिससँग लाखौँ रकम ठगी गर्ने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ।
तस्बिर स्रोत, Facebook/Junmoni Rabha
राणाविरुद्ध उजुरी दर्ता गरेपछि जुनमोनीले आफूसँग २५ लाख ठगी भएको बताउने व्यक्तिले पोगागका कर्तुतबारे जानकारी दिएको बताएकी थिइन्।
घटनालगत्तै सामाजिक सञ्जालमा यी प्रहरी अधिकारीको सकारात्मक चर्चा भएको थियो। तर अब उनी स्वयं यस घटनामा तानिएकी छिन्।
अहिले त्यही महिला प्रहरी पक्राउ परेपछि सामाजिक सञ्जालमा केही मानिस आसाम प्रहरीको तारिफ गरिरहेका छन् भने केहीले जुनमोनीले प्रहरीको नाम दुरुपयोग गरेको बताइरहेका छन्।
जुनमोनीले भने अदालत जानेक्रममा आफूविरुद्ध षडयन्त्र भएको बताएकी छन्।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन