चीन विमान दुर्घटनाः दुर्घटनाग्रस्त चिनियाँ विमानको ब्ल्याक बक्स भेटियो, खोजी र उद्धारकार्य अवरुद्ध

तस्बिर स्रोत, Reuters

पढ्ने समय: ४ मिनेट

दक्षिणी चीनको पहाडी क्षेत्रमा दुर्घटनामा परेको चाइना ईस्टर्न विमानको ब्ल्याक बक्स खोजीकर्ताहरूले भेट्टाएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ।

चिनियाँ उड्डयन अधिकारीहरूले दुई दिनको खोजी पश्चात् ब्ल्याक बक्स भेटिएको बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन्।

अधिकारीहरूले मृतकको सङ्ख्या अझै यकिन गरिसकेका छैनन् तर विमानमा सवार १३२ जनाको जीवितै उद्धार हुने सम्भावना कम रहेको आशङ्का गरिएको छ।

चीनमा दुई दिनअघि दुर्घटनामा परेको यात्रुवाहक विमानको भग्नावशेष फेला परेको क्षेत्रमा ठूलो वर्षा भएपछि पहिरो जाने जोखिमका कारण खोजी तथा उद्धार अभियान अवरुद्ध भएको छ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दुर्घटनास्थल भएको क्षेत्रको जमिनमा माटोले धेरै पानी सोसेकाले उद्धारकार्य "अनिश्चित" बनेको छ।

दक्षिण चीनको पहाडी भेगमा सोमवार चाइना ईस्टर्नको १३२ मानिस सवार एमयू५७३५ विमान दुर्घटनामा परेको थियो। उद्धारकर्मीले अहिलेसम्म कसैलाई पनि जीवित फेला पार्न सकेका छैनन्।

अनुसन्धानकर्ताहरूले उक्त विमान किन अकस्मात् आकाशबाट खस्यो भन्ने पत्ता लगाउन सकेका छैनन्।

दुर्घटनाका कारण चीनमा शोक फैलिएको छ। यात्रु र चालकदलका सदस्यका आफन्तहरू समाचारको व्यग्र प्रतीक्षा देखिन्छन्।

वुझाऊमा जङ्गल भएको एउटा भिरालो क्षेत्रमा विमानका टुक्रा भेटिएको ठाउँमा सयौँ उद्धारकर्मी पुगेका छन्। त्यहाँ विमान खसेपछि आगो पनि लागेको थियो।

के भन्छन् अधिकारी

दुर्घटना भएको ३६ घण्टापछि चीनको नागरिक उड्डयन प्रशासनले मङ्गलवार साँझ एउटा पत्रकार सम्मेलन गरेको थियो। त्यस बेलासम्म उक्त घटनामा कति जना हताहत भए भन्ने विषयमा आधिकारिक जानकारी आएको थिएन।

तस्बिर स्रोत, Alamy

"अहिलेसम्म खोजी र उद्धारकार्यमा कोही पनि जीवित फेला परेका छैनन्," उक्त निकायका एक वरिष्ठ अधिकारीले पत्रकारहरूलाई भने।

"अहिलेसम्म प्राप्त सूचनाका आधारमा हामीले दुर्घटनाको कारणबारे कुनै आकलन गरेका छैनौँ।"

उक्त विमान आकाशबाट तल ओर्लिरहेको बेला एअर कन्ट्रोलरहरूले चालकदलसँग बारम्बार सम्पर्क गर्न खोजेको भए पनि कुनै प्रतिक्रिया नआएको उनले जनाए।

उद्धारकर्मीहरूले बोइङ ७३७ विमानको जलेका भग्नावशेषहरू फेला पारेका छन्।

सरकारी टीभीहरूले घटनास्थलमा विमानमा सवार मानिसका जलेका चिठी, झोला, पर्स र परिचयपत्रको दृश्य प्रसारण गरेका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, टेलिभिजनहरूले दुर्घटनास्थलको दृश्य देखाएका छन्

तस्बिर स्रोत, Reuters

विमानमा सवार १२३ यात्रु र चालकदलका नौ सदस्यका परिवारजन र इष्टमित्रहरू वुझाऊ र ग्वाङ्जाऊ विमानस्थलमा भेला भएका छन् भने केही मानिसहरू युन्नान प्रान्तस्थित चाइना ईस्टर्नका कार्यालयमा पनि गएका छन्।

केही यात्रुका आफन्तहरू दुर्घटनास्थलनजिकै अवस्थित लू गाउँ पुगेका छन्।

युन्नानको राजधानी कुन्मिङबाट उडेको उक्त विमानले सोमवार अपराह्ण ग्वाङ्जाऊमा अवतरण गर्नुपर्ने थियो।

चाइना ईस्टर्नले ७३७-८०० मोडलका आफ्ना सबै बोइङ विमानहरूको उडान बन्द गरेको छ।

उसले दुर्घटनाग्रस्त विमानमा सवार मानिसबारे जानकारी दिन एउटा हटलाइन सुरु गरेको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, केही यात्रुका आफन्तहरू दुर्घटनास्थलनजिकै रहेको एउटा गाउँमा पुगेका छन्

शोक र सन्ताप

अधिकारीहरूले विमानमा चढेका यात्रु र चालकदलका सदस्यको पहिचान गर्न बाँकी नै छ। तर तीमध्ये केहीका आफन्तले सामाजिक सञ्जालमा र स्थानीय सञ्चारमाध्यमसँग बोलेका छन्।

एक नवविवाहिता महिलाले उक्त विमानमा आफ्ना पति पनि भएको ह्वीच्याटमा लेखेकी छन्। उनले पतिसँग बिदा मनाउन जाँदा खिचेका भिडिओहरू पनि प्रेषित गरेकी छन्।

एउटा स्थानीय पत्रिकाका अनुसार एक किशोरसहित ग्वाङ्जाऊमा एउटा अन्तिम संस्कारमा सहभागी हुन गाएका छ जनाको समूह पनि विमान दुर्घटनामा परेको छ।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters

सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता दिँदै एक महिलाले दुर्घटनामा परेको उक्त समूहमा आफ्नी बहिनी र नजिकका साथी रहेको बताएकी छन्।

उनले आफूले पनि त्यही विमानमा टिकट लिए पनि पछि परिवर्तन गरेर त्यसअघिको उडानमा आएको बताएकी छन्।

"म एकदमै मर्माहत छु," उनले जियमिन न्यूजसँग भनेकी छिन्।

समाचारसंस्था रोएटर्सलाई एक व्यक्तिले आफ्नी एक महिला सहकर्मी पनि उक्त दुर्घटनामा परेको र त्यसबारे उनको परिवारलाई जानकारी दिएको बताएका छन्।

"उनीहरू रोइरहेका छन्। उनकी आमाले त्यसो भए भनेर पत्याउन सकेकी छैनन्," उनले भने, "उनको छोरा २९ वर्षको छ।"

उनका अनुसार विमानसेवाले परिवारका सदस्यलाई दुर्घटनास्थल लैजाने व्यवस्था मिलाउन लागेको छ।

ग्वाङ्जाऊ विमानस्थलमा उक्त विमानका यात्रुका चिन्तामग्न परिवारजनहरू एउटा छेउमा कुरेर बसेको तस्बिर र भिडिओ सार्वजनिक भएको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दुर्घटनास्थलतिर जाने एउटा गाउँमा सुरक्षाकर्मीहरू

आधिकारिकता पुष्टि गर्न बाँकी एउटा भिडिओमा एक व्यक्ति उक्त विमानमा आफ्ना तीन सन्तान पनि भएको भन्दै रोइरहेको देखिन्छ।

उक्त विमान एक घण्टाभन्दा बढी समय उडिसकेको थियो र गन्तव्यको नजिक पुग्न लागेको थियो।

तर अकस्मात् त्यो आकाशबाट तल झर्‍यो।

भिडिओ

चिनियाँ सरकारी टीभीहरूले एउटा जेट विमान आकाशबाट खसेर जमिनमा जोगिएको भिडिओ देखाएका छन्।

उक्त भिडिओ एउटा कारको ड्याशक्यामले खिचेको हो। तर बीबीसीले उक्त भिडिओको आधिकारिकता पुष्टि गर्न बाँकी छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

फ्लाइट ट्र्याकरबाट प्राप्त तथ्याङ्कले उक्त बोइङ ७३७-८०० जेट तीन मिनेटभित्र हजारौँ मिटर तल खसेको देखाएको छ।

FlightRadar24 का अनुसार २९,१०० फिट ( झन्डै ९,००० मिटर) को उचाइमा उडिरहेको उक्त विमान दुई मिनेट १५ सेकेन्डपछि ९,०७५ फिटमा आइपुगेको थियो।

उक्त विमानबारे दिउँसो २:२२ बजे ३,२२५ फिटको उचाइबाट अन्तिम प्रमाणित सूचना प्राप्त भएको थियो।

विमान कति सुरक्षित?

तस्बिर स्रोत, AIRTEAMIMAGES.COM

तस्बिरको क्याप्शन, दुर्घटनाग्रस्त विमानको फाइल तस्बिर

उड्डयन विशेशज्ञहरू बोइङ ७३७-८०० मोडलका विमानहरूलाई सुरक्षित मान्छन्।

विश्वभरि हजारौँ त्यस्ता विमान छन्। यसअघि सात वर्षअघि मात्र उक्त मोडलको विमान दुर्घटनामा परेको थियो।

अनुसन्धानकर्ताहरूले दुर्घटनाका कारण पत्ता लगाउन विभिन्न सम्भावनाबारे विचार गर्ने अपेक्षा गरिएको छ। तिनमा जानीजानी गराइएको कार्य, विमानचालकको त्रुटि वा प्राविधिक समस्या पनि पर्छन्।

विमानको कुनै संरचनाले काम गर्न नसकेर वा आकाशमा केही कुरासँग ठोकिएर हुने समस्यालाई प्राविधिक मानिन्छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, आकस्मिक अवतरण गरेको विमानमा जब रेल आएर ठोकियो