युक्रेन युद्ध: पुटिनले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न लागेको बाइडनको दाबी
तस्बिर स्रोत, SARAH SILBIGER
युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्।
त्यसैको तयारीस्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको उनले बताए।
विगत २६ दिनका लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाका कारण पुटिन 'भित्तामा पुगेको' भन्दै अब उनले झनै चर्का कारबाही गर्न सक्ने बाइडनले बताएका हुन्।
उनले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताए।
यस्ता दाबीले बरु रुस त्यस्ता अस्त्र प्रयोग गर्न लागिपरेको स्पष्ट सङ्केत गर्ने उनले बताए।
उनले भने, "अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको उनको दाबी बिल्कुल झुटा हो। म त्यसको ग्यारेन्टी गर्छु।"
"साथै युक्रेनमा त्यस्ता अस्त्र रहेको दाबी पनि गरिएका छन्। यी स्पष्ट सङ्केत हुन् उनी ती प्रयोग गर्न चाहन्छन्।"
साइबर हमलाको खतरा
अगुवा व्यापारीहरूसँग कुरा गर्दै बाइडनले पुटिनले अमेरिकाविरुद्ध साइबर हमलाको तयारी गरिरहेको हुनसक्ने पनि बताए।
त्यस्ता हमलालाई रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले सबै किसिमको यत्न गर्ने पनि उनले बताए।
आर्थिक प्रतिबन्धहरू लगाएको बदलामा रुसले त्यसो गर्न सक्ने उनको भनाइ थियो।
साथै उनले अमेरिकी कम्पनीहरूलाई आफ्नो डिजिटल सुरक्षा प्रबन्ध सुदृढ बनाउन पनि आह्वान गरे।
यसअघि बाइडनले पुटिनलाई "युद्ध अपराधी" भनेपश्चात् वाशिङ्टनसँगको सम्बन्ध पूरै विच्छेदको अवस्थामा पुगेको मस्कोले चेतावनी दिएको थियो।
युक्रेन-रुस युद्धसँग सम्बन्धित थप सामग्री
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन