युक्रेन युद्ध: एक्लै १,२०० किलोमिटर यात्रा गरेर ११ वर्षे बालक युक्रेनबाट अर्को मुलुक पुगे

तस्बिर स्रोत, Slovak interior ministry

तस्बिरको क्याप्शन, हसनलाई स्वयम्‌सेवकहरूले खाना र पेय दिएका थिए

दुईवटा साना झोला, राहदानी र आफन्तको फोन नम्बर मात्र लिएर पूर्वी युक्रेनबाट करिब १२०० किलोमिटर यात्रा गरी एकजना बालक सुरक्षित रूपमा स्लोभाकिया पुगेका बताइएको छ।

११ वर्षीय हसनले जापोरिज्यास्थित आफ्नो घर छाड्दा उनकी आमा र हजुरआामा उतै छुट्न पुगे।

उनकी वृद्ध हजुरआमाले घर छाड्नसक्ने अवस्था नहुँदा हसनकी आमा पनि उनीसँगै जान सकिनन्।

उनले आफ्नो छोरालाई एउटा रेलमा चढाइदिइन् र हसन अन्ततः सीमा क्षेत्रमा पुगे।

त्यहाँबाट सीमा पार गर्न उनलाई भन्सार अधिकारीहरूले मद्दत गरे।

अधिकारीहरूका भनाइमा उनी नायक बनेका छन् र उनले आफ्नो मुस्कानले सबैको मन जित्न सफल भएका छन्।

ती बालक एउटा प्लास्टिकको झोला, एउटा सानो रातो पछाडि भिर्ने झोला र आफ्नो राहदानी बोकेर सीमामा पुगेका थिए।

तस्बिर स्रोत, Julia Pisecka

तस्बिरको क्याप्शन, हसनकी आमा

उनलाई स्वयम्‌सेवकहरूले त्यहाँ खाना र पीउने कुरा दिए अनि सीमा अधिकारीहरूले स्लोभाक राजधानी ब्राटिस्लाभामा रहेका हसनका आफन्तसँग सम्पर्क गरे।

स्लोभाक प्रहरीले पोस्ट गरेको भिडियोमा उनकी आमाले आफ्नो छोराको ख्याल राखेकामा सबैलाई धन्यवाद दिएकी छन्।

उनले आफ्नो देश रुसी आक्रमणको चपेटामा परेको बेला किन उनको छोराले त्यस्तो यात्रा गर्न बाध्य भए भन्ने पनि बताएकी छन्।

"मेरो सहर नजिकै ऊर्जा केन्द्र छ त्यहाँ रुसीहरूले बमबारी गरिरहेका छन्। मेरी आमा आफैँ हिड्न सक्दिनन् त्यसैले म उनलाई छाडेर जान सक्दिनँ त्यसैले मैले मेरो छोरालाई स्लोभाकिया पठाएँ," हसनकी आमा जुलिया पिसेक्काले भनिन्।

जापोरिज्यास्थित परमाणु ऊर्जा केन्द्र युरोपकै सबैभन्दा ठूलो त्यस्तो केन्द्र हो।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सन् १९८६ को चर्नोबल दुर्घटनाभन्दा पनि भयानक विनाश निम्तिन सक्ने चेतावनी दिँदादिँदै रुसको सेनाले उक्त केन्द्रलाई यसै सप्ताहन्तमा कब्जा गरेको थियो।

हसन युक्रेन माथिको रुसी हमलापछि त्यहाँबाट भागेका २० लाखभन्दा बढी मानिसमध्ये एक हुन्।

तस्बिर स्रोत, Slovak interior ministry

तस्बिरको क्याप्शन, हसनको हातमा आफन्तको सम्पर्क नम्बर लेखिएको थियो

संयुक्त राष्ट्र सङ्घको पछिल्लो विवरण अनुसार युक्रेनबाट १२ लाखभन्दा बढी मानिसहरू पोल्याण्ड पुगेका छन् भने एक लाख ४० हजारभन्दा बढी मानिस स्लोभाकिया पुगेका छन्।

आँखामा आँसु टिलपिल पार्दै हसनकी आमाले युक्रेनी बालबालिकालाई सुरक्षित निकास दिनका लागि बिन्ती गरेकी छन्।

स्लोभाक आन्तरिक मन्त्रालयका एक अधिकारीले हसनले आफ्नो मुस्कान, निडरता र दृढताबाट सिमानामा सबैको मन जितेको बताए।

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'न साइरन न बम, यहाँ सबै कुरा राम्रो छ' - पोल्यान्डमा युक्रेनी शरणार्थी

उनका भनाइमा ती बालकको हातमा लेखिएको फोन नम्बर र उनको खल्तीमा रहेको कागजको टुक्रामा लेखिएको नम्बरका आधारमा स्लोभाक राजधानीमा रहेका उनका आफन्तहलाई सम्पर्क गर्न सम्भव भएको थियो।

स्लोभाक आन्तरिक मामिला मन्त्री रोमन मिकोलेट्सले सोमवार हसनलाई भेटेर उनी र उनका भाइबहिनीका लागि स्लोभाकियामा अस्थायी सुरक्षाको व्यवस्थाका लागि निर्देशन दिइसकेको बताएका छन्।

स्लोभाक अधिकारीहरूले बालककी आमा र हजुरआमालाई मद्दत गर्न इच्छुक व्यक्तिहरूलाई स्लोभाक क्रिश्चियन युवा सङ्घ जेडकेएसएमलाई दान दिन आग्रह गरेका छन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, युद्ध भइरहेको ठाउँको जनजीवन देखाउन टिकटकमा भिडिओ
भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: कारको क्यामेरामा कैद आक्रमणको दृश्य