अफगानिस्तान: महिलालाई विश्वविद्यालयका ढोका खुल्यो तर डर कायमै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कान्दहार विश्वविद्यालयमा छात्राहरू
    • Author, लारा ओवेन
    • Role, बीबीसी हन्ड्रेड विमिन
  • पढ्ने समय: ५ मिनेट

गत बुधवार एक जना विद्यार्थी रदा उत्सुकताका साथ छ महिनापछि क्याम्पस फर्कन पाउने प्रतीक्षित यात्राका लागि तयार भइन्।

अफगानिस्तानको सत्ता तालिबानको हातमा गएपछि पहिलो पटक केही सार्वजनिक विश्वविद्यालयहरू महिला विद्यार्थीका लागि खुल्दै थिए।

"वास्तवमा धेरै कुरा पहिलेकै जस्तै सामान्य महसुस गरेँ," दक्षिणी सहर कान्दहारको विश्वविद्यालयमा भर्ना भएकी रदाले भनिन्।

"हाम्रो विश्वविद्यालय सानो भएकाले महिला र पुरुष एउटै कक्षामा थिए। केटाहरू अगाडि र हामी पछाडि बसिरहेका थियौँ," उनले बीबीसी हन्ड्रेड विमिनलाई भनिन्।

"आज बिहान मैले धेरै नै चिन्तित महसुस गरेँ। हामी आइपुग्दा तालिबानले क्याम्पस भवनमा पहरा दिइरहेका थिए तर उनीहरूले हामीलाई केही अवरोध गरेनन्।।"

अधिकारीहरूले देशका छ वटा न्याना प्रान्तहरू लघमान, नाङ्गाहार, कान्दहार, निमरोज, फराह र हेलमन्डका सार्वजनिक विश्वविद्यालयले कक्षाहरू पुनः सुरु गरिसकेको बताएका छन्।

काबुललगायत चिसो क्षेत्रमा रहेका तीन तिहाइ संस्थाले फेब्रुअरी अन्त्य सम्ममा पुरुष र महिला दुवैका लागि आफ्नो ढोका खोल्ने अपेक्षा गरिएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विश्वविद्यालयको गेटमा तालिबान लडाकु र फर्कदैँ गरेका छात्राहरू

"धेरै महिना घरमा बसेपछिको यो साँच्चिकै सुखद् खबर हो," काबुलमा सिभिल इन्जिनियरिङको पढाइ पुन: सुरु हुने अपेक्षा गरेकी विद्यार्थी होदाले भनिन्।

"तर मलाई थाहा छ - धेरै अध्यापकले अफगानिस्तान छाडिसकेका छन्।"

तालिबानले महिलामा शिक्षाको अधिकार हुनेमा कुनै आपत्ति नरहेको बताएको छ।

यद्यपि तालिबान प्रशासनले विश्वविद्यालयका महिला विद्यार्थीका लागि आधिकारिक रूपमा कुनै योजना घोषणा गरेको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगान युद्धः २० वर्षमा कति धनजनको क्षति भयो?

तर शिक्षा अधिकारीहरूले महिला विद्यार्थीका लागि अनिवार्य हिजाबसहित लिङ्गका आधारमा फरक कक्षा र इस्लामिक सिद्धान्तमा आधारित पाठ्यक्रम चाहेको बताएका छन्।

"केटा र केटीसँगै बसेर लिइने सह-शिक्षा इस्लामको सिद्धान्त र राष्ट्रिय मूल्य मान्यतासँग बाझिएको छ," तालिबानका उच्च शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले गत वर्ष सेप्टेम्बरको एउटा पत्रकार सम्मेलनमा भनेका थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, करिब ६ महिनादेखि अफगानिस्तानका विश्वविद्यालयहरू बन्द थिए

गत अगस्टमा सत्तामा आएदेखि तालिबानले देशभित्रको दैनिक जीवनमा विभिन्नखाले कडा नियमहरू लगाएको छ।

त्यस्ता नियममध्ये अधिकांश महिलाविरुद्ध छन्।

बालिकालाई माध्यमिक शिक्षा लिन प्रतिबन्ध लगाइएको छ र महिला मामिलासम्बन्धी मन्त्रालय खारेज गरिएको छ।

अधिकांश अवस्थामा महिलालाई काम गर्न दिइएको छैन। महिलालाई हिजाब लगाउन पनि निर्देशन दिइएको छ।

तर तालिबानले सन् १९९० को दशकमा देशमा शासन गर्दा जस्तै महिलालाई बुर्का अनिवार्य गरेका छैनन्।

तालिबानको पहिलो शासनकालमा सन् १९९६ देखि २००१ सम्म महिलालाई शिक्षाबाट वञ्चित गरिएको थियो।

तालिबानले सत्ता कब्जा गर्नुअघि भर्ना भएका महिलाका लागि केही विश्वविद्यालयहरू खुलेका छन्।

तर उच्च शिक्षा अझै पनि धेरैका लागि अनिश्चित नै देखिन्छ।

"मेरो सपना भनेको विश्वविद्यालयमा गएर डाक्टर बन्ने छ। अहिले मैले तालिबानले महिलालाई विश्वविद्यालयमा जान दिइरहेको सुने। म धेरै आशावादी छु, उनीहरूले माध्यमिक विद्यालय र त्यसपछि विश्वविद्यालयमा पनि हाम्रो शिक्षालाई निरन्तरता दिनेछन्," तखार प्रान्तमा कक्षा-११ मा अध्ययनरत विद्यार्थी महभाशले भनिन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तालिबानका उच्च शिक्षामन्त्री अब्दुल बाकी हक्कानी गत वर्ष सेप्टेम्बरको एउटा पत्रकार सम्मेलनमा

प्रतिबन्धहरू

मङ्गलवार अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय सहायता नियोगले सार्वजनिक विश्वविद्यालयहरू पुन: खोल्ने कदमलाई स्वागत गरेको बताएको छ।

उक्त नियोगले ट्वीट गर्दै लेखेको छ, "हरेक युवाको शिक्षामा समान पहुँच एकदमै महत्त्वपूर्ण छ।"

चिकित्सातर्फको तेस्रो वर्ष अध्ययनरत हेरातकी एकजना विद्यार्थीले बीबीसीलाई भने अनुसार उनीहरूलाई आफ्नो पढाइमा फर्कन अनुमति दिइए पनि शिक्षामा निरन्तर प्रतिबन्धहरू जारी छन्।

उनले चार घण्टा मात्र क्याम्पसमा जान पाउने छिन् त्यसपछिको बाँकी समय पुरुष विद्यार्थीलाई छुट्याइएको छ।

तालिबानले महिला भर्नालाई मुट्ठीभर पाठ्यक्रममा मात्र सीमित गर्न सक्छ भन्ने डर पनि कतिपयलाई छ।

काबुलकी एकजना सिभिल इन्जिनियरिङकी विद्यार्थीले हालै तालिबान शिक्षाका प्रवक्ताले महिला राजनीतिज्ञ वा इन्जिनियर बन्नुपर्ने कुनै कारण नभएको भनेको कुरा सुनेपछि आफू छक्क परेको बताइन्।

ती प्रवक्ताको तर्क थियो - यी कामहरू "पुरुषका हुन्।"

त्यस्तै काबुल विश्वविद्यालयको मानविकी सङ्कायमा भर्ना हुन चाहने विद्यार्थीले बीबीसीलाई बताए अनुसार तालिबानले महिलाहरूलाई मानविकी तर्फको डिग्रीका लागि आवेदन दिन देलान् कि नदेलान् भन्नेमा उनीहरू अनिश्चित छन्।

महिला र बालिकाका लागि भर्चुअल माध्यमबाट पाठ्यक्रमको पहुँच पुर्‍याउन अनलाइन हेरात स्कूल स्थापना गर्ने एङ्गेला घायोर पनि विश्वविद्यालय फेरि खुल्ने खबरप्रति शङ्का व्यक्त गर्छिन्।

तस्बिरको क्याप्शन, महिला र बालिकाका लागि भर्चुअल माध्यमबाट पाठ्यक्रमको पहुँच पुर्‍याउन अनलाइन हेरात स्कूल स्थापना गर्ने एङ्गेला घायोर

उनी भन्छिन्, "मलाई के लाग्छ भने तालिबानले पाठ्यक्रममा थप शरिया र इस्लामिक विषयहरू समावेश गर्नेछन्। बालिकाले अब खेल खेल्न पाउने छैनन्, उनीहरूले अझ धेरै शरीर ढाक्नु पर्नेछ।"

"म विश्वस्त छु कि तालिबानले शिक्षामा महिलालाई स्वतन्त्र छनोट गर्न दिने छैन र यो मेरो सबैभन्दा ठूलो डर हो। म साँच्चै डराएकी छु।"

"अहिलेकै अवस्थामा महिलाले स्नातकोपाधि पाए पनि उनीहरू कार्य क्षेत्रमा प्रवेश गर्न सक्ने छैनन्।"

बीबीसी हन्ड्रेड विमिनले हेरातस्थित विश्वविद्यालयबाट स्नातक गरेकी सोरयासँग पनि कुराकानी गरेको थियो।

उनले आफूले डिग्री पाए पनि जागिर भने पाउन नसक्ने बताइन्।

उनले भनिन्, "म साँच्चै घर छाड्न सक्दिन किनकि उनीहरू भन्छन्- महिलाले सबै वातावरणमा काम गर्नु हुँदैन वा महिला मात्र भएको वातावरणमा काम गर्नुपर्छ। तर पुरुषहरू नभेट्याइने खालका थोरै मात्र स्थानहरू छन्।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तालिबान गार्ड

अन्तर्राष्ट्रिय दबाव

तालिबान प्रतिनिधिमण्डलले गत साता नर्वेमा पश्चिमी अधिकारीसँग वार्ता गरेपछि सार्वजनिक विश्वविद्यालयहरू पुन: खोल्ने निर्णय बाहिर आएको हो।

उक्त वार्तामा पश्चिमा शक्तिले तालिबानलाई थप विदेशी सहायतामा पहुँच प्राप्त गर्न र विदेशमा रहेको अफगान सम्पत्ति खुला गर्नका लागि महिला अधिकार सुनिश्चित गर्न दबाव दिएका थिए।

सहायता रोकिँदा दशकौँको युद्धले ध्वस्त भइसकेको अफगानिस्तानमा मानवीय सङ्कटलाई झन् गहिरिएको छ।

संयुक्त राष्ट्रसङ्घले ९५ प्रतिशत अफगानसँग पर्याप्त खानेकुरा नभएको बताएको छ।

मजार शरीफस्थित चिकित्साशास्त्रकी एकजना विद्यार्थीले बीबीसीलाई भनिन्, "विश्वविद्यालय फर्कने कुरा अहिले मेरो प्राथमिकतामा छैन।"

तस्बिर स्रोत, Getty Images

"अहिले हामी भोकमरीमा छौँ। मेरो बुबा पहिलेको सरकारको लागि काम गर्नुहुन्थ्यो र तालिबान सत्तामा फर्किएदेखि उहाँ बेरोजगार हुनुहुन्छ। अहिले हामीसँग खानको लागि खानाकुरा छैन। बुबाले अब मेरो शिक्षाका लागि खर्च गर्न सक्नुहुन्न। मलाई किताब र कपडा किन्न आवश्यक छ ... तर हामीसँग पैसा छैन।"

विश्वविद्यालय फर्कन तयार भएकामा पनि वास्तविक प्रगति के होला भन्नेबारे मिश्रित भावना छन्।

फेब्रुअरी २७ देखि विश्वविद्यालयमा अध्ययनका लागि फर्कन लागेकी तखारकी एकजना विद्यार्थी भन्छिन्, "हामीले अध्ययनको धेरै समय गुमाएका छौँ। उनीहरू विश्वविद्यालय फेरि खोल्न चाहन्छन् भन्ने सुनेर म खुसी छु।"

"त्यहाँ नयाँ नियमहरू लागु गरिएका छन्। ती नियमलाई हामीले विश्वविद्यालयमा पालना गर्नुपर्ने छ। तर केही नियमहरूले मलाई असहज महसुस हुन्छ, जस्तै मलाई एकजना पुरुष संरक्षकले विश्वविद्यालय पुर्‍याउनु पर्छ।"

अफगानिस्तानमा विद्यालयहरू चलाउने र महिला तथा बालिकालाई दूरशिक्षा दिने लर्न अफगानिस्तानकी संस्थापिका पश्ताना दुर्रानी तालिबानको कब्जापछि अफगानिस्तान छाडेर अमेरिका जाने निर्णयमा पुगिन्।

उनको लागि यो समाचार पनि मिठोमा तितो मिसिएको जस्तो भएको छ।

तस्बिर स्रोत, Pashtana Durrani

तस्बिरको क्याप्शन, अफगानिस्तानमा विद्यालयहरू चलाउने र महिला तथा बालिकालाई रिमोट्ली पढाउने लर्न अफगानिस्तानकी संस्थापिका पश्ताना दुर्रानी तालिबानको कब्जापछि अफगानिस्तान छाडेर अमेरिका जाने निर्णयमा पुगिन्

उनी भन्छिन्, "यो शान्ति कायम गर्ने सङ्केत जस्तो लाग्छ र हामीले यसलाई स्वागत गर्नुपर्छ तर विश्वविद्यालय बन्द भएका कारणले देश छाडेर भाग्नु परेकी एक अफगान केटीका रूपमा मलाई दु:ख लागेको छ।"

दुर्रानीका भनाइमा उनीजस्तै उच्च शिक्षाका लागि भर्ना भएका उनका धेरै साथीहरूले अफगानिस्तान छाडेका छन्।

उनले भनिन्, "उनीहरूले विश्वविद्यालय खोले पनि देशले धेरै राम्रा मान्छे गुमाइसकेको छ।"

रदा चाहिँ अब आफ्नो पढाइमा ध्यान केन्द्रित गर्न चाहन्छिन् भलै उनी र उनका साथीहरूको भविष्य के हुन्छ भन्ने अनिश्चित किन नहोस्।

उनी भन्छिन्, "मेरा धेरै महिला सहपाठी (पहिलो दिनमा) देखा परेनन्। तर मलाई के आशा छ भने निकट भविष्यमा धेरै केटीहरू विश्वविद्यालय फर्कन सुरक्षित महसुस गर्नेछन्।"

*सहभागीको सुरक्षाका लागि केही नामहरू परिवर्तन गरिएका छन्।

बीबीसी अफगान सेवाका अलि हम्दानीको अतिरिक्त रिपोर्टिङ।