तान्जानियाः विषालु कछुवाको मासु खाँदा सात जनाको मृत्यु
तस्बिर स्रोत, Getty Images
तान्जानियाको पेम्बा द्वीपमा कछुवाको विषालु मासु खाँदा सात जनाको मृत्यु भएको छ।
मृतकमध्ये एक जना तीनवर्षे बच्चा पनि भएको बताइएको छ।
विषालु मासुका कारण बिरामी परेका अरू तीन जना अस्पतालमा छन्।
तान्जानियाका टापु र तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ। तर अधिकारीहरूले अहिले त्यसमा प्रतिबन्ध लगाएका छन्।
कछुवाको मासु विषाक्त हुने घटनालाई दुर्लभ मानिन्छ। तर कहिलेकाहीँ 'क्लेनोनिटक्सिजम'का कारण कछुवाको मासु विषालु बनिदिन्छ।
स्पष्ट कारण थाहा नभए पनि कछुवाले खाने विषालु लेउका कारण त्यसो हुन सक्ने टर्टल फाउन्डेशन नामक संस्थाले जनाएको छ।
अर्धस्वायत्त जन्जिबार द्वीप क्षेत्रमा पर्ने पेम्बाका पाँच परिवारले बिहीवार कछुवाको मासु खाएको स्थानीय प्रहरी अधिकारी जुमा सइद हामिसले बीबीसीलाई बताएका छन्।
त्यसको भोलिपल्ट उनीहरू बिरामी पर्न थाले। एक तीनवर्षे बच्चाको मृत्यु भएपछि शुक्रवार राति थप दुई जनाको र आइतवार चार जनाको ज्यान गयो।
प्रहरीका अनुसार ३८ जना लाई अस्पताल भर्ना गरिएकोमा अधिकांशलाई घर फिर्ता पठाइएको छ।
अहिले अस्पतालमा भएका बिरामीको अवस्था स्थिर भएको अधिकारीहरूले बताएका छन्।
ट्विटरमा लेख्दै जन्जिबारका राष्ट्रपति हुने मविन्यीले मृतकका परिवारलाई शोकसन्देश पठाएका छन्।
यो पनि पढ्नुहोस्
टर्टल फाउन्डेशनका अनुसार विषालु मासुले बालबालिका र वृद्धवृद्धालाई निकै नराम्रो गर्न सक्छ तर वयस्कहरूको पनि ज्यान जान सक्छ।
समाचारसंस्था एएफपीका अनुसार गत मार्च मार्च महिनामा म्याडग्यास्करमा कछुवाको विषालु मासु खाँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो।
इन्डोनेशिया, माइक्रोनेशिया र हिन्द महासागरका द्वीपहरूमा पनि त्यस्ता घटनाहरू भएका छन्।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन