तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्रिकेट नेपाल: महिला टोलीलाई पहिलो अन्तर्राष्ट्रिय शृङ्खला
कतारलाई लगातार दुई खेलमा पराजित गर्दै नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको छ।
नेपालले कतारलाई केहीबेरअघि सम्पन्न खेलमा ६१ रनले पराजित गरेको हो।
अघिल्लो दिन नेपालले ११९ रनको फराकिलो जित हात पारेर शृङ्खलामा १-० को अग्रता लिएको थियो।
तीन शृङ्खलाअन्तर्गत नेपालले अब अन्तिम खेल बिहीवार खेल्नेछ।
लामो इतिहास बोकेको भए पनि महिला क्रिकेट टोलीले यसअघि अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थिएन।
कप्तानको कीर्तिमान
नेपालले टस जितेर दोहास्थित वेस्ट इन्ड पार्क इन्टरन्याशनल क्रिकेट स्टेडियममा पहिले ब्याटिङ रोजेको थियो।
कप्तानका रूपमा रुबिना क्षेत्रीले नेतृत्व गरेको टोलीले उनको ५० रनको अर्धशतकीय पारीको सहयोगमा १२९ रन जोड्यो।
क्षेत्री टी-२० आईमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी पनि बनिन्। अघिल्लो दिन मात्र ईन्दु बर्माले ५५ रन जोड्दै अर्धशतक प्रहार गरेकी थिइन्।
अन्तिम ओभरसम्म खेलेकी उनले सो क्रममा ४८ बलको सामना गरी ४ चौका र १ छक्का प्रहार गरेकी थिइन्। अर्धशतक बनाएलगत्तै क्षेत्री क्याच आउट हुन पुगिन्।
नेपाली खेलाडीहरूले यसअघिका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अर्धशतक बनाइसकेको भए पनि त्यसबेला टोलीले टी-२० राष्ट्रको मान्यता पाएको थिएन।
सन् २०१८ मा नेपालले सो मान्यता पाएको हो। यसअघि ओपनर कविता कुँवरले ३१ रन बनाएर नेपाललाई गतिलो सुरुवात दिएकी थिइन्।
त्यस्तै अप्सरी बेगमले १७ बलमा अविजित २३ रन बनाइन्। जबाफमा कतारले सबै खेलाडी गुमाई ६८ रन मात्र जोड्न सक्यो।
अघिल्लो दिन उक्त टोली २७ रनमा अलआउट भएको थियो। टोलीकी कप्तान आयशाले २४ रन जोडिन्।
नेपालका सरस्वती कुमारीले सर्वाधिक ४ विकेट लिइन्। कतारको महिला क्रिकेट टोली नेपालभन्दा निकै कमजोर मानिन्छ।
हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको कतारले अहिलेसम्म जम्मा ४ वटा टी-२० क्रिकेट खेलेको छ।
नेपालसँगको यो शृङ्खलापछि कतार महिला क्रिकेटले पनि टी-२० अन्तर्राष्ट्रिय वरीयतामा समावेश हुने बताइएको छ।
विश्वकप अभ्यास
अर्को हप्ता यूएईमा हुन लागेको टी-२० विश्वकप क्रिकेटको एशियाली छनोटअगाडि नेपालले खेलेको यो महत्त्वपूर्ण शृङ्खला हो।
विश्वकपको अभ्यास खेलका रूपमा रहेको कतार भ्रमणमा प्रशिक्षक जगत् टमाटाले खेलाडीहरूको मूल्याङ्कन गरिरहेका छन्।
आजको खेलमा अर्धशतक बनाएकी ईन्दु बर्मा र सीता राना मगरलाई भने उक्त टोलीमा समावेश गरिएको छैन।
यी दुईले पहिलो खेलमा दोस्रो विकेटका लागि ८८ रनको कीर्तिमानी साझेदारी गरेका थिए। उनीहरूको स्थानमा ज्योति पाण्डे र शबनम राईलाई मौका दिइएको थियो।
जसमा ओपनिङको जिम्मेवारी पाएकी पाण्डेले ६ रन मात्र जोड्न सकिन्। शबनम राईले एक विकेट लिइन्।
कतार भ्रमण गर्नुअघि नेपाली टिम बाङ्गलादेश भ्रमणमा पुगेको थियो जहाँ बाङ्गलादेशको कृरा शिक्षा प्रतिष्ठानसँग तीनवटा टी-२० खेलेको थियो।
एशिया छनोट प्रतियोगिता नोभेम्बर २२ तारिखदेखि सुरु हुँदै छ। त्यहाँ नेपालले भुटान, हङकङ, कुवेत, मलेसिया र यूएईको सामना गर्नेछ।
त्यसको शीर्ष टोली विश्वकपको ग्लोबल क्वालिफायरमा खेल्नका लागि छनोट हुनेछ।