मलाला युसुफजाईः बिहेको खबरपछि व्यक्तिगत जीवनबारे सामाजिक सञ्जालमा उठेका प्रश्न

तस्बिर स्रोत, Malin Fezehai - Twitter @ Malala/via REUTERS

तस्बिरको क्याप्शन, मलाला युसुफजाई र असेर मलिकले नोभेम्बर ९ मा निकाह गरेका थिए

बालिकालाई शिक्षा दिनुपर्छ भनेर अभियान चलाउँदै आएकी नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यो साता आफ्नो बिहेका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेपछि पाकिस्तानमा धेरै मानिसले खुसी हुँदै आश्चर्य प्रकट गरेका छन्।

उनीहरूमध्ये कैयौँको प्रश्न थियो- मलालाका श्रीमान् को हुन् र उनी के गर्छन्?

तर कैयौँका लागि परम्परागत बिहेको सन्दर्भ वा निकाहमा गरिएको शृङ्गारभन्दा विवाह किन र कहिले भयो भन्नेमा बढी रुचि थियो।

मलालाको बिहे कैयौँका लागि एउटा सुखद आश्चर्य थियो।

मानिसहरूले सामाजिक सञ्जालमा मलालाको बिहेबारे टिप्पणी गरे र अझै गरिरहेका छन्।

तर त्यसले विवाहसम्बन्धी अर्को बहस पनि सुरु भएको छ। एउटी सामाधारण युवतीले बिहे गर्दा उनले के कुरामा ध्यान पुर्‍याउनुपर्छ भन्ने विषयमा बहस।

तस्बिर स्रोत, Twitter/@Malala

मलालाले बिहेबारे कस्तो पहिला के भनेकी थिइन्?

पहिला मलालाले बिहेबारे के भनेकी थिइन् त्यसको स्मरण गरौँ।

भोग पत्रिकालाई गत जुलाईमा दिएको अन्तर्वार्तामा मलालाले भनेकी थिइन्, "मानिसहरू किन विवाह गर्नैपर्छ भन्छन् त्यो म अझै बुझ्दिनँ।"

"यदि तपाईँ कसैलाई आफ्नो जीवनमा चाहनुहुन्छ भने किन विवाहको पत्रमा हस्ताक्षर गर्नुपर्‍यो? जोडी मिलेर मात्र बस्न किन नसकिने?"

तर आफ्नी आमाले 'त्यस्तो कुरा गर्दै नगर! तिमीले विवाह गर्नुपर्छ, विवाह सुन्दर कुरा हो' भन्ने गरेको उनले बताएकी थिइन्।

तस्बिर स्रोत, Malin Fezehai - Twitter @Malala/via REUTERS

तस्बिरको क्याप्शन, वैवाहिक समारोहको तस्बिर मलालाले ट्विटरमा प्रेषित गरेकी थिइन्

उनको विवाहको खबरलाई दशौँ हजार प्रशंसकले अनलाइनमा मन पराएका छन् र हजारौँले नवदम्पतीलाई शुभकामना दिएका छन्।

चर्चित बाङ्ग्ला लेखिका तसलिमा नसरीनले भने एक कदम अगाडि बढेर भनेकी छन्: "मलालाको बिहेको खबर सुनेर म अचम्भीत भएकी छु। उनी जम्मा २४ वर्षकी छन्। मैले सोचेकी थिएँ उनी अक्सफर्ड पढ्न गएकी छन्। उनी एक सुन्दर प्रगतिवादी अङ्ग्रेज व्यक्तिसँग प्रेममा पर्नेछिन् र ३० वर्ष पुगेपछि मात्र बिहे गर्नेछिन्। तर…।"

तस्बिर स्रोत, Twitter

महा खलिदले तसलिमा नसरीनलाई जबाफ दिएकी छन्।

"म त अन्योलमा परेकी छु। कि यी तपाईँकै विचार हुन् वा तपाईँ ठट्टा गरिरहनुभएको छ? यदि ठट्टा हो भने त - हा हा। तर होइन भने उनको जीवन हो, उनको रोजाइ हो। हामी सब एक दिन ठूला हुन्छौँ र कसैको प्रेममा पर्छौँ। कसैले पनि जनमानसमा आफ्नो व्यक्तिगत रोजाइका लागि स्पष्टीकरण दिनुपर्दैन।

तस्बिर स्रोत, Mahakhalid/twitter

अनि अनुसन्धानकर्ता अमार रशिदले पनि तसलिमा नसरीनलाई जबाफ दिँदै लेखेका छन्, "मलाला तपाईँका लागि चित्र बनाउने क्यान्भास होइनन् जहाँ तपाईँ आफ्नो सिद्धान्तले प्रेरित सपनाहरू पोख्ने गर्नुहुन्छ। यो त अलि अनौठो भयो।"

रशिदले नातेदारले जसरी अनावश्यक चासो दिन छोडेर मलाला र उनका जीवनसाथीलाई शान्तपूर्वक बस्न दिन नसरीनसँग आग्रह गरेका छन्।

तस्बिर स्रोत, Twitter

त्यसपछि तसलिमा नसरीनले महिलाहरूले आफू आर्थिक रूपमा सशक्त नभई बिहे गर्नु नहुने लेखेकी छन्।

अनि फेर उनलाई प्रतिप्रश्न सोधिएको छः यदि दुई जनाले राम्रै कमाइ गरिरहेका छन् भने के समस्या भयो?

निदा किर्मानीले त्यस्तो बहसबाट आफू वाक्क भएको टिप्पणी गरेकी छन्।

"तपाईँलाई पनि त्यस्तै भयो होला भन्ठान्छु। तर एक व्यक्ति र एक संस्थाको आलोचना फरक कुरा हुन्। कैयौँ नारीवादी र नारीवादी नहुनेहरू पनि बिहे त गर्छन्। म त त्यसका आधारमा कसैबारे धारणा बनाउँदिनँ। म त त्यो प्रणालीबारे धारणा राख्छु जसले अन्य सबै सम्भावनालाई नकार्छ।"

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बालिका शिक्षा अभियान चलाउन मलाला संसारका धेरै ठाउँ पुगेकी छन्

महिला अधिकार क्षेत्रमा काम गर्दै आएका सामाजिक अभियन्ता नायब गोहरले बीबीसीलाई भनिन्ः मलाला या सार्वजनिक छवि भएका व्यक्तिले बिहे गर्दा हामी छलफल गर्छौँ। "त्यसो गर्ने क्रममा हामी कसैको व्यक्तिगत जीवनबारे कुरा गरिरहेका छौँ भन्ने बिर्सन्छौँ। यसलाई कसैको सिद्धान्तको प्रचारप्रसारको माध्यम बनाइनुहुँदैन।"

तर उनी बिहे गर्ने कुरामा दबाव दिइने गरेको कुरा मान्छिन्।

केही उपलब्धि हात पारिसकेका महिलाहरू त्यस्तो दबावमा नपर्ने उनको भनाइ छ।

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले पाकिस्तानी क्रिकेटका एक जना व्यवस्थापक असेर मलिकसँग यूकेको बर्मिङ्गममा इस्लामिक परम्पराअनुरूप गत मङ्गलवार निकाह गरेकी हुन्।

मलालाले त्यो दिन आफ्ना लागि "विशेष दिन" रहेको बताएकी थिइन्।

को हुन् मलाला?

बीबीसी उर्दूका मलाला तालिबानको प्रभाव रहेको पश्चिमोत्तर पाकिस्तानमा बालिका शिक्षाबारेका मर्मस्पर्शी ब्लग लेखेपछि चर्चामा आएकी हुन्।

स्कूल बसमा बसेका बेला सन् २०१२ मा उनको टाउकोमा एक लडाकुले गोली हानिदिएका थिए। त्यसपछि उनको चर्चा विश्वभरि भयो।

तस्बिर स्रोत, AFP

पाकिस्तानबाट उनी विशेष उपचारका लागि यूके गएकी थिइन्।

त्यसको दुई वर्षपछि उनी नोबेल शान्ति पुरस्कार पाउने सबभन्दा कम उमेरकी व्यक्ति बनिन्।

बाबुआमाको समर्थन र प्रोत्साहनमा मलाला बालिकाका लागि शिक्षा अभियानमा सहभागी भएकी हुन्।

सन् २००९ मा उनीबारे एउटा डकुमेन्ट्री बनाइएको थियो। त्यसपछि उनले थुप्रै पुरस्कार हात पारिन्।

बर्मिङ्गमामा उपचारका लागि आएपछि उनी यूकेमै बस्न थालिन्। उनले त्यहीँ आफ्नो शिक्षालाई निरन्तरता दिइन्।

सन् २०१७ मा उनले अक्सफर्ड विश्वविद्यालयमा भर्ना पाइन् र गत वर्ष अध्ययन पूरा गरिन्।

उनले आफ्नो वेबसाइटमा अब अध्ययन पूरा गरेपछि पनि आफू बालिका शिक्षा अभियानमा लागिरहने लेखेकी छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, पाकिस्तानमा मलाला