आप्रवासी सङ्कटलाई लिएर युरोपमा ग्यास आपूर्ति रोकिदिने बेलारुसको धम्की
तस्बिर स्रोत, Reuters
बेलारुसका राष्ट्रपतिले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्धहरू लगाइएमा युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिएका छन्।
बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली सङ्घ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन्।
ईयू अधिकारीहरूले बेलारुसलाई उक्त सङ्कटलाई उचालेर सुरक्षा अवस्था बिगारेको आरोप लगाएका छन्।
तर मिन्स्कले त्यसलाई अस्वीकार गर्दै आएको छ।
जसविरूद्ध ईयूले नयाँ प्रतिबन्धहरूको तयारी गरिरहेको खबरहरू सार्वजनिक भइरहेका छन्।
बेलारुसको धम्की
बेलारुसमा लामो समयदेखि सत्तामा रहेका नेता एलेक्जेन्डर लुकासेन्कोले एउटा चेतावनी दिँदै 'प्रतिबन्ध लगाइएमा आफूहरूले जवाफ दिनुपर्ने' बताएका छन्।
बेलारुस हुँदै ईयू जाने रुसी ग्यास पाइपलाइनलाई सङ्केत गर्दै उनले भने, "हामीले उनीहरूलाई न्यानो पारिरहेका छौँ र उनीहरूले हामीलाई धम्क्याइरहेका छन्।"
उनको थप भनाइ थियो, "हामीले ग्यास आपूर्ति रोकिदियौँ भने के होला? त्यसैले पोल्याण्ड, लिथुआनिआका नेतृत्व र अन्य खाली हात बसेका मानिसहरूलाई बोल्नुअघि सोच्न म सुझाव दिन्छु।"
लुकासेन्कोको अभिव्यक्तिले युरोपमा अहिले नै अभाव र उच्च मूल्यमा रहेको ग्यासलाई लिएर नयाँ चिन्ता उत्पन्न भएको छ।
सुरक्षा परिषद्मा आलोचना
राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पश्चिमा सदस्य राष्ट्रहरूले पोल्याण्डसँगको सीमामा उत्पन्न आप्रवासी सङ्कटबारे बोल्दै बेलारुसका कदमको आलोचना गरेका छन्।
ती देशहरूले बेलारुसमाथि 'मानिसहरूलाई वस्तुको रूपमा प्रयोग गरेर सङ्कट मञ्चन गरिएको' आरोप लगाएका छन्।
आफ्नै मानव अधिकार हननका घटनाबाट अन्यत्र ध्यान मोड्न र युरोपेली सङ्घको सीमालाई अस्थिर पार्न बेलारुसले अग्रमोर्चामा आप्रवासीहरूलाई पठाएको उनीहरूको आरोप थियो।
तस्बिर स्रोत, EPA
उनीहरूले एउटा संयुक्त वक्तव्यमा बेलारुसका त्यस्ता कदम 'अस्वीकार्य' हुने बताए।
रुसले भने पश्चिमा आरोपहरू अस्वीकार गरेको छ र उसले यस विषयमा ईयूले आफ्नो दोहोरो मापदण्ड प्रस्तुत गरेको जनाएको छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन