जलवायु परिवर्तन: मानवीय गतिविधिका कारण कार्बन उत्सर्जन गर्दै जङ्गलहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रजातान्त्रिक गणतन्त्र कंगोको भिरुङ्गा राष्ट्रिय निकुञ्जमा मानिसहरूले रुख काटेर खेती गर्ने कार्य बढाएका छन्
    • Author, भिक्टोरिया गिल
    • Role, विज्ञान संवाददाता, बीबीसी न्यूज

संसारका दश संरक्षित वन क्षेत्र मानव गतिविधि र जलवायु परिवर्तनका कारण क्षयीकरण हुँदै जाँदा तिनीहरू कुल कार्बन उत्सर्जक बन्न पुगेका देखिएको छ।

विश्व सम्पदा सूचीमा रहेका जङ्गलबाट उत्सर्जन हुने र जङ्गलले सोस्ने पृथ्वी तताउने ग्यासहरूमाथि गरिएको एक अध्ययनबाट यस्तो चिन्ताजनक विवरण आएको हो।

उक्त अध्ययनले त्यस्ता १० संरक्षित जङ्गलहरूबारे प्रष्ट पारेको छ जसले विगत २० वर्षको अवधीमा कार्बन सोस्ने भन्दा बढी उत्सर्जन गरेका थिए।

विश्व सम्पदा भनेर घोषित वनजङ्गलको क्षेत्रफल जर्मनीको भन्दा दोबर रहेको छ।

उक्त अध्ययनले नै विश्वभरिका २५७ वटा सूचीकृत जङ्गलहरूको सञ्जालले प्रत्येक वर्ष वायुमण्डलबाट समग्रमा करिब १९ करोड टन कार्बन हटाउने पनि खुलासा गरेको छ।

"यूकेले जीवाष्म इन्धनबाट वार्षिक रुपमा गर्ने कार्बन उत्सर्जनको यो झण्डै आधा हो," युनेस्कोमा कार्यरत तथा यो अध्ययनका सहलेखक डाक्टर टेल्स कारभल्हो रिसेन्डीले भने।

"जलवायु परिवर्तनको असरलाई कम गर्न यी जङ्गलहरूले कति महत्त्वपूर्ण भूमिका खेल्छन् भन्ने अहिलेसम्मकै विस्तृत दृश्य अब हामीसँग छ।" 

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, क्यालिफोर्नियाका अत्यन्तै पुराना यी रुखहरू डढेलोले सखाप पारे

तर जङ्गलहरूमा अहिले मानवीय गतिविधिका कारण अत्यधिक मात्रामा दबाब परेको छ। त्यस्ता दबाबमा गैरकानुनी रूख कटान, खेतीको विस्तार र डढेलो रहेका छन्।

अनुसन्धानकर्ताहरूले विश्व सम्पदा सूचीमा रहेका जङ्गलहरूले सन् २००१ देखि २०२० सम्ममा कति कार्बन उत्सर्जन गरे र कति सोसे भन्ने आकलन भूउपग्रहबाट लिइएको तथ्याङ्क र जङ्गलक्षेत्रमा गरिएको अनुगमनको सूचनाका आधारमा गरेका हुन्।

यी रूख र वनस्पतिले अर्बौं टन कार्बन सोसेको हिसाब गरे पनि उनीहरूको अध्ययनले यी वन क्षेत्र कति दबाबमा छन् भन्ने पनि खुलासा गरेको छ।

विश्वका लागि यिनीहरूको विश्वव्यापी प्राकृतिक मूल्य अति महत्त्वपूर्ण छ र यसको निरन्तर र निकट रुपमा अनुगमन भइरहेको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, श्रीलङ्काको सिगिरिया पनि विश्व सम्पदा सूचीमा सूचीकृत छ

"तर अझै ती जङ्गलहरू उल्लेख्य रुपमा दबाबमा छन्," डाक्टर कारभल्हो रिसेन्डी भन्छन्।

"मुख्य दबाब भनेको मानिसहरूले कृषिका लागि गर्ने अतिक्रमण र गैरकानुनी रूख कटान हो।"

"तर हामीले जलवायु परिवर्तनसँग सम्बन्धित कारणले जङ्गलमा लाग्ने डढेलोहरूले पनि दबाब दिइरहेको पाएका छौं।"

'दुष्चक्र'

हालैका वर्षहरूमा साइबेरिया, अमेरिका, अस्ट्रेलियामा याद हुने तरिकाले नै "पहिला कहिल्यै नदेखिएका डढेलो" देखापरेको युनेस्कोले जनाएको छ। यी डढेलोका कारण दशौँ लाख टन कार्बन डाइअक्साइड उत्सर्जन हुन पुगेको छ।

"यो एउटा दुष्चक्र हो," डाक्टर कारभल्हो रिसेन्डीले भने।

"धेरै कार्बन उत्सर्जनको अर्थ धेरै डढेलो र त्यसको अर्थ धेरै कार्बन उत्सर्जन हो।"

तर जङ्गलमा लाग्ने डढेलो मात्रै जलवायु परिवर्तनले दिएको त्रास होइन।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इण्डोनेशियामा पनि रुख कटान र जङ्गललाई खेतमा परिवर्तन गर्दा त्यसले कार्बन उत्सर्जनलाई योगदान गरिरहेको छ

सन् २००१ देखि २०२० सम्म कुल कार्बन उत्सर्जनमा योगदान पुर्याउनेमा विश्व सम्पदा सूची रहेका इण्डोनेशिया, होन्डुरस, अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, मलेसिया, रसिया, मंगोलिया, अस्ट्रेलियालगायतका देशका जङ्गल तथा पार्कहरू पर्छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डोमिनिकाको यो राष्ट्रिय निकुञ्जको पाँचमध्ये एक भागमा सन् २०१७ मा आएको हुरिकेन मारियाले क्षति पुर्‍याएको थियो

'खतरनाक सन्देश'

मारिया नामक आँधीले सन् २०१७ मा डोमिनिकाको मोर्न ट्र्वा पिटोन न्याश्नल पार्कको करिब २० प्रतिशत क्षेत्रमा क्षति पुर्‍याएको थियो।

"यो अध्ययनले खतरनाक सन्देश दिएको छ," डाक्टर कारभल्हो रिसेन्डी भन्छन्।

"विश्वका एकदमै राम्रो सँग र धेरै संरक्षित रुपमा राखिएकै जङ्गल क्षेत्रहरू पनि विश्वव्यापी जलवायु परिवर्तनको सङ्कटको त्रासमा छन्।

"त्यसैले विश्वव्यापी उत्सर्जन कटौती गर्ने कदमहरू अहिले चाल्न साँच्चै आवश्यक छ। त्यसका लागि यी जङ्गलहरू र सबै जङ्गलहरूले कार्बन सोस्ने आफ्नो कार्य निरन्तर गर्न सकुन् र जैविक विविधताका लागि एउटा महत्त्वपूर्ण क्षेत्र बन्न सकुन्।