उत्तर कोरियाः पूर्वी सागरमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार भएको दक्षिण कोरियाको दाबी
तस्बिर स्रोत, Reuters
उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ। छ महिनापछि फेरि प्योङ्याङले बलिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको हो।
दक्षिण कोरिया र चीनले उत्तर कोरियालाई निरस्त्रीकरणसम्बन्धी वार्तामा फिर्ता ल्याउने प्रयास गर्न वार्ता गरिरहेको बेला क्षेप्यास्त्र परीक्षण भएको हो।
केही दिनअघि पनि उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो।
यसबाट प्योङ्याङले अस्त्र विकास र निर्माणको कामलाई निरन्तरता दिएको देखिन्छ।
विज्ञहरूका अनुसार अस्त्र निर्माण गर्ने प्रविधिमा सुधार गर्न र अमेरिकासँग वार्ताका लागि आफ्नो हात माथि राख्न प्योङ्याङले त्यस्तो परीक्षण गर्ने गरेको छ।
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क्षेप्यास्त्र प्रहारको आलोचना गर्दै त्यसले उक्त क्षेत्रमा शान्ति र सुरक्षालाई खतरामा परेको टिप्पणी गरेका छन्।
यो साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको दोस्रो पटक हो।
अहिले प्रहार गरिएका क्षेप्यास्त्रको लक्ष्य वा उडान दूरीबारे स्पष्ट जानकारी छैन।
तस्बिर स्रोत, KCNA
तर दक्षिण कोरियाको सेनाको सर्वोच्च निकायले आफ्नो सेना "अमेरिकासँगको सहकार्यमा पूर्ण तयारीको अवस्थामा बसेको" जनाएको छ।
बलिस्टिक क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाको परमाणु गतिविधि नियन्त्रण गर्ने संयुक्त राष्ट्रसङ्घीय सङ्कल्प प्रस्तावविरुद्ध छ।
गत सोमवार पनि उत्तर कोरियाले लामो दूरीको क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो। उक्त क्षेप्यास्त्रले जापानसम्म मार हान्न सक्ने बताइएको छ।
प्योङ्याङले उक्त क्षेप्यास्त्रलाई "ठूलो महत्त्वको रणनीतिक अस्त्र" भनेको छ।
विज्ञहरूका अनुसार उक्त क्रूज क्षेप्यास्त्रले सम्भवतः परमाणु युद्धशीर्ष बोक्न सक्छ।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले क्रूज क्षेप्यास्त्रको परीक्षण गर्न रोक्दैन।
बलिस्टिक क्षेप्यास्त्र किन बढी खतरनाक?
राष्ट्रसङ्घले बलिस्टिक क्षेप्यास्त्रलाई बढी खतरनाक मानेको छ।
किनभने तिनले ठूला र अझ शक्तिशाली "पेलोड" अर्थात् "विस्फोटक युद्धशीर्ष" बोक्न सक्छन् अनि तिनको मार हान्ने क्षमता र गति पनि धेरै हुन्छ।
खाद्यान्नको अभाव तथा चरम आर्थिक सङ्कट खेपिरहेको उत्तर कोरियाले कसरी अस्त्र निर्माण गर्न पैसा जुटाइरहेको छ भनेर प्रश्न उठ्ने गरेको छ।
कोरोनाभाइरस महामारी फैलिएदेखि उक्त राष्ट्र एक वर्षभन्दा बढी समयदेखि बाँकी संसारबाट अलग्गिएको छ। उसले चीनसँगको सीमा पनि बन्द गरेको छ।
उत्तर कोरियाको अस्त्र कार्यक्रम तथा निरस्त्रीकरणबारे अवरुद्ध संवाद पनि उनीहरूको वार्ताको विषय हुने अनुमान गरिएको छ।
यो वर्ष मार्चमा प्योङ्याङले प्रतिबन्ध उल्लङ्घन गर्दै बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्दा अमेरिका, जापान र दक्षिण कोरियाले त्यसको चर्को आलोचना गरेका थिए।
तस्बिर स्रोत, EPA/YONHAP
प्लूटोनीअम उत्पादनप्रति चिन्ता
गत महिना राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा निकाय (आईएईए) ले उत्तर कोरियाले एउटा परमाणु रीयाक्टर पुनः सञ्चालनमा ल्याएको जस्तो देखिएको बताउँदै चिन्ता व्यक्त गरेको थियो।
उक्त केन्द्र पारमाणविक अस्त्रका लागि आवश्यक प्लूटोनीअम उत्पादन गर्न सक्षम मानिन्छ।
आईएईएका अनुसार यङब्युन रीयाक्टरले जुलाई महिनादेखि नै चिस्यान गर्ने पानी फालिरहेको सङ्केत फेला परेको थियो। उक्त केन्द्र सन् २०१८ देखि निष्क्रिय थियो।
भूउपग्रहमार्फत् सो पारमाणविक केन्द्रको पर्यवेक्षण गर्ने गरेको आईएईएले पछिल्लो विकासक्रमलाई गहिरो चिन्ताको विषयको रूपमा अर्थ्याएको छ।
तस्बिर स्रोत, Getty Images
साथै सुरक्षा परिषद्ले पारित गरेका सङ्कल्प प्रस्तावहरूको पनि त्यसबाट उल्लङ्घन भएको आईएईएले जनाएको छ।
सन् २००९ मा उत्तर कोरियाले आईएईएका पर्यवेक्षकहरूलाई फिर्ता पठाइदिएको थियो।
गत ज्यानुअरीमा उत्तर कोरियाली नेता किम जङ-अनले देशको पारमाणविक क्षमतामा आधुनिकीकरण गर्न चाहेको बताएका थिए।
प्योङ्याङले प्लूटोनीअम उत्पादन थालेकै हो भने त्यसले अमेरिकी राष्ट्रपति जो बाइडनका निम्ति एउटा ठूलो वैदेशिक सम्बन्धबारेको सङ्कट निम्त्याउन सक्नेछ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन