कोभिड नेपाल: जापानबाट आस्ट्राजेनेका खोप आएको 'दुई दिनमै वितरण सुरु'

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जापानबाट आइतवारसम्ममा आठ लाख ‍मात्रा खोप आइपुग्ने अधिकारीहरूले बताएका छन्

जापानले उपलब्ध गराउने कोभिडविरुद्धको आठ लाख मात्रा आस्ट्राजेनेका खोप नेपाल आएको दोस्रो दिनबाटै ज्येष्ठ नागरिकहरूलाई बाँड्न थालिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले बीबीसीलाई बताएका छन्।

परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बीबीसीसँग भने, "पहिलो दिन आउन नै समय लाग्छ। दुई दिनपछि हामी काठमाण्डू उपत्यकालगायत वाग्मती प्रदेशका जिल्लाहरूमा सुरु गर्न सक्छौँ।"

उनले थपे, "सुरुवात त्यसरी गर्छौँ र हामीलाई कति प्राप्त हुन्छ त्यो हेरेर पाँच दिनभित्र बाँकी प्रदेशमा हामी खोप वितरण सुरु गर्न सक्छौँ।"

जापानले उपलब्ध गराउन लागेको कोभिड खोप भारतमा उत्पादित कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने सरकारले यसअघि नै बताएको छ।

जापानबाट पहिलो खेपमा कति खोप?

जापानमा उत्पादित आस्ट्राजेनेका खोप बिहीवार र शुक्रवार नेपाल पठाउन लागिएको बुधवार काठमाण्डूस्थित जापानी राजदूतावासले जनाएको थियो।

उसले जापान सरकारले प्रतिबद्धता जनाएको १६ लाख खोपमध्ये आठ लाख खोप शनिवार र आइतबार नेपाल आइपुग्ने आफ्नो अपेक्षा रहेको उल्लेख गरेको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नेपाललाई १६ लाख खोप उपलब्ध गराउने प्रतिबद्धता जापानले गरेको छ

नेपालस्थित जापानी राजदूत किकुटाले उक्त खोपको द्रुत ढङ्गले सदुपयोग हुने विश्वास व्यक्त गरेका छन्।

बाँकी खोप सम्बद्ध संस्थासँगको सहकार्यमा नेपाललाई उपलब्ध गराइने जापानी राजदूतावासको भनाइ छ।

सरकारले यसअघि पहिलो मात्रा कोभिशील्ड खोप लगाएका ज्येष्ठ नागरिकहरूलाई सो जापानी खोप उपलब्ध गराउने तयारी गरिरहेको छ।

पहिलो मात्रा कोभिशील्ड लगाएर दोस्रो मात्राको प्रतीक्षा गरिरहेकाको सङ्ख्या झन्डै पौने १४ लाख भएको अधिकारीहरूले बताउँदै आएका छन्।

तर कतिपयले पहुँच वा अन्य उपायबाट खोप लगाइसकेको हुनसक्ने भएकाले १२ लाख देखि १३ लाख मात्रा खोप ज्येष्ठ नागरिकलाई पर्याप्त हुने ठानिएको छ।

नेपाली अधिकारी के भन्छन्?

खोप कार्यक्रम हेर्ने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेल जापानबाट प्राप्त हुने खोप केन्द्रमा भण्डारण गरेर नराखिने बताउँछन्।

उनले भने, "पहिला भेरो सेल खोप आउँदा पनि हामीले वाग्मती, त्यसपछि गण्डकी र लुम्बिनी प्रदेशमा सुरु गरेका थियौँ। अहिले पनि यो तीन वटा प्रदेशमा गर्न सकिने सङ्ख्यामा उपलब्ध भयो भने हामी त्यसै गर्छौँ। क्रमशः आउँदै गयो भने बाँकी प्रदेशमा पठाइदिन्छौँ।"

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भारतले कोभिशील्ड निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालको खोप अभियान प्रभावित भएको थियो

उनले भुटानबाट अस्ट्राजेनेका खोप पैँचो मागिएको उल्लेख गर्दै त्यो प्राप्त हुने मिति भने अहिलेसम्म थाहा हुन नसकेको बताए।

"भुटानबाट पनि त्यही समयमा आइपुग्यो भने हामीलाई लगभग सबै प्रदेशमा पठाउन पुग्छ। नत्र भने जति वटालाई पुग्छ त्यहाँ पठाउँछौँ। कतिपय प्रदेशले अहिले अरू खोप अभियान सञ्चालन गरिरहेका छन्, तिनीहरूलाई हामी हाम्रो क्षमता र सङ्ख्याका आधारमा क्रमशः पठाइदिन्छौँ।"

चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाउने अभियान आगामी साउन २२ गतेबाट सुरु हुने भन्दै उनले खोप भण्डारणको समस्या नरहेको बताए।

डा. पोखरेलका अनुसार साउन मसान्तसम्ममा भेरो सेल र जोनसन एन्ड जोनसन दुवै खोपको मौज्दात सकिनेछ।

विज्ञ के भन्छन्?

राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य तथा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. जीडी ठाकुर खोपहरू नेपाल आइपुग्नेबित्तिकै प्रदेशहरूमा पनि पठाउन आफूहरूले सुझाव दिएको बताउँछन्।

उनले भने, "धेरै प्रदेशहरूमा भण्डारणको व्यवस्था रहेकाले आउनेबित्तिकै प्रदेशहरूमा पनि पठाइदिनुपर्छ। प्रदेशमा पनि भण्डारण गर्ने होइन, खोप केन्द्रहरूमा पठाएर तुरुन्तै वितरण गर्नुपर्छ। त्यसो गर्न सकियो भने जनताले पनि खोप पाउँछन्, नियमित खोप कार्यक्रम पनि प्रभावित हुँदैन।"

उनले आफ्नो समितिले उच्च जोखिममा रहेका उमेर समूहका व्यक्तिहरूलाई सबैभन्दा बढी प्राथमिकता दिएर खोप वितरण गर्न सुझाव दिएको पनि दोहोर्‍याए।

ठाकुर थप्छन्, "बहिष्करणमा परेका चेपाङ, कुसुन्डालगायतका समुदायहरूलाई पनि पहिलो प्राथमिकतामा राखेर खोप लगाइदिनुपर्छ भनेर छलफल भएको छ।"

"उच्च जोखिममा रहेका बसमा काम गर्ने व्यक्ति, सफाइकर्मी र छुटेका अग्रपङ्क्तिमा खटिनेलाई खोप दिनुपर्छ भनेर पहिले नै हामीले सुझाव दिएका छौँ।"

अहिलेसम्म कति जनाले खोप लगाएका छन्?

बुधवार अपराह्नसम्मको सरकारी तथ्याङ्कअनुसार नेपालमा २० लाख ७४ हजार जनाभन्दा बढीले पूर्ण मात्रा खोप लगाएका छन्।

पहिलो मात्रा मात्रै खोप लगाउनेको सङ्ख्या ४२ लाख ९७ हजारभन्दा बढी छ।

तस्बिर स्रोत, Chinese Embassy Nepal

तस्बिरको क्याप्शन, भेरो सेल खोपको दुवै मात्रा ७ लाख ३२ हजार भन्दा धेरैले लगाएका छन्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाअनुसार पहिलो मात्रा कोभिशील्ड लगाउनेको सङ्ख्या १८ लाख २८ हजारभन्दा बढी छ भने दुवै मात्रा लगाउनेको सङ्ख्या चार लाख ६० हजारभन्दा धेरै छ।

चीनमा उत्पादित भेरो सेल खोपको दुवै मात्रा ७ लाख ३२ हजार भन्दा धेरैले लगाएका छन् भने २४ लाख ६९ हजार भन्दा बढीले पहिलो मात्रा लगाएका छन्।

अमेरिकी जोनसन एन्ड जोनसन खोप लगाउनेको सङ्ख्या ८ लाख ८१ हजार नाघेको बताइएको छ।

अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

नेपालले कति खोप प्राप्त गरेको छ?

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार जोनसन एन्ड जोनसन खोप उपलब्ध गराएको छ

अनुदान र खरिद गरी ९७ लाख ८२ हजार खोपको मात्रा प्राप्त भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै साता बताएको थियो।

आगामी असोज महिनासम्म थप एक करोड २ लाख खोप प्राप्त हुने उसले उल्लेख गरेको थियो।

त्यसमा जापान र चीनले अनुदानमार्फत् दिने खोप र चीनबाट खरिद गरिएको ६० लाख भेरो सेल खोप पनि समेटिएको छ।

नवनियुक्त स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठले आगामी माघ मसान्तसम्म ४० लाख मोडेर्ना र ६० लाख फाइजरसहित तीन करोड २३ लाख खोपको मात्रा भित्र्याइने उल्लेख गरेका छन्।

पौष र माघ महिनासम्म प्राप्त हुने खोपको सङ्ख्या पाँच करोड २२ लाख पुग्ने उनको अपेक्षा छ।

त्यसमा खोपसम्बन्धी विश्वव्यापी अभियान कोभ्याक्सबाट अनुदान र खर्च बेहोरेर प्राप्त हुने भनिएको दुई करोड २३ लाख मात्रा पनि समाविष्ट छ।