कोभिड नेपालः के ब्रिटिश पत्रिकाले दाबी गरे झैँ नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट फेला परेको हो

तस्बिर स्रोत, TIM VERNON / SCIENCE PHOTO LIBRARY

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ३ मिनेट

ब्रिटेनको एउटा पत्रिकाले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार छापेपछि त्यसबारे विभिन्न चर्चापरिचर्चा सुरु भएको छ।

कतिपयले 'सनसनीपूर्ण' समाचार बनाइएको भन्दै खासगरी सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना गरेका छन्। डेली मेल पत्रिकाले छापेको समाचारबारे बीबीसी न्यूज यूकेले पनि चर्चा गरेको छ।

नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरिअन्ट "ब्रिटिशहरूको बिदाका निम्ति खतरनाक हुन सक्ने" सामाचारमा दाबी गरिएको छ।

"नेपालबाट सुरु भएको ठानिएको नयाँ प्रकार युरोपमा पनि फैलिसकेको र तिनमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशङ्का रहेको" समाचारमा लेखिएको छ।

विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरिअन्ट फेला परेको कुराबारे विश्व स्वास्थ्य सङ्गठन "अवगत नभएको" जनाएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

नेपाली अधिकारी के भन्छन्?

ब्रिटिश पत्रिकामा गरिएको दाबीलाई लिएर नेपालका स्वास्थ्य अधिकारीहरूले चासो व्यक्त गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार दुई देशका निकायबीच कोभिड-१९ सम्बन्धी सूचना आदानप्रदान हुँदै आएको छ।

"हिजो [बुधवार] सम्म उहाँहरूले हामीलाई उपलब्ध गराएको सूचनाअनुसार त्यस्तो केही छैन। नेपालबाट फर्केका बेलायती नागरिकमा कुनै नयाँ भेरिअन्ट नदेखिएको हामीलाई जानकारी गराइएको छ," पौडेलले बीबीसी नेपालीसँग भने।

"मैले पनि त्यो समाचार आएको देखेपछि त्यसलाई उद्धृत गर्दै यूकेको नियामक निकायलाई के-कसो हो भनेर सोधेको छु। त्यसबारे हामी थप बुझिरहेका छौँ।"

विश्व स्वास्थ्य सङ्गठनले पनि अहिलेसम्म 'भेरिअन्ट अफ कन्सर्न' भनेर नेपालमा त्यस्तो कुनै नयाँ भेरिअन्ट देखिएको नभनेको प्रवक्ता पौडेलले बताए।

"डब्ल्यूएचओले पनि त्यस्तो केही भनेको छैन र हाम्रो आधिकारिक जानकारीमा पनि छैन," उनले थपे।

तस्बिर स्रोत, Science Photo Library

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म यूकेमा देखिएको अल्फा भेरिअन्ट र भारतमा देखिएका डेल्टा तथा कापा भेरिअन्ट पुष्टि भएको छ।

नेपालमा दोस्रो लहरका क्रममा उच्च सङ्क्रमण दर देखिनुको कारण डेल्टा भेरिअन्ट नै रहेको स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्।

नेपालमा रहेका भेरिअन्टहरू "Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1)" भएको र यी तीमध्ये नेपालमा अहिले सक्रिय रहेको भेरिअन्ट Delta (B.1.617.2) भएको जानकारी विश्व स्वास्थ्य सङ्गठनले सामाजिक सञ्जालमार्फत् दिएको छ।

नेपाली विज्ञहरू के भन्छन्?

भाइरसविज्ञ डा. लुना भट्ट शर्मा कुनै पनि देशमा नयाँ भेरिअन्ट देखिएको दाबी गर्नुअघि पर्याप्त वैज्ञानिक आधार हुनुपर्ने बताउँछिन्।

"नयाँ भेरिअन्ट छ भन्नलाई त आधिकारिक स्रोतमार्फत्‌ जानुपर्ने हुन्छ। त्यसका लागि जीन सीक्वन्सिङ हुनुपर्‍यो र त्यसको नतिजा आउनुपर्‍यो। अरूभन्दा के फरक छ भन्ने हुनुपर्‍यो," उनले बीबीसीसँग भनिन्।

सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता डा. बुद्ध बस्न्यात डेली मेल पत्रिकामा नेपालसँग जोडिएको दाबी प्रमाणमा आधारित नभएको बताउँछन्।

"के नयाँ भेरिअन्ट निस्किन सक्छ सोध्नुहुन्छ भनेः हो सक्छ, तर अहिलेसम्म त्यो देखिएको छैन। सतर्कता चाहिँ अपनाउनुपर्छ," उनले भने।

जनस्वास्थ्य र बायोमेडिकल क्षेत्रमा अनुसन्धान गर्ने अर्का वैज्ञानिक समीरमणि दीक्षितले डेली मेलमा प्रकाशित सामग्रीको आलोचना गरेका छन्।

बीबीसीसँग कुरा गर्दै उनले डेली मेलले "गैरजिम्मेवार पत्रकारिता गरेको" टिप्पणी गरे।

सामाजिक सञ्जाल ट्विटरमा उनले आफूलाई नेपालमा भारत तथा यूकेमा फैलिएका भेरिअन्टहरू मात्र भएको थाहा भएको र नयाँ भेरिअन्ट पत्ता लागेको थाहा नभएको लेखेका छन्।

थप जीन सीक्वन्सिङबारे के हुँदैछ?

नेपालले भारतस्थित प्रयोगशालामा गराएको जीन सीक्वन्सिङको पछिल्लो नतिजा जेठ ४ गते सार्वजनिक गरेको थियो।

त्यसैबाट भारतमा देखिएका डेल्टा तथा कापा भेरिअन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो।

भाइरसविज्ञ डा. शर्माका अनुसार भेरिअन्ट भन्दैमा सबै भेरिअन्ट खतरनाक हुन्छन् भन्ने हुँदैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस भेरिअन्टः भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ?

यद्यपि नेपालजस्तो सानो मुलुकमा सङ्क्रमण र मृत्युदर उच्च देखिएको पृष्ठभूमिमा नेपालले जीन सीक्वन्सिङ गरिराख्नुपर्ने उनको सुझाव छ।

"बेलाबेला जिन सीक्वन्सिङ गरिराख्दा कम वा बढी म्यूटेशन भएको कुरा थाहा हुन्छ।"

"त्यसबाट भाइरसबारे थाहा थाउन हामीलाई त फाइदा हुन्छ हुन्छ विश्वव्यापी पनि फाइदा हुन्छ," डा. शर्माले भनिन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार जीन सीक्वन्सिङका लागि २४८ वटा नमुना सङ्कलन गरिसकिएको छ।

"जीन सीक्वन्सिङको नियमित प्रक्रियाअन्तर्गत नै हामीले २४८ वटा नमुना प्रयोगशालामा पठाउने तयारी गरेका छौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ?

नेपालमा जेठ १९ गतेसम्म कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ७१ हजारभन्दा बढी पुगेको छ।

तीमध्ये अहिले एक लाखभन्दा केही बढी मानिसमा सक्रिय सङ्क्रमित रहेको सरकारी तथ्याङ्क छ।

कोभिड-१९ सँग सम्बन्धित कारणले अहिलेसम्म कुल ७,५५५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, वास्तवमा कोरोनाभाइरस के हो?