इजिप्टमा भेटिएको 'सुनौलो सहर' ले यसरी प्राचीन शासकहरूको जीवनको झल्को दिन्छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, लक्सोरनजिकै अवस्थित यो प्राचीन सहरको भग्नावशेषलाई एउटा महत्त्वपूर्ण खोज बताइएको छ

इजिप्टमा बालुवामा पुरिएको एउटा ३,००० वर्ष पुरानो सहर पत्ता लाग्नुलाई टुटानकामनको चिहानपछिको सबैभन्दा महत्त्वपूर्ण पुरातात्त्विक खोजका रूपमा अर्थ्याइएको छ।

प्रसिद्ध इजिप्टविद् जाही हवासले गत साता लक्सोरनजिकै उक्त "हराएको सुनौलो सहर" पत्ता लागेको कुराको घोषणा गरेका थिए।

उनले एटेने भनेर चिनिने सबैभन्दा ठूलो प्राचीन सहर पत्ता लागेको बताए जसबारे यसअघि इजिप्टमा कहिलै थाहा पाइएको थिएन।

गत वर्ष सेप्टेम्बरमा सुरु भएको र हप्तौँ चलेको उत्खननबाट उक्त सहर पत्ता लागेको हो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, त्यहाँ बहुमूल्य कलाकृति पनि फेला परेका छन्

तस्बिर स्रोत, Dr Zahi Hawass on Facebook

तस्बिरको क्याप्शन, उक्त सहर इजिप्टका सबैभन्दा शक्तिशाली फेरो अमेनहोटप तृतीयको कालको भएको बताइएको छ

उक्त सहर इजिप्टका सबैभन्दा शक्तिशाली फेरो (प्राचीन शासकहरूलाई चिनाउने शब्द) अमेनहोटप तृतीयको कालको भएको बताइएको छ।

उनले इजिप्टमा इसापूर्व १३९१ देखि १३५३ सम्म शासन गरेका थिए।

त्यसपछि पनि फेरोहरू आई र टुटानकामनले उक्त सहर निरन्तर प्रयोग गरे।

उक्त सहरनजिकै टुटानकामनको चिहान सन् १९२२ मा ब्रिटिश पुरातत्त्वविद् हावर्ड कार्टरले पत्ता लगाएका थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रसिद्ध इजिप्टविद् जाही हवास

जोन्स हप्किन्स विश्वविद्यालय बाल्टिमोर अमेरिकाका प्राध्यापक बेत्सी ब्रायनले भनिन्, "यो हराएको सहर पत्ता लाग्नु टुटानकामनको चिहानपछिको दोस्रो सबैभन्दा महत्त्वपूर्ण पुरातात्त्विक अन्वेषण हो।"

उनले उक्त सहरले साम्राज्य एकदमै धनी भएका बेलाको "प्राचीन इजिप्टवासीको जीवनबारे दुर्लभ झलक" दिने बताइन्।

उत्खननमा ठूलो सङ्ख्यामा मूल्यवान् पुरातात्त्विक वस्तुहरू फेला परेका छन्।

त्यस्ता वस्तुहरूमा गहनाहरू, माटाका रङ्गिन भाँडाहरू, प्राचीन इजिप्टको पवित्र खपटेकीरा अङ्कित जन्तर र अमेनहोटपको छाप लागेका माटोका इँटा आदि छन्।

तस्बिर स्रोत, Zahi Hawass on Facebook

तस्बिरको क्याप्शन, पुरातत्त्वविद्ले भेटेका बहुमूल्य पुरातात्त्विक वस्तुहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भाँडामा लेखिएका कुराले उक्त सहर कति पुरानो हो भन्ने पत्ता लगाउन सघायो

उक्त समूहले राजधानी कायरोभन्दा ५०० किलोमिटर दक्षिणतर्फ 'भ्याली अफ द किङ्स' भनिने क्षेत्रनजिकै लक्सोरको पश्चिमी तटमा उत्खनन सुरु गरेको थियो।

डा. हवासले आफ्नो वक्तव्यमा भनेका छन्, "केही साताभित्रै हाम्रो समूहलाई पनि चकित पार्दै चारैतिर माटोको इँटाका संरचनाहरू देखा पर्न थाले।"

"उनीहरूले जे कुरा खनेर निकाले संरक्षित अवस्थामा रहेको एउटा ठूलो सहरको क्षेत्र थियो। त्यहाँ लगभग सबै पर्खालहरू थिए र दैनिक जीवनमा प्रयोग हुने सामग्री तथा कोठाहरू पनि थिए।"

उत्खनन सुरु भएको सात महिनापछि नजिकैका क्षेत्रहरूमा धेरै कुराहरू पत्ता लागेको छ। त्यसमा एउटा बेकरी, एउटा प्रशासकीय क्षेत्र र एउटा आवासीय क्षेत्र रहेका छन्।

भूतपूर्व पुरातत्त्वमन्त्री पनि रहेका डा. हवासले भने,"कैयौँ विदेशी अभियानले यो सहरबारे खोजी गरेका थिए तर कहिल्यै फेला पारेका थिएनन्।"

उनले उक्त क्षेत्रमा पुरातात्त्विक कार्य जारी रहेको र आफ्नो टोली कतिपय पुरातात्त्विक वस्तुले भरिपूर्ण र हालसम्म कसैले भेट्न नसकेका चिहानहरू भेटिने आशामा रहेको बताए।

इजिप्टले पर्यटन क्षेत्रलाई पुनर्जीवित पार्न आफ्ना प्राचीन क्षेत्रहरूको प्रवर्धन गर्न खोजिरहेको छ। वर्षौँको राजनीतिक अस्थिरता र कोरोनाभाइरस महामारीका कारण इजिप्टको पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ।