सूइज नहरः ६ दिनअघि अड्किएको पानीजहाज बल्लबल्ल 'सारियो'

तस्बिर स्रोत, EPA

सूइज नहरमा गत मङ्गलवारदेखि अड्किएको स्थानबाट एउटा विशाल पानीजहाजलाई सारिएको विवरण प्राप्त भएको छ।

सोमवार सामाजिक सञ्जालमा प्रेषित भिडिओमा 'एभर गिभन' नामक उक्त जहाजको पृष्ठभागलाई नहरको किनारातिर तानिएको र अवरुद्ध मार्ग खुलाइएको देखिन्छ।

पानीजहाज कम्पनी इन्चकेपले पनि उक्त पानीजहाज अड्किएको स्थानबाट हटाइएको जनाएको छ।

एभरग्रीन कम्पनीको स्वामित्वमा रहेको उक्त पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन टगबोट र ड्रेजरहरू प्रयोग गरिएको थियो।

इजिप्टको स्वामित्वमा रहेको उक्त जलमार्ग १९३ किलोमिटर लामो छ। त्यसलाई संसारको एउटा अतिव्यस्त व्यापारिक मार्ग मानिन्छ।

'सबैभन्दा महँगो ट्राफिक जाम'

एभर गिभन पानीजहाजका कारण उक्त जलमार्ग अवरुद्ध हुँदा सूइज नहरमा संसारकै 'सबैभन्दा महँगो ट्राफिक जाम' भएको बताइएको थियो।

अवरोधका कारण धेरै जहाजहरू अफ्रिकातिरको मार्गमा मोडिएका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नहर अवरोध भएको देखिने भूउपग्रहबाट खिचिएको तस्बिर

धेरै दिनदेखि उक्त अवरोध हटाउन नसकिएकाले भार कम गर्ने प्रयासस्वरूप आइतवार एभर गिभनबाट २०,००० वटा कन्टेनर निकालिएको बताइन्छ।

विशेषज्ञहरूले यसअघि बीबीसीलाई उक्त पानीजहाजलाई अड्किएको स्थानबाट सार्न विशेष उपकरण चाहिने र त्यसका लागि केही साता लाग्न सक्ने बताएका थिए।

अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो र ५९ मिटर चौडा उक्त जहाजले जलमार्ग बन्द गरिदिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सबैभन्दा महँगो ट्राफिक जामः तथ्याङ्कमा सूइज नहर

पानामामा दर्ता एभरग्रीन शिपिङ कम्पनीको उक्त जहाजका कारण दर्जनौँ अरू पानीजहाजहरू अड्किएका थिए।

एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो नहरको बाटोबाट विश्वको १२ प्रतिशत व्यापार हुने गरेको बताइन्छ।

सूइज नहरबाट सन् २०२० मा मात्रै १९,००० पानीजहाज ओहोरदोहोर गरेको तथ्याङ्कले देखाउँछ।

यो पनि पढ्नुहोस्