पुटिनबारे बाइडनले त्यस्तो के भने जसले रुसी राजदूतलाई घर फर्कायो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रुसी राजदूतलाई मस्कोले अमेरिकासँगको सम्बन्धमा अगाडीको बाटो तय गर्न छलफलका लागि बोलाएको जनाएको छ

रुसले वासिङ्टनमा रहेका आफ्ना राजदूतलाई अमेरिकासँगको 'उल्टाउन नसकिने क्षति' जोगाउन भन्दै वार्ताका लागि फिर्ता बोलाएको छ।

अमेरिकासँगको सम्बन्ध 'अँध्यारो गल्ली'को अवस्थामा पुगेको भन्दै रुसी सरकारले अनाटोली एन्टोनोभलाई मस्को बोलाएको हो।

अमेरिकी चुनावमा रुसले दखल दिएको आरोपकाबीच राष्ट्रपति जो बाइडनले भ्लादिमिर पुटिनले त्यसको 'मूल्य चुकाउनुपर्ने' भनेपछि मस्कोले यस कदम चालेको हो।

बाइडनले के भने?

एबीसी न्यूजसँगको एउटा अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले रुसले अमेरिकी चुनावी अभियानलाई कमजोर पार्ने प्रयास गरेको निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदनबारे प्रतिक्रिया जनाएका हुन्।

बाइडनले त्यसक्रममा पुटिन एउटा क्षति पुर्‍याउने व्यक्ति अर्थात् 'किलर' रहेको आफूलाई लागेको धारणा पुष्टि गरेका थिए।

जसमा पुटिनले चुनावी हस्तक्षेपका लागि अनुमति दिएको जनाइएको छ।

तस्बिर स्रोत, EPA

उक्त प्रतिवेदनमा बाइडनलाई बदनाम गर्न र डोनल्ड ट्रम्पलाई प्रोत्साहन गर्नेगरी थुप्रै उपायहरू अपनाएको उल्लेख छ।

ती उपायहरूमा मतदान प्रणालीप्रतिको विश्वास कमजोर गराउने र अमेरिकामा विभाजनलाई थप चर्काउने सम्मका रहेको जनाइएको छ।

मस्कोले ती आरोपहरू अस्विकार गरेको छ।

उक्त प्रतिवेदनको निष्कर्षमा रुस वा अन्य कुनै देशले मतदान वा मतगणना प्रभावित पारेको कुनै प्रमाण नभएको जनाइएको छ।

मस्कोको प्रतिक्रिया

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले 'त्यस्ता आरोपहरूको प्रमाण नभएको र त्यसले दुई देशबीचको सम्बन्धमा थप क्षति पुर्‍याउने' बताएका छन्।

उक्त प्रतिवेदनको निष्कर्षका आधारमा अमेरिकाले अर्को सातासम्ममा रुसमाथि प्रतिबन्धहरू लगाउने ठानिएको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रुसले अमेरिकी चुनावमा बाइडनलाई बदनाम गर्न र डोनल्ड ट्रम्पलाई प्रोत्साहन गर्नेगरी थुप्रै उपायहरू अपनाएको एक अमेरिकी प्रतिवेदनमा उल्लेख छ।

आफ्ना राजदूतलाई स्वदेश बोलाइएको बारे रुसी विदेश मन्त्रालयले भनेको छ, "हाम्रा लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको कठिन मोडबाट गइरहेको रुस-अमेरिका सम्बन्धलाई सच्याउने बाटो पहिचान गर्नु हो। वास्तविकताका आधारमा भन्नुपर्दा वासिङ्टनले त्यसलाई एउटा अँध्यारो गल्लीमा ल्याइदिएको छ।"

बाइडनले एबीसीसँगको अन्तर्वार्तामा गत ज्यानुअरीमा पुटिनसँग भएको वार्तामै चुनावी दखलका बिषयमा सम्भावित जबाफबारे चेतावनी दिएको बताएका छन्।