क्लबहाउस एप: विश्वभर चर्चित बनेको नयाँ सामाजिक सञ्जाल के हो र यसमा कसरी जोडिने?

टिकटक विश्वभर उपलब्ध भएको चार वर्ष भएको छ त्यसैले अब सायद अर्को नयाँ ठूलो सामाजिक सञ्जाल आउने बेला भएको छ। आउनुहोस् क्लबहाउसलाई स्वागत गर्नुहोस्।

एक वर्षभन्दा कम समयमा क्लबहाउस इन्टरनेटको नयाँ ठूलो सेवा बन्ने बाटोमा छ।

क्लबहाउसले ठूलो चर्चा, चर्चित प्रयोगकर्ताहरू, विवाद, प्रतिबन्ध र एक पैसा नकमाए पनि ठूलो मूल्याङ्कन पाइसकेको छ।

यो के होला भनेर सोच्दै हुनुहुन्छ भने यसका बारेमा जान्नै पर्ने कुराहरू यस्ता छन्।

मैले किन चासो राख्नुपर्‍यो?

अमेरिकादेखि चीनसम्म र ब्रजिलदेखि टर्कीसम्म यसले विश्वभर हल्ला मच्चाएको छ। संसारमा जहाँ भए पनि तपाईँले यसको नाम छिटै सुन्नु हुनेछ।

संसारका केही धनी र चर्चितहरू यस एपमा अहिले ठूला नाम बनिसकेका छन्। तीमध्ये केही टेस्लाका इलोन मस्क, फेसबुकका मार्क जुकरबर्ग, गायक ड्रेक र कान्य वेस्ट एवम् सञ्चारकर्मी ओप्राह विन्फ्रे रहेका छन्।

तस्बिर स्रोत, Reuters

यसको चर्चासँगै पैसाको पनि चर्चा छ। यसलाई यूके फाइनान्सियल टाइम्सका अनुसार अहिल्यै एक अर्ब अमेरिकी डलरभन्दा माथि मूल्याङ्कन गरिसकिएको छ।

अहिलेका लागि एक सुको पैसा नकमाएको एपका लागि त्यो राम्रो मूल्याङ्कन हो।

क्लबहाउसले कसरी काम गर्छ?

क्लबहाउसलाई अरूभन्दा फरक बनाउने कुरा भनेको यसमा अक्षर, तस्बिर वा भिडिओ राख्न नमिल्नु हो। यो आवाज मात्रै भएको एप हो।

र यसमा जे हुन्छ त्यो सबै प्रत्यक्ष हुन्छ।

तपाईँ यसमा आफ्नो गफ गर्ने कोठा सुरु गर्न सक्नुहुन्छ वा अरूले सुरु गरेको कोठामा प्रवेश गरेर त्यहाँको गफ सुन्न सक्नुहुन्छ।

सामान्यतया प्रत्येक कोठामा केही वक्ता हुन्छन् र अरू सबै श्रोता हुन्छन् तर तपाईँ हात उठाएर बोल्न अनुमति माग्न सक्नुहुन्छ।

एपभित्र गफ रेकर्ड हुँदैन र सकिएपछि पुनः सुन्न सकिन्न त्यसैले जे सुन्नु छ त्यो प्रत्यक्ष सुन्नुपर्छ।

मन पर्ने गफ नछुटोस् भन्नका लागि कुनै विषयलाई फलो गर्न सक्नुहुन्छ र त्यो विषयमा गफ सुरु भए तपाईँलाई जानकारी आउँछ।

यसको राम्रो पक्ष के छ?

तस्बिर स्रोत, Reuters

आवाज मात्रै भएको हुँदा यसले रेडिओ वा पडकास्ट सुनेको अनुभव दिन्छ।

इलोन मस्कको विचारमा यसले प्रत्येक १० सेकेन्डमा नयाँ कुरा आएर दिमागलाई एउटा विषयमा केन्द्रित हुन नदिने सामाजिक सञ्जालको चलनबाट पनि मुक्ति दिन्छ।

सामान्यतया यो साथीभाइबीच गफगाफ गर्न प्रयोग गरिने भए पनि मस्कजस्ता चर्चित व्यक्तित्वहरू भएका कारण तपाईँले एउटै कोठामा बसे जस्तो गरी उनीहरूलाई प्रत्यक्ष र अनौपचारिक गफ गरिरहेको सुन्न पनि सक्नुहुन्छ।

अहिलेका लागि नयाँ एप भएका कारण यसलाई प्रतिबन्ध लगाइएको छैन र यसमा अन्य सामाजिक सञ्जालमा प्रतिबन्धित विषयमा पनि छलफल हुन सक्छ।

यो फेसबुक र ट्विटर प्रतिबन्धित भएको चीनमा पनि उपलब्ध थियो।

यसमा चीनमा प्रतिबन्धित प्रजातन्त्र जस्तो विषयमा पनि गफ हुने विवरण आएपछि भने यो त्यहाँ फेब्रुअरीको सुरुमा प्रतिबन्धित गरिएको छ।

गजब जस्तो सुनिन्छ, के म पनि डाउनलोड गर्न सक्छु?

तस्बिर स्रोत, Reuters

सकिन्न।

अहिलेसम्मका लागि क्लबहाउसमा प्रयोगकर्ता बन्न क्लबहाउसको प्रयोगकर्ता कसैले निमन्त्रणा दिनुपर्छ। त्यसैले तपाईँले डाउनलोड गरेपछि कसैको निम्तोको प्रतीक्षा गर्नुपर्छ।

क्लबहाउसका प्रत्येक प्रयोगकर्ताले सुरुमा दुई जनालाई निम्तो दिन सक्छन्।

तर यसको अर्थ तपाईँले पाउनै हुन्न भन्ने होइन।

फेसबुकमा अहिले डेढ अर्ब प्रयोगकर्ता छन् तर जब यो सुरु भयो त्यति बेला अमेरिकाका नाम चलेका केही विश्वविद्यालयका केही हजार मात्रै यसमा पहुँच राख्थे।

कुनै बेला जीमेल पनि निम्तोबाट मात्रै खोल्न मिल्थ्यो।

नराम्रो पक्ष केही छ कि?

तस्बिर स्रोत, Getty Images

प्रत्येक कोठामा बढीमा पाँच हजार मान्छेले मात्रै सुन्न सक्ने भएकाले तपाईँले चर्चित व्यक्तिका कुरा सुन्न स्थान नपाउने पनि हुनसक्छ।

र अन्य सामाजिक सञ्जालका एपजस्तै यसको गोपनीयताको विषयलाई लिएर धेरै प्रश्नहरू छन्।

यसका गफहरू अनुसन्धान गर्नुपर्ने अवस्थाका लागि अस्थायी रूपमा रेकर्ड हुन्छ र मेटिन्छ।

तर कहिले मेट्ने भन्ने कुरा क्लबहाउसले निर्धारण गर्छ। यसको प्रयोगका सर्तले प्रयोगकर्तालाई यसभित्रका गफ रेकर्ड गर्ने अनुमति दिँदैन।

के यो फेसबुक जस्तै ठूलो बन्छ त?

भिडिओ क्याप्शन सुरु हुँदैछ, टिकटक प्रयोगकर्ताबीच भाइरल बनेको काठमाण्डूको 'अम्ब्रेला स्ट्रीट'

सायद। अहिले यसका २० लाख मात्रै सक्रिय प्रयोगकर्ता छन् तर सन् २०२० मा सुरु भएयता यो बढिरहेको छ।

तर सामाजिक सञ्जाल भन्ने वस्तु अनौठो हुन्छ र पहिलो हेराइमा क्लबहाउस प्राविधिक छलकपट विनाको राम्रो सोच जस्तो देखिन्छ।

यसको अर्थ यो अन्य ठूला कम्पनीले सजिलै चोर्न सक्छन्।

स्न्यापच्याटको हराउने तस्बिर वा भिडिओ पोस्ट गर्ने सुविधा इन्स्टाग्रामले मजाले नक्कल गर्‍यो जसका कारण स्न्यापच्याटलाई असर पर्‍यो।

तर अन्य लगभग सबै सामाजिक सञ्जालका भन्दा फरक सोचले बनेको भएर क्लबहाउस चल्न सक्छ।