‘म आधिकारिक रूपमा मरिसकेँ’: किन यी फ्रान्सेली महिला आफू जीवित रहेको प्रमाणित गर्न सङ्घर्ष गर्दैछिन्?

तस्बिर स्रोत, AFP

"मलाई मृत घोषित गरियो," जान पाउचेन भन्छिन्।

पत्यार नलागे पनि फ्रान्सको लियोननजिकै बस्ने यी ५८ वर्षीया महिला अहिले आफू जिउँदै रहेको प्रमाणित गर्न सङ्घर्षरत छिन्।

उनको परिचयपत्र र चालक अनुमतिपत्रको बैधता बाँकी छैन, उनको सामाजिक सुरक्षा नम्बर रद्द गरिएको छ र स्वास्थ्य बीमाको पनि अवधि गुज्रिसकेको छ।

"म मरेँ। म अदालत र सरकारी निकायका लागि मरेँ, म सबैका लागि मरेँ।"

एउटा स्थानीय टेलिभिजन च्यानलसँग बोल्दै उनले भनिन्: "मलाई एउटा नारकीय चक्रमा गुडुल्किएको महसुस हुन्छ।"

"मैले बाहिर जान छोडिसकेँ किनभने म पक्राउमा परेँ वा केही समस्यामा परेँ भने के हुन्छ भन्ने मलाई थाहा छैन। मलाई खाद्यान्न किन्न जानुपर्‍यो भने म टाउको निहुराउँछु वा पसल बन्द हुनेबेला जान्छु वा थोरै सामान किन्नका लागि गएर फर्किहाल्छु।"

"मेरा पतिले किनमेल गर्नुहुन्छ। म पहिला जस्तो गाडी चलाउने आँट पनि गर्दिनँ। म बिहान उठ्छु र दिन छिट्टै बितोस् भनेर कुर्न सक्दिनँ"

यो भर्खर उत्पन्न भएको समस्या होइन। आधिकारिक अभिलेखमा जानको मृत्यु भएको तीन वर्ष भइसक्यो।

मृत कि जीवित?

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सरकारी अभिलेखमा जान पाउचेन जीवित छैनन्

कुनै जीवित मान्छेलाई आफू मरिसकेको कुरा बताइयो भने कस्तो अनुभूति होला?

"म जीवित छैन भन्नेकुरा अदालतको एउटा फैसलामार्फत् थाहा पाएकी हुँ," जानले भनिन्।

"अदालतका कर्मचारीहरूले मलाई आएर जान पाउचेनको मृत्यु भइसकेको बताएका हुन्।"

ती कर्मचारीले जानका पति र छोराका लागि छुट्टाछुट्टै पत्रहरू ल्याएका थिए।

"यी कागजपत्रहरू पढ्दा मलाई लाग्यो खासमा म मरिसकेँ।"

अदालतको फैसाला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जान पाउचेनको मुद्दा फ्रान्सको सर्वोच्च अदालतसम्म पुगेको छ

पूर्वकर्मचारीले जानविरुद्ध नालिस दिएपछि समस्या सुरु भएको देखिन्छ।

जान सरसफाइ गर्ने एउटा कम्पनी चलाउने गर्थिन्। झन्डै २० वर्षअघि उनकी पूर्वकर्मचारी जागिर गुमाएकोमा क्षतिपूर्ति चाहन्थिन्।

सन् २०१७ मा लियोनको अदालतले क्षतिपूर्ति दिनुपर्ने तर सफाइ गर्ने कम्पनीको व्यवस्थापकको मृत्यु भइसकेको भनेर फैसला नसुनाउँदासम्म उक्त मुद्दा फ्रान्सको कानुनी प्रक्रियामा वर्षौँसम्म रुमलिइरह्यो।

उनी कानुनी रूपमा मृत मात्रै भइनन् कि उनका पति र छोराले १७,००० डलर बराबरको रकम पनि ती पूर्व कर्मचारीलाई दिनुपर्ने आदेश भयो।

यो पनि पढ्नुहोस्

तर उक्त मुद्दाको सुनुवाइमा उपस्थित हुन आफूले कहिल्यै पत्र नपाएको दाबी गर्दै उनी ती कर्मचारीले गरेको क्षतिपूर्तिको दाबी वा आफूलाई मृत घोषणा गरिएको कुराको प्रतिवाद गर्न नपाएको तर्क गर्छिन्।

अदातलको निर्णयको प्रभाव पैसामा मात्र सीमित रहेन, त्योभन्दा बढी नै भइदियो।

"सबै कुरा युद्ध मैदानजस्तो भएको छ," उनले भनिन्। "मैले बाहिर जान बन्द गरेँ, सकेसम्म म घरभित्रै बसिरहन्थेँ।

"कसैले ढोकामा घण्टी बजायो भने म डराएर लुक्छु। अरु के अशुभ समाचार आउँदैछ भन्ने मलाई थाहा हुँदैन।"

कतिवटा जीवन?

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, जान तीन वर्षभन्दा बढी समयदेखि कानुनी अभिलेखमा मरिसकिन्

तीन वर्षभन्दा बढी समयदेखि जानले प्रशासनलाई कानुनी रूपमा आफूलाई जीवित मान्न मनाउन प्रयास गर्दै आएकी छिन्।

"म चाहन्छु मलाई मेरै परिचय फिर्ता गरियोस्। मेरो परिचय जफत गरिएको छ। म मेरो जीवन फिर्ता होस् भन्ने चाहन्छु, मेरो परिवार फिर्ता चाहन्छु। मेरो श्रीमान्, मेरो छोरा, मेरो सामाजिक वृत्त फिर्ता चाहन्छु।"

केही साताअघि अदालतमा भएको खुला सुनुवाइमा उनका वकिलले अदालतले जानबारे मिथ्या विवरण राखेको दाबी गरे।

जान जीवित छैनन् भनी उल्लेख गरिएको यसअघिको फैसला उल्ट्याउनका लागि उनको कानुनी टोलीले अदालतको कागजपत्र अवैध हो भन्ने प्रमाणित गर्नुपर्छ।

"सबैभन्दा महत्त्वपूर्ण के छ भने म जीवित छु भन्ने प्रमाणित गर्नुपर्छ," उनले भनिन्।

भविष्य

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जान जीवित छैनन् भन्ने उनले प्राप्त गरेको अदालतको पत्र

यो अवस्था कसरी आइपर्‍यो भन्नेमा कसैले पनि सहमति जनाउन सक्दैन।

जानका वकिल सिल्भाँ कमिएले समाचारसंस्था एएफपीसँग कुरा गर्दै भने "पूर्वकर्मचारीले बिनाप्रमाण पाउचेन मरिसकिन् भनिन् र सबैले त्यसलाई विश्वास गरे।"

"कसैले पनि त्यसबारे जाँच गरेनन्," उनले भने।

ती पूर्वकर्मचारी को हुन् भनेर पहिचान भएको छैन र उनले सार्वजनिक रूपमा बोलेकी पनि छैनन्। तर उनका वकिलहरूले भने आफ्नो मृत्यु भइसकेको भन्ने अहिलेको अवस्था जानकै कारण निम्तिएको दाबी गरे।

उनीहरूले मुद्दाका विपक्षीलाई बेवास्ता गर्न अदालतका पत्रहरूबारे जबाफ दिन अस्वीकार गरेको आरोप लगाएका छन्।

दुवै पक्षले एकअर्काबारे विवादित विवरण दिन्छन्। दोषी जो भए पनि एउटा कुरा स्पष्ट छ - जान मृत होइनन्।

उनीसँग केही सकारात्मक समाचार पनि छ - एउटा सरकारी निकायले उनलाई मृतकहरूको सूचीबाट हटाएको बताएको छ, तर जीवित हो भनेर सूचीकृत पनि गरेको छैन।

"म जीवित हुने प्रक्रियामा छु," जानले भनिन्।

यो पनि पढ्नुहोस्