डोनल्ड ट्रम्पः अमेरिकी राष्ट्रपति बिदाइ सम्बोधनमा भन्छन्, ‘हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ’
तस्बिर स्रोत, White House
आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन्।
अहिले व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्किने बयान दिएका छन्।
"अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ," उनले भने।
"हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ।"
नयाँ प्रशासनबारे बोल्दै उनले भने, "हामी (नयाँ प्रशासन)ले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्नमा सफल होस् भनेर कामना गर्छौँ।"
उनले बिदाइ सम्बोधनमा बोलेका मुख्य विषय यस प्रकार छन्:
आफ्नो प्रशासनको उपलब्धिबारे
"हामी यहाँ जे गर्न भनेर आएका थियौँ हामीले त्यो गर्यौँ र अझ धेरै गर्यौँ। सबभन्दा मुख्य कुरा हामीले अमेरिकामा सरकार जनताप्रति जबाफदेही हुन्छ भन्ने पवित्र मान्यता पुनर्स्थापित गर्यौँ।"
घरेलु नीतिबारे
"हाम्रा एजेन्डा दक्षिणपन्थी वा वामपन्थी थिएन। त्यो रिपब्लिकन वा डेमोक्र्याट पनि थिएन। बरु सम्पूर्ण राष्ट्रका निम्ति जे सही हुन्छ त्यही थियो।"
विदेश नीतिबारे
"हामीले हाम्रा सहयोगी गठबन्धन तथा राष्ट्रहरूलाई अभूतपूर्व ढङ्गले चीनको सामना गर्न सहयोग गर्यौँ। हाम्रो बलियो कूटनीति एवं सिद्धान्तनिष्ठ यथार्थवादका कारण हामीले मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झौताहरू गर्न सक्यौँ…खासगरि कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएकामा म एकदमै गौरवान्वित छु।"
संसद् भवन क्यापिटलमा भएको दङ्गाबारे
"राजनीतिक हिंसा भनेको अमेरिकीका रूपमा हामीले गौरव गर्ने सबै चिजमाथिको आक्रमण हो। त्यसलाई कहिल्यै पनि सहन सकिँदैन।"
आफ्नो विरासतबारे
"अहिले जब म बुधवार नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पँदैछु, म चाहन्छु कि तपाइँहरूले बुझ्नुहोस् हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ।"
यो पनि हेर्नुहोस्
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन