साताका उत्कृष्ट तस्बिरः अमेरिकामा डोनल्ड ट्रम्पका समर्थकहरूको उपद्रोदेखि निकारागुआमा सेतोबाघ र नेपालमा फोक्सुन्डो तालसम्म

गत साता संसारभरि खिचिएका समाचारमूलक तथा रोचक घटनासँग सम्बन्धित केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ।

तस्बिर स्रोत, Lev Radin/Pacific Press/LightRocket via Getty

तस्बिरको क्याप्शन, अमेरिकी संसद् भवन 'क्यापिटल' मा बलपूर्वक प्रवेश गर्न लाग्दा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको थियो। भर्खरै सम्पन्न निर्वाचनमा राष्ट्रपति निर्वाचित भएका जो बाइडनलाई संसद्ले प्रमाणीकरण गर्न लागेको बेला निर्वाचनमा पराजित उम्मेदवार तथा पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले उक्त प्रक्रिया रोक्न खोजेका थिए। उक्त घटनामा एक प्रहरीसहित पाँच व्यक्तिको मृत्यु भएको छ।

तस्बिर स्रोत, KEVIN LAMARQUE / Reuters

तस्बिरको क्याप्शन, टीभीमार्फत् सम्बोधन गर्दै राष्ट्रपति निर्वाचित जो बाइडनले उक्त घटना अमेरिकाको इतिहासमा 'एउटा कालो दिन' भएको टिप्पणी गरे। उनले राष्ट्रपति ट्रम्पले हिंसा भड्काएको आरोप लगाए।

तस्बिर स्रोत, HANNAH MCKAY / Reuters

तस्बिरको क्याप्शन, विकिलीक्सका संस्थापक जुलिअन असान्जको समर्थनमा लन्डनस्थित एउटा अदालतबाहिर प्रदर्शन गरिरहेकी एक महिलालाई नियन्त्रणमा लिँदै प्रहरीहरू। असान्जका वकिलहरूले उनलाई धरौटीमा छोड्न माग गरेका थिए। तर उक्त माग अस्वीकृत भएकाले उनी जेलमै रहनेछन्।

तस्बिर स्रोत, Adam Pretty / Getty Images

तस्बिरको क्याप्शन, अस्ट्रियामा आयोजित फोर हिल्स स्की-जम्पिङ प्रतियोगितामा सहभागी हुँदै जापानका केईची सातो। यो तस्बिर भेरिएबल प्लेन लेन्स प्रयोग गरेर खिचिएको हो।

तस्बिर स्रोत, Victoria Jones / PA Media

तस्बिरको क्याप्शन, दक्षिणपश्चिम लन्डनस्थित सेन्ट जोर्ज हस्पिटलको सघन उपचार कक्षमा काम गर्दै नर्सहरू। इङ्ग्ल्यान्डका केही अस्पतालहरूमा केवल कोभिड-१९ भएका बिरामीहरू मात्र आउने र अन्य सेवा बन्द हुने सम्भावना बढेको छ।

तस्बिर स्रोत, NIKOLAY DOYCHINOV / AFP

तस्बिरको क्याप्शन, गत बुधवार अर्थोडक्स क्रिस्टीअन एपिफनी पर्वका अवसरमा बल्गेरियाको कालोफेर नगरस्थित टुन्जा नदीमा हिउँ भएको पानीमा परम्परागत नृत्य गर्दै मानिसहरू।

तस्बिर स्रोत, Brian Ongoro / AFP

तस्बिरको क्याप्शन, केन्याको किसुमुमा भिक्टोरिया ताल भरिएर आएको बाढीका कारण जलमग्न क्षेत्रमा डुङ्गा चढेर विद्यालयतिर जाँदै स्थानीय बासिन्दा र तिना छोराछोरीहरू। उक्त स्थानमा कोभिड-१९ को डरका कारण बन्द भएका विद्यालयहरू फेरि खुलेका छन्।

तस्बिर स्रोत, Shutterstock

तस्बिरको क्याप्शन, दक्षिणपूर्वी चीनको हार्बिन नगरमा आयोजित ३७ औँ अन्तर्राष्ट्रिय हिम प्रतिमा महोत्सव हेर्न गएका आगन्तुकहरू।

तस्बिर स्रोत, Jeff J Mitchell / Getty Images

तस्बिरको क्याप्शन, ग्ल्यास्गोस्थित क्वीन्स पार्कमा जमेको तलाउमा स्केटिङ गर्दै सुजी मरी। असुरक्षा हुनसक्ने भन्दै नगर परिषद्ले तलाउहरूमा चेतावनी सङ्केत गर्ने चिह्न राखिएको जनाएको छ।

तस्बिर स्रोत, Peter Byrne / PA Media

तस्बिरको क्याप्शन, यूकेको न्यूब्राइटनस्थित समुद्री किनारमा सूर्योदयका बेला दुई महिलाहरू

तस्बिर स्रोत, Fredrik Lerneryd / Getty Images

तस्बिरको क्याप्शन, स्वीडनस्थित एउटा वृद्धाश्रममा कोभिड-१९ विरुद्ध खोप लिँदै दुई महिला। उक्त वृद्धाश्रममा बस्ने सबै ९७ जनालाई खोप दिइएको थियो।

तस्बिर स्रोत, INTI OCON / AFP

तस्बिरको क्याप्शन, निकारागुआको चिडियाखानामा जन्मिएको एउटा नवजात सेतोबाघ। यो डमरुको नाम स्नो अर्थात् हिउँ राखिएको छ।

तस्बिर स्रोत, DANIEL RIVERA / AFP

तस्बिरको क्याप्शन, दक्षिणपश्चिम कोलम्बियाको पास्टोमा आयोजित पाँचदिने कार्निभलमा सहभागी कलाकारहरू। यूनेस्कोले उक्त वार्षिक महोत्सवलाई विशेष मानेको छ।

तस्बिर स्रोत, Alexey Pavlishak / Reuters

तस्बिरको क्याप्शन, क्राइमियास्थित एउटा वन्यजन्तु आरक्षमा सिंहका पाँचदिने दुई डमरु।

तस्बिर स्रोत, Hemant KC / RSS

तस्बिरको क्याप्शन, हिउँले घेरिएको डोल्पाको फोक्सुन्डो ताल र बस्ती। पौषदेखि फागुन महिनासम्म ताल र नजिकै रहेका बस्तीहरू हिउँले सेताम्य देखिन्छन्। गत साता पश्चिम नेपालको हिमाली भेगमा ठूलो हिमपात भएको थियो।

सबै तस्बिरको प्रतिलिपि अधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित