ओबामा: एउटा चुनावले 'सत्यको क्षय'लाई रोक्ने छैन

ओबामा

अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले अमेरिकासामू देशलाई गहिरोसँग विभाजित गर्ने "सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरू"लाई उल्टाउनुपर्ने ठूलो काम रहेको बताएका छन्।

बीबीसीसँगको अन्तर्वार्तामा ओबामाले चार वर्षअघिको तुलनामा अमेरिका अझ गहिरोसँग विभाजित भएको बताए। चार वर्षअघि डोनल्ड ट्रम्प राष्ट्रपति चुनिएका थिए।

ओबामाले सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडनको विजय त्यस्ताखाले विभाजनहरूको मर्मत गर्ने सुरुवात मात्र भएको बताए।

उनले भने, "ती प्रवृत्तिहरूलाई उल्ट्याउन एउटा चुनावभन्दा धेरै समय लाग्नेछ।"

ध्रुवीकरण भएको राष्ट्रसँग जुझ्न राजनीतिज्ञहरूको निर्णयलाई मात्र छाड्न नसकिने उनको तर्क छ।

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र जो बाइडन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ओबामाले जो बाइडनसँग "अहिलेको अवस्थामा एउटा राष्ट्रपतिसँग हुनुपर्ने सबै गुणहरू भएको" बताएका छन्

त्यसका लागि संरचनागत परिवर्तन र मानिसहरूले एक अर्कालाई सुन्नुपर्नेमा उनले जोड दिए।

यद्यपि उनले आगामी पुस्ताको "परिष्कृत" सोचमा "ठूलो आशा" देखेको बताए।

ओबामाले युवापुस्तालाई "विश्वलाई परिवर्तन गर्नसक्ने सावधानीपूर्ण आशावादको सञ्चार गर्न" र "त्यो परिवर्तनको हिस्सा बन्न" पनि आह्वान गरे।

अमेरिकामा कसरी विभाजन बढाइयो?

उनको नयाँ संस्मरणको प्रवर्धन गर्न बीबीसी आर्टस्‌का लागि इतिहासकार डेभिड ओलुसोगाले लिएको अन्तर्वार्तामा ओबामाले अमेरिकामा विभाजन बढ्नुको कारण बताएका छन्।

उनका अनुसार ग्रामीण र सहरी अमेरिका बीचको आक्रोश र अप्रसन्नता, आप्रवासन, अन्यायजस्तै असमानता र "सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरू जस्ता कुरा जसलाई केहीले सत्यको क्षय पनि भनेका छन्"ले विभाजन बढाएको हो।

उनले यस्ता कुरालाई केही अमेरिकी सञ्चारमाध्यमद्वारा प्रवर्धन गरियो र सामाजिक सञ्जालद्वारा थप बलियो पार्ने काम गरियो भनेका छन्।

उनले भने, "हामी अहिले धेरै नै विभाजित छौँ, वास्तवमै म सन् २००७ मा पहिलो पटक राष्ट्रपतिको दौडमा सामेल हुँदाभन्दा र मैले २००८ मा राष्ट्रपति चुनाव जित्दाभन्दा।"

उनले राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक फाइदाका लागि यस्ता कुरालाई बढावा दिएको आरोप पनि लगाए।

कहिलेकाहीँ अन्य कुराले पनि यस्ता विषयमा योगदान गरेको र अनलाइनहरूबाट गलत सूचनाहरू फैलिएको ओबामाको भनाइ छ।