नवजात शिशु फेला परेपछि कतारको दोहा विमानस्थलमा 'महिलाको आन्तरिक जाँच पडताल'

तस्बिर स्रोत, Reuters
दोहाबाट सिड्नी प्रस्थान गर्न लागेका महिलाहरूको निजी परीक्षण गर्न लगाइएको भन्ने खबरहरू आएपछि अस्ट्रेलियाले त्यसप्रति 'गम्भीर चासो' व्यक्त गरेको छ।
हमाद अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा कर्मचारीहरूले एउटा नवजात शिशु फेला पारेपछि महिलाहरूको परीक्षण गर्न लगाइएको बताइएको छ।
शिशु कसको हो भन्ने खुलेको छैन र अहिले सुरक्षित तरिकाले राखिएको छ। परीक्षण गरिनेमा १३ जना अस्ट्रेलियाली महिला पनि रहेको बताइएको छ।
मन्त्रालयको चासो
च्यानल सेभेनले लेखे अनुसार ती अस्ट्रेलियाली महिलाहरूलाई विमानस्थलस्थित एम्बुलेन्स भएको ठाउँमा लगिएको थियो र परीक्षण गर्नुअघि भित्रि वस्त्र खोल्न लगाइएको थियो।
अक्टोबर २ तारिखमा कतार एअरवेजको विमान उड्नुअघि किन परीक्षण गरिएको भनेर ती महिलाहरूलाई बताइएको थिएन।
अस्ट्रेलियाको सरकारले त्यस विषयमा कतारका अधिकारीहरूसँग चासो व्यक्त गरेको छ।
"उक्त घटनाबारे कतारी अधिकारीहरूसँग हामीले आधिकारिक रुपमा गम्भीर चासो व्यक्त गरेका छौं र उनीहरूले हामीलाई विस्तृत र पारदर्शी सूचना छिट्टै दिने आश्वासन दिएका छन्," अस्ट्रेलियाको विदेशमामिला मन्त्रालयका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन्।
मनोवैज्ञानिक सहायता
सिड्नी पुग्नेहरूका लागि क्वारन्टीन बस्ने होटलको व्यवस्थापन हेर्ने न्यू साउथ वेल्स प्रहरीका प्रवक्ताले घटनाबारे भने, "ती महिलाहरू न्यू साउथ वेल्समा बाध्यकारी क्वारन्टीनमा बसे र त्यतिबेला उनीहरूलाई यहाँको एनएसडब्लू हेल्थले चिकित्सकीय र मनोवैज्ञानिक सहायता गरेको थियो।"
त्यसबारेमा टिप्पणीका लागि गरिएको निवेदनमा कतार एअरवेजले कुनै प्रतिक्रिया जनाएको छैन।
हमाद अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ताले भनेकी छन्, "भर्खरै बच्चा जन्माएकी आमाको स्वास्थ्यबारे स्वास्थ्यकर्मीहरूले चासो व्यक्त गरेका थिए र विमान प्रस्थान गर्नु अघिनै उनलाई खोज्न अनुरोध गरिएको थियो।"
विमानस्थलले आमाको खोजी गरिरहेको छ र त्यसैबीच फेला परेका शिशुको रेखदेख सामाजिक कार्यकर्ता र स्वास्थ्यकर्मीको टोलीले गरिरहेको छ।




























