जङ्गली जनावर: रुखलाई अँगालो हालिरहेको बाघको तस्बिरलाई पहिलो पुरस्कार

तस्बिर स्रोत, Sergey Gorshkov/WPY2020

तस्बिरको क्याप्शन, "द एम्ब्रेस" अर्थात् अँगालो शीर्षकको सेर्गेइ गोर्शकोभले खिचेको 'वाइल्डलाइफ फोटो अफ द इअर २०२०' पुरस्कार प्राप्त गर्न सफल तस्बिर
    • Author, जोनाथन एमस
    • Role, बीबीसी विज्ञान संवाददाता

पृथ्वीको दुर्लभ जनावरको फोटो खिच्न उच्च दक्षता हुनुपर्छ र उत्तिकै भाग्यमानी पनि।

सेर्गेइ गोर्शकोभ दुवै हुन्- रुसको सुदुर पूर्वमा रहेको जङ्गलभित्र खिचिएको आश्चर्यजनक तस्बिरले त्यही पुष्टि गर्छ।

यो तस्बिरले उनलाई यो वर्षको वाइल्डलाइफ फोटोग्राफर अफ द इअर २०२० अर्थात् यो वर्षको जङ्गली जनावरको सबभन्दा राम्रो तस्बिर खिचेका व्यक्ति बनाइदिएको छ।

लेपर्ड न्याशनल पार्कमा खिचिएको यो तस्बिरमा बघिनीले एउटा रुखलाई अँगालो हालेकी छ र रुखको बोक्रामा आफ्नो गन्ध बाँकी रहोस् भनेर शरीर दलेकी छ।

तस्बिर स्रोत, NHM

तस्बिरको क्याप्शन, द डचेज अफ केम्ब्रिजले पुरस्कृत व्यक्तिको घोषणा गरेकी थिइन्

"प्रतिस्पर्धाकी एक निर्णायक रज किडम्यान कक्स भन्छिन्, "तस्बिर खिच्दा मिलाइएको प्रकाश, रङ र ढाँचा हेर्नुस त- त्यो तैल चित्र जस्तो छ।"

उनले बीबीसीलाई भनिन्, "बघिनी जङ्गलकै एक अंश जस्तो देखिएकी छ। उसको पुच्छर रुखको जरासँग मिलेको छ। रुख र बघिनी एकाकार भएको जस्तो।"

अदभुत चाहिँ के भने यो तस्बिर त क्यामेरा ट्र्याप तस्बिर हो अर्थात् उपकरण जङ्गलमा जडान गरेर छोडिएको थियो र बाघ देखापरेपछि आँफै तस्बिर खिच्ने गरी राखिएको थियो।

निश्चित रूपमा सेर्गेइलाई त्यो जनावर कहाँनिर आउला भन्ने थाहा हुनुपर्थ्यो - त्यही नै अनुभवी जङ्गली जनावरको फोटो खिच्ने व्यक्तिसँग हुने खुबी पनि हो।

पूर्वी रुसका बाघहरू दुर्लभ हुने सूचिमा पुगुञ्जेल शिकार गरियो। अहिले त्यसका केही सय मात्र सङ्ख्या बाँकी रहेको बताइन्छ।

बाघका आहारा खासगरी मृग र जङ्गली बँदेलको सङ्ख्या पनि ठूलो सङ्ख्यामा घटेको छ। त्यसैले यी बाघहरू खानेकुरा खोज्न निकै दूरी चहार्नुपर्ने बाध्यतामा परेका छन्।

त्यसैले सेर्गेइको जस्तो यो आकर्षक तस्बिरको के कुरा त्यस्तो जनावरको जुनसुकै तस्बिर खिच्न कति मुस्किल छ भन्ने प्रष्ट छ।

सेर्गेइको क्यामेराको कथा पनि आश्चर्यजनक छ। त्यो क्यामेरा ट्र्याप क्यामेराको मेमोरी कार्ड र अद्भुत तस्बिर पाउनु अघि दश महिनासम्म उक्त स्थानमा त्यसै छोडिएको थियो।

उच्च कोटीको फोटोग्राफर बन्न तपाईँमा अत्यन्त धेरै धैर्यता चाहिन्छ।

सेर्गेइको तस्बिरको पुरस्कारको घोषणा डचेज अफ क्याम्ब्रिज र टीभी प्रस्तोता क्रिश प्याकहम तथा मेगन म्याककबिनले लण्डनको न्याचुरल हिस्ट्री म्युजियमले आयोजना गरेको अनलाइन कार्यक्रममा गरेका थिए।

उक्त सङ्ग्रहालयले ५६ वर्षदेखि यो फोटो प्रतियोगिता गर्दै आएको छ।

हाँस फेला पारेको फ्याउरो- तस्बिर: लिना हाइकिनेन

तस्बिर स्रोत, Liina Heikkinen/WPY2020

फिनल्यान्डकी किशोरी लिनाले खिचेको यो तस्बिरले १५-१७ वर्ष उमेर समूहको पुरस्कार प्राप्त गरेको थियो।

द पोज- तस्बिर: मोगेन्स ट्रोल, डेनमार्क

तस्बिर स्रोत, Mogens Trolle/WPY2020

बोर्नियोमा खिचिएको एक बाँदरको तस्बिरले 'एनिमल पोट्रेट' अर्थात जनावरको मुहार चित्र शीर्षकको पुरस्कार हात पारेको थियो।

आगोको नदी- लुसियानो गुडेन्जियो, इटली

तस्बिर स्रोत, Luciano Gaudenzio/WPY2020

'पृथ्वीको वातावरण' शीर्षकमा इटलीको सबभन्दा सक्रिय ज्वालामुखीको तस्बिरले पुरस्कार प्राप्त गर्‍यो।

जीवनको सन्तुलन - तस्बिर: जेमी क्यूलब्रास, स्पेन

तस्बिर स्रोत, Jaime Culebras/WPY2020

माकुरा समाइरहेको यो भ्यागुतोको तस्बिरले 'बिहेभिअर: एम्फिबियन्स एन्ड रेप्टाइल्स' अर्थात् उभयचर र सरिसृपको बानी शीर्षकको पुरस्कार प्राप्त गरेको थियो। तस्बिर इक्वेडरमा खिचिएको थियो।

दुई किराको कथा - फ्र्याङ्क डेश्च्यान्डोल, फ्रान्स

तस्बिर स्रोत, Frank Deschandol/WPY2020

'बिहेभिअर: इन्भर्टीब्रेट' शीर्षकको पुरस्कार प्राप्त गर्न सफल यो तस्बिर फ्रान्समा खिचिएको थियो।

सुनौला अवसर- सोङ्दा काइ, चीन

तस्बिर स्रोत, Songda Cai/WPY2020

'अन्डर वाटर' अर्थात् पानी मुनि शीर्षकको यो तस्बिर फिलिपिन्समा खिचिएको थियो।

जब आमाले भाग भन्छिन्- श्यानयुआन लि, चीन

तस्बिर स्रोत, Shanyuan Li/WPY2020

बिहेभिअर: म्यामल्स अर्थात् स्तनधारीको बानीबेहोरा शीर्षकमा पुरस्कार प्राप्त गरेको यो तस्बिर उत्तरपश्चिम चीनमा खिचिएको थियो।

वाइल्डलाइफ फोटोग्राफर अफ द इअरको पुरस्कार वितरण भव्य रात्रि भोजसहित लन्डनको न्याचुरल हिस्ट्री म्युजिमयममा गरिन्थ्यो। तर महामारीका कारण यो वर्ष यो प्रतियोगिताको परिणाम घोषणा अनलाइनमार्फत् गरिएको थियो।

अर्को वर्षको प्रतिस्पर्धाका लागि तस्बिर लिन यसै हप्तादेखि शुरू हुने बताइएको छ।

तस्बिर स्रोत, Sergey Gorshkov

तस्बिरको क्याप्शन, लेपर्ड न्याशनल पार्कमा क्यामरा ट्र्याप तयार गर्दै सेर्गेइ गोर्शकोभ

तस्बिर स्रोत, Sergey Gorshkov

तस्बिरको क्याप्शन, बाघहरू यो ठूलो क्षेत्रमा खाना खोज्न हिँड्ने गर्छन्