ब्रजिल डढेलो: यो घाइते ज्याग्यूअर उष्णप्रदेशीय सिमसारमा भएको विध्वंशको प्रतीक बनेको छ

तस्बिर स्रोत, Ailton Lara

तस्बिरको क्याप्शन, यो घाइते ज्यागुअरको तस्बिर प्यान्टनल आगलागी सम्बन्धित सबभन्दा धेरै शेअर भएको फोटोहरूमध्ये एक बनेको छ
    • Author, भिनिसिअस लेमोस
    • Role, बीबीसी न्यूज ब्रजिल, साओ पाउलो
  • पढ्ने समय: ३ मिनेट

मध्यब्रजिलबाट छिमेकी बोलिभिया र पाराग्वेसम्म फैलिएको विश्वकै सबैभन्दा ठूलो ऊष्ण सीमसार क्षेत्र प्यान्टनललाई जङ्गली डढेलोले नष्ट गरिरहेको छ।

यो उक्त क्षेत्रमा दशकौँ यताको सबैभन्दा खराब आगलागी हो। त्यसले जनावर र बोटबिरुवामाथि पारेको प्रभावबारे विश्वभरि चिन्ता व्यक्त भइरहेको छ।

उक्त सिमसार क्षेत्रमा आगो लप्काले २९,००० वर्ग किलोमिटर क्षेत्रमा प्रभाव पारिसकेको ब्रजिलका अधिकारीहरूले बताएका छन्।

उक्त भूगोल न्यूयोर्क सिटीभन्दा तीनगुणा बढी र प्यान्टनलको कुल भूभागको १९ प्रतिशत हो।

उक्त क्षेत्रका बासिन्दाहरूले आर्थिक र स्वास्थ्य समस्याहरू खेपिरहेका छन् र सङ्कटमा रहेको ज्याग्यूअर (बाघ प्रजातिको एउटा जीव) जस्ता प्राणीले पनि बाँच्न सङ्घर्ष गरिरहेका छन्।

हजारौँ व्यक्तिहरूले उक्त क्षेत्रको पीडाका तस्बिरहरू शेअर गरिरहेका छन् र तीमध्ये तीनवटा फोटो इन्टरनेटमा भाइरल भएका छन्।

ती तस्बिर पछाडिका कथा जान्न बीबीसीले फोटोग्राफरहरूसँग कुरा गरेको थियो।

ढलिरहेको ज्याग्यूअर

प्यान्टनलमा वन्यजन्तु पहिचान गर्ने टोलीहरूको भ्रमणलाई प्रवर्धन गर्ने टोलीका मालिक एल्टन लाराले उक्त तस्बिर सेप्टेम्बर १५ मा खिचेकी हुन्।

ज्याग्यूअरको सङ्ख्या बढी पाइने क्षेत्रमा खिचिएको उक्त तस्बिरमा एउटा राष्ट्रिय निकुञ्जमा उक्त जीव लडिरहेको देखिन्छ।

तस्बिर स्रोत, Jaguar Ecological Reserve

तस्बिरको क्याप्शन, आगलागीमा फसेका जनावर उद्धार गर्ने प्रयत्न स्वयंसेवक र वन्यजन्तु संरक्षणमा संलग्न प्रहरीहरूले गरिरहेका छन्

उक्त निकुञ्जलाई आगोले लगभग पूर्ण रूपमा नष्ट गरेको छ र अधिकारीहरूले त्यहाँको १,०८,००० हेक्टर क्षेत्रमध्ये ८५ प्रतिशत भूमिमा डढेलो लागेको जनाएका छन्।

लाराले अरू स्वयंसेवकसहित घाइते वन्यजन्तु खोज्दै डुङ्गामा गइरहँदा आफूले उक्त भाले ज्याग्यूअर फेला पारेको बताएकी छन्।

"उक्त जीव पानीको छेउमा थियो तर हामी पुगिसकेपछि ऊ तीन-चार मिटर हिँड्यो र नदीछेउमा रहेको रूखको छहारीमा बस्यो। हामी उसलाई सम्मान गर्दै अलिकति परै बस्यौँ," उनले भनिन्।

लाराका अनुसार उक्त जीवले आफ्नो खुट्टाले भुइँलाई छुन सकिरहेको थिएन र माथि हावामा उठाइरहेको थियो। "उनीहरू आफ्ना पञ्जा जमिनमा राख्छन्। तर यसको पञ्जा जलेको थियो।"

उक्त जनावरलाई चोट लागेको र उसले अस्वाभाविक रूपमा सुतेर बसेकाले आफ्नो ध्यानाकृष्ट भएको उनले बताइन्।

डुङ्गामा रहेका मानिसहरूसँग उद्धार गर्ने सामग्री त्यो दिन थिएन। उनीहरूले स्थानीय पशुस्वास्थ्यकर्मीसँग सम्पर्क गर्दा उक्त जनावर जङ्गलमा गइसकेको थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, खरानी बनेको जमिनमा रहेको गोहीको जलेको शरीर

"दोस्रो दिन हामी पुग्दा पशुस्वास्थ्यकर्मीले खरानीमा उक्त जनावरको सङ्केत फेला पारे। तर नजिकै उक्त जनावर भेटिएन। त्यसयता उसको बारेमा केही समाचार छैन। उक्त ज्याग्यूअर सुरक्षित होला भन्ने मेरो अपेक्षा छ।"

प्यान्टनलमा अरू कैयौँ ज्याग्यूअर घाइते र मृत अवस्थामा फेला परेका थिए। लाराको तस्बिर समाजिक सञ्जालमा व्यापक रूपमा शेअर गरिएको थियो र एउटा ट्वीट हजारौँ पटक लाइक गरिएको थियो।

सबैथोक खरानी

तस्बिर स्रोत, Gustavo Figueiroa/SOS PANTANAL

तस्बिरको क्याप्शन, गुस्ताभो फिगेरोआले खिचेको ड्रोन तस्बिर

भाइरल भएको अर्को तस्बिर एक जीवशास्त्री गुस्ताभो फिगेरोआले ड्रोनको मद्दतले खिचेका थिए।

एसओस प्यान्टनल इन्स्टिट्यूटमा काम गर्ने उनले खिचेको तस्बिरले निकुञ्जलाई आगलागीले पुर्‍याएको क्षति देखिन्छ।

"जब मैले ड्रोन क्यामराबाट हेरेँ, त्यसले मलाई स्तब्ध बनायो।"

"अघिल्लो साल म निकुञ्जमा हुँदा सबैथोक हरियो थियो। तर अहिले सबैथोक खरानी भएको छ।"

उनले आगलागीबाहेक पानी पिउन नपाएर पनि कैयौँ जनावरहरू मरेको हुनसक्ने भन्दै दु:ख व्यक्त गरे।

आगलागीबारेको उनको एउटा तस्बिरमा समाजिक सञ्जाल फेसबुकमा डेढ लाखभन्दा बढी मानिसले प्रतिक्रिया जनाएका थिए। त्यसमध्ये अधिकांशले दु:ख व्यक्त गरेका इमोजीसहित प्रतिक्रिया व्यक्त गरेका थिए।

डुङ्गाचालक र 'जलिरहेको नदी'

डुङ्गामा एउटा मानिस रहेको र पृष्ठभूमिमा भीषण आगलागी भइरहेको तस्बिरले पनि सामाजिक सञ्जालमा एकदमै चर्चा पायो।

उक्त तस्बिर पत्रकार ब्रुना ओबाडस्कीले सेप्टेम्बर ५ मा खिचेकी थिइन्। डुङ्गा चलाउने व्यक्ति टिआओ उक्त क्षेत्रमा वर्षौँदेखि काम गरिरहेका थिए।

ओबाडस्की भन्छिन्, "तर उनले तीन महिनाभन्दा बढी समयदेखि काम गरेका छैनन्। उनी पछिल्लो अवस्थाका कारण एक्लिएका छन्।"

ती पत्रकारलाई डुङ्गाचालकले आगलागीको क्षति देखाउन उक्त क्षेत्रमा लगेका थिए। "उनले अवस्था एकदमै गम्भीर छ भन्दै हामीलाई डुङ्गामा त्यहाँ पुर्‍याउने अडान राखिरहे। त्यसअघि मैले यति ठूलो आगलागी देखेकी थिइनँ।"

ब्रजिलका एक गायक तथा गीतकारले पनि उक्त तस्बिर ट्वीट गर्दै "प्यान्टनल सहयोग माग्दै रोइरहेको" उल्लेख गरेका छन्।

तस्बिर स्रोत, Bruna Obadowski/A Lente

तस्बिरको क्याप्शन, भाइरल बनेको डुङ्गाचालकको तस्बिर

ती पत्रकार भन्छिन्ः टिआओले साओ लुरेन्सो नदीको किनारादेखि ध्वस्त भएको क्षेत्र देखाए।

नदी डुङ्गा र पर्यटकहरू उनको जीवन धान्ने माध्यम हो। पहिले टिआओको तस्बिर खिच्ने ओबाडस्कीको योजना थिएन तर उनले विचार परिवर्तन गरिन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

"उनको कथा असाध्यै मर्मस्पर्शी लाग्यो त्यसैले मैले उनका तस्बिर खिच्न थालेँ।"

ती डुङ्गाचालकको यो तस्बिरलाई प्रख्यात गायक लुआन स्यान्टनाले शेअर गरेपछि हजारौँ जनाले 'लाइक' गरे।