अमेरिकी राष्ट्रपति: कोभिड-१९ पोजिटिभ देखिएका ट्रम्प अस्पताल भर्ना भए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, डोनल्ड ट्रम्प वाल्टर रीड न्याशनल मिलिटरी मेडिकल सेन्टरमा
पढ्ने समय: ३ मिनेट

कोरोनाभाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति उपचारका लागि अस्पताल भर्ना भएका छन्। उनलाई ज्वरो आएको बताइएको छ।

ह्वाइट हाउसले राष्ट्रपति "थकित भएको तर राम्रो अवस्थामा रहेको" र सावधानी अपनाउन अस्पताल पुर्‍याइएको जनाएको छ।

ट्रम्प र उनकी पत्नी मेलानिया दुवैलाई कोभिड-१९ पोजिटिभ भएपछि ट्रम्पलाई विभिन्न औषधिको मिश्रणको सुइ दिइएको थियो।

ट्रम्पले के उपचार पाइरहेका छन् ?

स्थानीय समय अनुसार शुक्रवार साँझ ट्रम्पका फिजिसियन सीयन कनलीले लेखेका छन्, "राष्ट्रपतिलाई निकै राम्रो भइरहेको छ भन्ने लेख्न पाउँदा म हर्षित छु।"

"उनलाई अक्सीजन लगाउनुपरेको छैन। तर विशेषज्ञहरूको सल्लाहमा हामीले रेमडेसिभिर चलाउने निर्णय गर्‍यौँ।" राष्ट्रपतिले पहिलो मात्रा लिएको र सजिलोसँग आराम गरिरहेको उनले बताए।

डा. कनलीले त्यस अघि एक विज्ञप्ति जारी गर्दै 'सावधानी अपनाउनका लागि रेजेनेरोन पोलीक्लोनल एन्टिबडी मिश्रणको ८ ग्राम' खुवाएको बताएका थिए।

उक्त औषधी शरीरमा भाइरसको मात्रा घटाउन र छिटो सञ्चो बनाउन दिइएको बताइएको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ट्रम्प बुधवारदेखि क्वारन्टीनमा गएका थिए

उनले जीङ्क तत्व, भिटामिन डी, फ्यामोटिडिन, मेलाटोनिन र एस्पिरिन पनि लिएको डा कनलीले बताएका थिए।

उनले भनेका थिए, " शुक्रवार अपरान्ह् सम्ममा राष्ट्रपतिमा थकान त छ तर उनी राम्रो स्थितिमा छन्।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनसँग राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धा हुन लागेको एकमहिनाअघि ट्रम्पका लागि यो सम्भावित धक्का हो।

शुक्रवार राष्ट्रपति कस्ता देखिएका थिए?

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मरिन वान हेलिकोप्टर

मास्क र सुट लगाएका ट्रम्प शुक्रवार अपरान्ह ह्वाइटहासबाट आफ्नो हेलिकोप्टर मरिन वानमा वासिङ्टन डीसीको सहरको बाहिरीभेगमा रहेको वाल्टर रीड न्याशनल मिलिटरी मेडिकल सेन्टरसम्म छोटो उडान गरेर गएका थिए।

हेलिकोप्टर चढ्नुअघि उनले संवाददाताहरूलाई हात हल्लाएका थिए र बुढी औँलाले 'ठिक छ' भन्ने सङ्केत गरेका थिए तर केही बोलेका भने थिएनन्।

ट्विटरमा पोष्ट गरिएको भिडिओमा ट्रम्पले भनेका छन्: "मलाई लाग्छ मलाई एकदम ठिक छ। तर हामी सबै ठिक पार्नेछौं। मेरी पत्नीलाई पनि ठिक छ। त्यसैले धेरै धेरै धन्यवाद।"

राष्ट्रपतिका सन्तानहरू इभाङ्का र एरिकले ट्रम्पको पोष्ट रिट्विट गरेका छन् र "योद्धा" का रूपमा उनको प्रशंसा गरेका छन्। छोरी ट्रम्पले थपिन्: "हामी तपाईँलाई माया गर्छौं बुवा।"

वाल्टर रिड अस्पतालमा ट्रम्प त्यहाँको सुविधासम्पन्न प्रेसिडेन्सियल सुइट कक्षमा भर्ना भएका थिए, जहाँ सामान्यतया अमेरिकी राष्ट्रपतिको वर्षेनी उपचार हुने गर्छ।

ह्वाइट हाउसले के भनिरहेको छ?

तस्बिरको क्याप्शन, वाल्टर रीड अमेरिकाको ठूलो र प्रसिद्ध सैनिक अस्पताल हो

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्तिमा भनेकी छन्: "राष्ट्रपति ट्रम्प राम्रो मनोभावमा हुनुहुन्छ। सामान्य लक्षणहरू देखिएका छन् र दिनभर काम गरिरहनुभएको छ।

"सावधानीका लागि र राष्ट्रपतिका फिजिसियन र मेडिकल विज्ञको सुझाव अनुसार उहाँले अबका केही दिन वाल्टर रीड अस्पतालस्थित राष्ट्रपति कार्यालयबाटै काम गर्नुहुनेछ।

"आफू र आफ्नी पत्नीप्रति आएका समर्थनको ओइरोको राष्ट्रपति ट्रम्पले सम्मान गर्नु भएको छ।"

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार ट्रम्पलाई सामान्य खालको ज्वरोको लक्षण छ।

ह्वाइट हाउसका सञ्चार निर्देशक अलिसा फारा ले राष्ट्रपतिले आफ्नो शक्ति उपराष्ट्रपति माइक पेन्सलाई नसुम्पिएको बताएकी छन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हेलिकोप्टरतर्फ जाँदै गर्दा ट्रम्पले संवाददाताहरूलाई हात हल्लाएका थिए

"राष्ट्रपति आफैँ जिम्मेवारीमा हुनुहुन्छ," उनले भनिन्।

अमेरिकी संविधान अन्तर्गत ट्रम्प आफ्नो जिम्मेवारी निर्वाह गर्न बिमारीका कारण असमर्थ भए उनले आफ्नो जिम्मेवारी अस्थायी समयका लागि उपराष्ट्रपतिलाई दिनसक्छन्।

त्यसको मतलब शुक्रवारको परिक्षणमा कोरोनाभाइरस नेगेटिभ देखिएका पेन्स - ट्रम्प पुन: ठिक भएर काममा नफर्किँदासम्म कार्यबहाक राष्ट्रपति बन्नेछन्।

राष्ट्रपतीय चुनावको जम्मा ३२ दिनअघि ट्रम्पलाई कोरोनाभाइरस पोजिटिभ देखिएको छ।

७४ वर्षको उनको उमेर भनेको यो रोगले निम्त्याउनसक्ने जटिलता लागि उनी एकदमै खतरापूर्ण उमेर समूहमा पर्छन्।

कम से कम उपचार हुँदासम्म उनी क्वारन्टीनमै बस्नुपर्छ। त्यसको अर्थ कम्तीमा उनको पक्षमा राष्ट्रपतीय प्रतिस्पर्धा एकदमै महत्त्वपूर्ण रुपमा परिवर्तित भएको छ।