कोरोना भाइरस नेपालः फेरि हुन थालेका आन्तरिक उडानहरू यसरी पहिलाभन्दा फरक हुनेछन्

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन, अहिले पहिला दैनिक रूपमा हुँदै आएका उडानको २५ प्रतिशत मात्र विमान चल्नेछन्
    • Author, नेत्र केसी
    • Role, बीबीसी न्यूज नेपाली

छ महिनादेखि बन्द रहेको नेपालको नियमित आन्तरिक उडान सोमवारबाट सुरु गर्दा विशेष अवस्थाको स्वास्थ्य मापदण्ड लागु हुने उड्डयन अधिकारी एवं वायुसेवा सञ्चालकहरूले बताएका छन्।

स्वास्थ्यका सबै मापदण्ड कडाइका साथ पालना होस् भनेर सामान्य अवस्थामा दैनिक रूपमा हुँदै आएका उडानको २५ प्रतिशत मात्र विमान सञ्चालनमा आउनेगरी अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूको भनाइ छ।

यसअघि असोज १ गतेबाटै आन्तरिक उडान सुरु गर्ने भनिए पनि सरकार र वायुसेवा सञ्चालकहरूबीच पहिले भनिएको आधा मात्र यात्रु बोक्ने विषयमा कुरा नमिल्दा उडान हुन सकेको थिएन।

मापदण्ड

नेपाल वायुसेवा सञ्चालक सङ्घका महासचिव मनोज कार्कीका अनुसार आफूहरूले पूर्ण क्षमतामा समेत यात्रुहरू सुरक्षित रूपले उडाउन सक्नेगरी तयारी गरेको कुरा सरकारलाई आश्वस्त पारेपछि अवस्था फेरिएको बताउँछन्।

कार्कीको भनाइ छ: “विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओले बनाएका मापदण्डअनुसार उडानअघि, उडानभरि र उडानपछि हुनुपर्ने कामका रूपरेखाबारे कर्मचारीहरूलाई तालिम दिइसकेका छौँ।”

तर अब विमानस्थलमा एक पटकमा बढीमा तीनटा उडानका यात्रुहरुलाई मात्र लैजानेगरी प्रबन्ध मिलाइएको बताइएको छ।

त्यसले यात्रुहरू उडानमा जानुअघि बस्ने ठाउँमा पनि विगतको भन्दा दूरी कायम गर्न सघाउने अधिकारीहरूको भनाइ छ।

वायुसेवा सञ्चालक सङ्का महासचिव कार्की भन्छन्: “आईकाओको मापदण्डमा जोखिम श्रेणीका उडानलाई जसरी हेरिएको छ त्यसको तुलना गर्दा नेपालका लगभग उडान एक घण्टाभित्रकै भएकाले उडान हुँदा सङ्क्रमणको जोखिम कम देखिन्छ।”

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसपछि हवाई यात्रा कस्तो होला

उड्डयन अधिकारी एवं विमानसेवा सञ्चालकहरूका अनुसार आन्तरिक उडानमा हुने नयाँ प्रावधानहरू यस्ता छन्:

  • विमानस्थलमा प्रवेश गर्न यात्रुहरूले मास्क र सर्जिकल पन्जा अनिवार्य लगाएको हुनुपर्ने र उडान अवधिभरि कायम हुनुपर्ने
  • विमानस्थलका कर्मचारी र यात्रुबीच सीधा सम्पर्क नहुनेगरी काउन्टर तय हुनुपर्ने
  • विमानस्थलमा जहाजसम्म लैजाने गाडीमा भिडभाड नहुनेगरी प्रबन्ध हुनुपर्ने
  • अत्यावश्यक नपरीकन ७० वर्ष माथिका व्यक्तिहरूलाई विमानमा यात्रा नगर्न आग्रह
  • विमानभित्र हुने पेय/खाजा जस्ता खानपानका सेवामा हाललाई रोक
  • विमानभित्र शौचालय प्रयोग नगर्न आग्रह
  • आवश्यक विवरण रेकर्डका लागि आफ्नै कलमको प्रयोग गर्नुपर्ने
  • यात्रुले पहिलेजस्तो ह्यान्ड लगेज बोक्न नपाउने

'कडा अनुगमन'

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन, सोमवारबाट नेपालका सबै चल्तीका विमानस्थलहरू खुला गरिएको छ

प्रवक्ता क्षत्रीले त्यसको कडाइका साथ कार्यान्वयनका लागि अनुगमन संयन्त्र नै बनाइएको बीबीसीलाई बताए।

उनले भने, “आन्तरिक विमानस्थलमा प्रबन्धकको नेतृत्वमा र नागरिक उड्डयन प्राधिकरणले अनुगमन गर्दैछ।”

प्राधिकरणका अनुसार सोमवार ३८ देखि ४० वडा उडान हुनेगरी अनुमति दिइएको छ।

नेपालका सबै चल्तीका विमानस्थलहरू खुला गरिएको भए पनि विमानसेवाहरूले आफूले पाएको उडान कोटाको अनुपातमा त्यो कुन रूटमा कतिवटा उडान सञ्चालन गर्ने भन्ने निर्णय गर्न सक्नेछन्।

मध्य असोज (सेप्टेम्बर महिनाको अन्त्य) सम्म कोरोनाभाइरसको सङ्क्रमणको क्रम हेरेर त्यसपछि उडानमा कसरी थपघट गर्ने भन्ने अर्को निर्णय हुने बताइएको छ।

आन्तरिक उडानहरू सुरु हुँदा आवागमन सहज हुने भए पनि यसले कोरोनभाइरस सङ्क्रमण बढाउने हो कि भन्ने चिन्ताहरु पनि व्यक्त भइरहेका छन्।

तर विमानसेवा सञ्चालकहरूले यसबीचमा गरेका चार्टर्ड उडानमा समेत यही मापदण्ड प्रयोग गर्दा त्यो प्रभावकारी देखिएको बताउने गरेका छन्।