अमेरिकी स्वतन्त्रता दिवस: जुलाई ४ को सम्बोधनमा 'उग्रवादी वामपन्थी'लाई परास्त पार्ने ट्रम्पको प्रतिबद्धता

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राष्ट्रपति ट्रम्पले जुलाई ४ मनाउन मेडिकल कर्मचारी र सिपाहीलाई ह्वाइट हाउसमा बोलाएका थिए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभरि कोरोनाभाइरस सङ्क्रमण झन् बढेका बेला ४ जुलाईको सम्बोधनमा कोभिड-१९ विरूद्ध मुलुकले "प्रगति" गरिरहेको बताए।

महामारी व्यवस्थापनमा उनको तौरतरिकालाई लिएर आलोचना भइरहँदा ट्रम्पले भाइरस प्रकोप सुरु भएको चीनलाई "पूर्ण रूपमा जिम्मेवार बनाउनुपर्ने" बताए।

हालै रङ्गभेद विरोधी प्रदर्शनमा अमेरिकी नेताहरूका सालिक फोडेका प्रदर्शनकारीको ट्रम्पले कडा आलोचना गरे।

उनले "उग्र वामपन्थी, मार्क्सवादी, ध्वंसवादी, आन्दोलनकारी र लुटेराहरूलाई" परास्त पार्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने "उनीहरूको लक्ष्य ध्वंस हो।"

जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवस हो।

कोरोनाभाइरसका कारण यस वर्षको स्वतन्त्रता दिवसका धेरैजसो कार्यक्रम रद्द गरिएका थिए।

ट्रम्पले साथमा श्रीमती मेलानिया राखेर ह्वाइटहाउसको बगैँचामा अमेरिकी सुरक्षाकर्मी र अग्रमोर्चाका मेडिकल कर्मचारीको भिडलाई सम्बोधन गरेका थिए।

उनले "हाम्रो देशका प्रतिभाशाली वैज्ञानिकहरूले आउँदो वर्षको अन्त्य अगावै औषधी वा खोपको समाधान निकाल्नेछन्" भने।

अहिले अमेरिकामा विश्वकै सबभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमित छन् र सबभन्दा धेरै मानिसको मृत्यु पनि त्यहीँ भएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार शनिवार २४ घण्टामा मात्र ४३ हजार भन्दा बढी सङ्क्रमित फेला परेका थिए।

सङ्क्रमण सबभन्दा चुलिएको फ्लोरिडामा मात्र ११,४५८ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

राष्ट्रपतिले सम्बोधनमा करिब १ लाख ३० हजार जनाको मृत्युको सन्दर्भ उल्लेख नै गरेनन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले आकाशमा सैन्य जहाज प्रदर्शन अवलोकन गरेका थिए

उनको सम्बोधन लगत्तै आकाशमा बी-५२ बम्बर र एफ-३५ लडाकु जेट लगायतको प्रदर्शन गरिएको थियो।

पछि बृहत् आतसबाजी पनि गरिएको थियो।

ट्रम्पको भाषण अगाडि 'ब्ल्याक लाइभ्स म्याटर' अभियानका प्रदर्शकारीहरू ह्वाइटहाउस बाहिर जम्मा भएका थिए।

ट्रम्पले अरू के भने?

देशभर सङ्क्रमण बढिरहेको भए पनि ट्रम्पले "हामीले धेरै प्रगति गरिरहेका छौँ" र "हाम्रो रणनीति राम्ररी अगाडि बढिरहेको छ" भने।

यो वर्ष चुनावमा पुनर्निर्वाचित हुन खोजिरहेका ट्रम्पले राष्ट्रवादी धारणा राख्दै चीनलाई भाइरस प्रकोपको सूचना लुकाउन खोजेको आरोप लगाए जुन बेइजिङले अस्वीकार गर्दै आएको छ।

उनको आरोप थियो "चीनले सूचना गोप्य राखेका कारण भाइरस संसारभरि फैलियो।"

अमेरिकाले जुलाई ४ कसरी मनायो?

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मायामी बीच बिदा मनाउने सप्ताहन्तमा बन्द गरिएको थियो

धेरै ठाउँमा स्वास्थ्य सङ्कटका कारण जुलाई ४ का कार्यक्रमहरू स्थगित गरएका थिए।

फ्लोरिडा र क्यालिफोर्नियाका तटीय क्षेत्रहरू बन्द गरिएका थिए।

शहरमा प्रदर्शन गर्ने गरिएको परेड रद्द गरिएको थियो र आतसबाजी प्रदर्शनपनि ८० प्रतिशत भन्दा कम गरिएको थियो।

यो वर्षको निर्वाचनमा ट्रम्पका प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका जो बाइडेनले ट्वीट गर्दै भने "यो वर्षको ४ जुलाईमा देशभक्तिपूर्ण एक काम गर्नु भनेको तपाईँले मास्क लगाउनु हो।"