कोरोना भाइरस नेपालः नेकपा नेताहरूले लगाएको 'भाइरस भगाउने' कार्डको नालीबेली, प्रतिष्ठित व्यक्तिले नै प्रयोग गरेको देखेर सरकार 'चिन्तित'

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, शुक्रवारको बैठकमा सहभागी नेता
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ३ मिनेट

नेपाल कम्युनिस्ट पार्टीका केही नेताहरू नीलो डोरीसहितको एउटा कार्ड लगाएको देखिएपछि खासगरी सामाजिक सञ्जालमा अहिले व्यापक चर्चा भइरहेको छ।

नेकपाको स्थायी कमिटीको बैठकमा शुक्रवार सहभागी कतिपय नेताले 'कोरोनाभाइरसबाट सुरक्षित राख्ने' भनिएको कार्ड गलामा भिरेका तस्वीर विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका छन्।

त्यसरी कार्ड भिर्नेमा पार्टीका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डदेखि अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बहालवाला गृहमन्त्री रामबहादुर थापासम्म रहेको तस्बिरमा देखिन्छ।

पछिल्लो समय कतिपय सांसदले पनि त्यो कार्ड लगाएर संसद्‌को बैठकमा उपस्थित हुने गरेका विवरणहरू पनि सार्वजनिक भएका छन्।

आलोचना

तर नीति निर्माणको तहमा रहेका नेताबाटै जनमानसमा भ्रम फैलाउने खालको काम भएको भन्दै विज्ञदेखि सर्वसाधारणसम्मले चर्को आलोचना गरिरहेका छन्।

कोरोनाभाइरसबाट सुरक्षित राख्न सक्ने त्यस्तो कुनै कार्ड विश्व स्वास्थ्य सङ्गठन अथवा अरू कुनै अन्तर्राष्ट्रिय निकायबाट प्रमाणित नभएको विज्ञहरू बताउँछन्।

हुन त उक्त कार्डले कोरोनाभाइरसविरुद्ध काम गर्छ भन्ने कुरामा नेताहरू आफैँ पनि विश्वस्त देखिँदैनन्। शुक्रवार गलामा त्यो कार्ड भिरेको देखिएका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेको अभिव्यक्तिबाट पनि यो कुरा प्रस्ट हुन्छ।

संवाददाताहरूसित उनले भने, "पहिला बाल्यकालमा भूतप्रेत लाग्दैन भनेर गलामा जन्तर झुन्ड्याइदिन्थे। अहिले कोरोना जन्तर लगाइदिए, अब यसले कति काम गर्छ थाहा छैन।"

"माधव कमरेडले ल्याउनुभएको, कुन चाहिँ डाक्टरले दिएका रे। जापानमा पनि धेरैले लगाएर हिँड्छन् रे। घाममा नदेखाउनू भन्ने नियम रहेछ। अरूले लगाएको देखेपछि मैले मागेँ," उनले भने।

"मलाई थाहा छैन यसले [भाइरस] उडाउँछ कि उडाउँदैन, बेसारको धुलोजस्तै हो कि?" उनले भने।

अर्का स्थायी कमिटी सदस्य गणेश शाहले अरू नेताबाट सुनेको आधारमा त्यो कार्ड आफूले पनि लगेको बताए।

"एक महिनासम्म भाइरस आउँदैन भने। कभरसहित लिएर म घर गएँ। एक-दुई जनालाई देखाउँदा काम छैन भने। हिजो एक दिन मात्रै लगाएको छु," उनले भने।

शाहका अनुसार शनिवारको बैठक आरम्भ हुनुअघि अनौपचारिक कुराकानीका क्रममा नेता सुरेन्द्र पाण्डेले पनि त्यो कार्डको 'वैज्ञानिकता'बारे प्रश्न गरेका थिए।

माधवकुमार नेपाल कसरी जोडिए?

नेकपाले पार्टीगत रूपमा माग गरेपछि आफूहरूले ल्याइदिएको बियोन्ड द वाल ट्रेडिङ प्रालिका प्रमुख विप्लव केसीले बीबीसी न्यूज नेपालीलाई शनिवार बताए।

तर कार्ड वितरणसँग पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जोडेकोमा केसी र नेता नेपालका स्वकीय सचिव पनि असन्तुष्ट देखिन्छन्।

केसीले भने, "के भयो भने पार्टीबाट अर्डर आयो, हाम्रो कम्पनीको अफिस भक्तपुरमा छ। मैले माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा डेलिभर गरिदिएँ।"

"विष्णु पौडेललाई दिन्थेँ भने विष्णु पौडेलले बाँड्नुहुन्थ्यो होला। मैले यहाँ नजिक भएर माधवकुमार नेपालको घरमा छोडदिएँ। उहाँ उता जाँदै हुनुहुन्थ्यो। उहाँको नेचर पनि डाउन टु अर्थ छ।"

नेता माधवकुमार नेपालले कार्ड बाँडेको कुरामा कुनै सत्यता नभएको उनका स्वकीय सचिव मोहन गौतमले पनि बीबीसीलाई बताए।

"चिनजानको मान्छे हो उहाँ [विप्लव केसी], त्यही भएर पुर्‍याइदिनुभएको हो। कार्ड त पार्टीले किनेर बाँडेको हो।"

विश्वका अरू देशका मानिसहरूको पहुँचमा आइसकेको सामान नेपालीले पनि प्रयोग गरून् भनेर आफूहरूले चीनबाट आयात गरेको केसीले बताए।

"यो बेचेर मास्क पनि नलगाई हिँड्नूस्, स्यानिटाईजर पनि प्रयोग नगर्नूस् भनेर हामीले मार्केटिङ गरेका छैनौँ। यसले केही अतिरिक्त सुरक्षा दिन्छ भन्ने कुरा न हो," उनले थपे।

उक्त कम्पनीले प्रतिकार्ड ६२५ रुपैयाँमा नेकपालाई विक्री गरेको जनाएको छ। "खुद्रामा हामीले प्रतिकार्ड ७०० रुपैयाँमा बेच्ने गरेका छौँ," केसीले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ बारे थाहा हुन बाँकी कुरा

विज्ञहरू के भन्छन्?

कुरीति र अन्धविश्वास व्याप्त रहेको नेपाल जस्तो देशमा जिम्मेवार नेताहरूले नै जन्तरबाट कोरोनाभाइरससँग सुरक्षित हुने कुरा गर्दा त्यसले भ्रम फैलाउने भाइरोलोजिस्ट डा. लुना भट्ट शर्मा बताउँछिन्।

"यो लगाएपछि मैले हात पनि नधोए हुन्छ, शारीरिक दूरी पनि कायम राख्नुपर्दैन भन्ने मान्छेलाई भ्रम पर्न सक्छ। सङ्क्रमितहरूको सङ्ख्या बढिरहेका बेला यसले झन् डरलाग्दो समस्या निम्त्याउन सक्छ।"

त्यसका अतिरिक्त कार्डमा प्रयोग भएको रसायनले स्वास्थ्यामा नकारात्मक असर पार्न सक्नेतर्फ उनले सचेत गराइन्।

डा. शर्माले भनिन्, "क्लोरिनले सास फेर्दा फोक्सोका कोषलाई असर पार्छ। त्यसबाहेक नियमित कोषमा पनि हानि गर्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरसः कोभिड-१९ सम्बन्धी यी भ्रामक कुरा बेवास्ता गर्नुहोस्

कार्डको प्रयोगलाई लिएर अर्का चिकित्सक डा. शेरबहादुर पुनले पनि सजग गराएका छन्।

ट्वीट गर्दै उनले भनेका छन्, "भाइरस ब्लकर झुन्ड्याउनेहरू देखिन्छन्। कुन भाइरस, कहाँ छिर्नबाट ब्लक गर्ने हो जानकारी छैन। ब्याक्टेरिया पनि हटाउने भनेको छ, तर कुन ब्याक्टेरिया कहाँबाट जानकारी छैन।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

"अधिकारिक मान्यता छैन। तर अरूले पनि अनुसरण गर्दा ढुक्क भई व्यक्तिगत दूरी, मास्क लगाउने, साबुनपानीले हात धुन बेवास्ता हुने त होइन?"

मन्त्रालयको स्पष्टोक्ति

शनिवार नियमित प्रेस ब्रीफिङका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भाइरस 'रिमुभिङ कार्ड'बारे गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले भने, "यस किसिमको कुनै पनि कार्ड पत्ता लागेको छैन। त्यस्ता किसिमका कुनै पनि कार्डलाई नेपाल सरकारले स्वीकृति दिएको छैन।"

प्रेस ब्रीफिङका क्रममा गौतमले नेकपाका नेता तथा सांसदले प्रयोग गरेका विवरणबारे उल्लेख नगरे पनि प्रतिष्ठित व्यक्तिहरूबाटै प्रयोग गरिएकोमा चिन्ता व्यक्त गरे।

गौतमका अनुसार त्यस्तो कार्डको विक्री-वितरणमा संलग्नमाथि आवश्यक कारबाहीका लागि अनुरोध समेत गरिएको छ।