कोरोनाभाइरस: 'क्लोरोक्वाईन औषधि अझै अनुसन्धानको क्रममा'

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, मलेरिया लगायतका रोगमा दिइने क्लोरोक्वाईन औषधि कोरोनाभाइरस सङ्क्रमणविरुद्ध प्रयोग गर्न लागिएको छ

अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएका प्रमुखले क्लोरोक्वाईन नामक औषधि कोरोनाभाइसको सङ्क्रमणविरुद्ध लड्न प्रयोग गर्न दिने कि नदिने भन्ने विषयमा अझै अनुसन्धान भइरहेको बताएका छन्।

त्यो औषधि मलेरिया लगायतका रोगबाट ग्रस्त बिरामीलाई दिने गरिएको छ।

राष्ट्रपति ट्रम्पले क्लोरोक्वाईन औषधि कोभिड-१९ विरुद्ध प्रयोग गर्न सिफारिस गरिसकिएको सङ्केत गरेलगत्तै एफडीए प्रमुख स्टिभेन हानले त्यो औषधि अझै अनुसन्धानको क्रममा रहेको बताएका हुन्।

त्यसअघि स्पेनमा कोरोनाभाइरस सङ्क्रमितहरूको संसर्गमा आएका झन्डै ३,००० मा हाईड्रोक्लोरोक्वाईन नामक औषधि दिइएको थियो। त्यसले कोरोनाभाइरस फैलिने क्रम रोक्ने अपेक्षा गरिएको थियो।

अन्य परीक्षणहरू

कोरोनाभाइरसको सङ्क्रमणबाट हुने कोभिड-१९ नामक रोगको उपचारका लागि उपयोगी र प्रभावकारी औषधि पत्ता लगाउने प्रयासमा वैज्ञानिक र चिकित्सकहरूले विभिन्न परीक्षण गरिरहेका छन्।

सानोफी र रिजेनेरोन नामक औषधि निर्माण गर्ने कम्पनीहरूले अहिले केभ्जारा नामक औषधिको परीक्षण गरिरहेका छन्।

प्राय: रूमटोइड आर्थ्राईटिस अर्थात् बाथ रोगको उपचारमा प्रयोग हुने उक्त औषधि न्यूयोर्कमा यसै साता केही बिरामीमा परीक्षण थालिएको थियो। त्यसको नतिजा अझै प्रस्ट भइसकेको छैन।

मोनोक्लोनल एन्टीबडी पनि भनिने उक्त औषधिले कोरोनाभाइरसप्रति शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउने अतिसक्रियतालाई घटाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको विज्ञहरूले बताएका छन्।

तस्बिरको क्याप्शन, क्यामब्रिज विश्वविद्यालयका वैज्ञानिकहरू पनि खोप विकास गर्न प्रयासरत छन्

अन्य परीक्षण

यसअघि स्पेनका अनुसन्धानकर्ताहरूले चाहिँ अर्कै औषधिको परीक्षण गरिरहेको बताएका थिए।

उनीहरूले एचआईभी अर्थात् ह्यूमन इम्यूनोडिफिशन्सी भाइरसबाट सङ्क्रमित भएका मानिसको उपचार गर्न प्रयोग गरिने औषधि कोभिड-१९ बाट पीडित २०० बिरामीमा परीक्षण गरिसकेका छन्।

तर अन्य केही परीक्षणका क्रममा एचआईभीविरुद्धका औषधिले कोरोनाभाइरस सङ्क्रमितलाई धेरै फाइदा नपुर्‍याएका विवरण यसै साता सार्वजनिक भएका थिए।

खोपको पनि परीक्षण

अमेरिकामा कोरोनाभाइरसविरुद्ध विकसित खोपको परीक्षण मानिसमा भर्खरै सुरु गरिएको हो।

वाशिङ्टन राज्यको सीयाटलमा चार बिरामीलाई उक्त खोप सुईमार्फत् दिइएको समाचारसंस्था एपीले जनाएको छ।

उक्त खोपबाट कोरोनाभाइरसको सङ्क्रमण अर्थात् कोभिड-१९ हुँदैन।

उक्त भाइरसलाई रोग लगाउने सक्षम बनाउने जिनेटिक कोड अर्थात् आनुवंशिक संरचनाको सङ्केतको प्रतिलिपि प्रयोग गरेर खोप बनाइएको हो।

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, कोरोनाभाइरसविरुद्ध मानवमा गरिएको खोपको पहिलो परीक्षण अमेरिकामा गरिएको थियो

तर त्यो प्रतिलिपिले मानव शरीरमा हानि गर्दैन।

विज्ञहरूका अनुसार त्यो खोपको प्रभावकारिता थाहा पाउन केही महिना लाग्छ।

अमेरिकामा सरकारले राज्य सरकारहरूलाई कोरोनाभाइरस परीक्षण किट विकास गर्न प्रेरित गर्दैछ।

त्यसका लागि औषधि विकास नियमन गर्न बनाइएका कानुनी प्रावधान खुकुलो पारिँदैछ।