राष्ट्रिय परीक्षा बोर्डः एसईई प्रश्नपत्रहरू 'सुरक्षित', अर्को परीक्षाका लागि एकदेखि दुई साताको म्याद दिइने

तस्बिर स्रोत, NATIONAL EXAMINATION BOARD

तस्बिरको क्याप्शन, एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए

एसईई परीक्षाका लागि केन्द्रहरूमा पुगिसकेका प्रश्नपत्रहरू सुरक्षित रहेको भन्दै पुन: हुने परीक्षामा तिनै प्रश्नपत्रहरू प्रयोग गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बीबीसीलाई बताएका छन्।

पूर्वनिर्धारित मितिको अघिल्लो दिन बुधवार साँझ सरकारले अर्को सूचना जारी नभएसम्मका लागि एसईई परीक्षा स्थगित गरिएको जनाएको थियो।

अन्तिम अवस्थामा गरिएको त्यस्तो निर्णयका कारण कतिपयले प्रश्नपत्रको सुरक्षाबारे चासो व्यक्त गर्दै आएका छन्।

यसबारे निर्णय गर्न परीक्षाको केन्द्रीय सुरक्षा समितिको बैठक बिहीवार बसेको थियो।

निष्कर्ष

बैठकका निर्णय सुनाउँदै बोर्डका अध्यक्ष पौडेलले भने: "समितिले देशभरिको सूचना लिएपछि प्रश्नपत्रहरू सुरक्षित रहेको निष्कर्षमा पुगेको छ।"

"ती प्रश्नपत्रहरू अब कम्तीमा प्रहरी निरीक्षकको कमाण्ड हुने इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालमा प्रहरी र केन्द्राध्यक्षको गरी दुईवटा ताला लगाइनेछ।"

अब गृह मन्त्रालयले मातहतका निकायलाई त्यसबारे निर्देशन दिने बताइएको छ।

परीक्षाको अर्को मिति भने कोरोनाभाइरसको महामारीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशको मूल्याङ्कन गरेर गरिने बताइएको छ।

तस्बिरको क्याप्शन, सन् २०१६ मा भूकम्प र तराईमा भएका आन्दोलनले विद्यार्थीहरूको पढाइ बिथोलेको चिन्ताबीच एसएलसी परीक्षामा छ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए

अर्को मिति जारी गर्दा विद्यार्थीहरूलाई कम्तीमा एकदेखि दुई हप्ताको म्याद दिइने बोर्डका अध्यक्ष पौडेलले बताए।

यो वर्ष एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए।