कोरोनाभाइरस: डोनल्ड ट्रम्पलाई सङ्क्रमण नभएको ह्वाइट हाउसका चिकित्सकको भनाइ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, ब्रजिलका राष्ट्रपति बोल्सोनारोका प्रेससचिवले अमेरिकामा राष्ट्रपति ट्रम्पनजिकै उभिएको तस्बिर पोस्ट गरेका थिए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा कोरोनाभाइरस सङ्क्रमण नभएको ह्वाइट हाउसका चिकित्सकले बताएका छन्।

"यो साँझ मैले कोरोनाभाइरस परीक्षण नकारात्मक रहेको पुष्टि भएको पाएँ," शन कन्लीले एउटा वक्तव्यमा भनेका छन्।

फ्लोरिडास्थित आफ्नो रिजोर्ट ब्रजिलबाट आएको एउटा प्रतिनिधिमण्डलसँग भेटघाट गरेपछि ट्रम्पले कोभिड-१९ को परीक्षण गराएका थिए।

उक्त भेटमा सहभागी केही प्रतिनिधिलाई कोरोनाभाइरस सङ्क्रमण भेटिएको थियो।

ब्रजिलका राष्ट्रपतिका एक सहयोगी पनि उक्त भेटघाटमा सहभागी थिए। उनलाई सङ्क्रमण भएको पुष्टि भयो।

"ब्राजिली प्रतिनिधिमण्डलसँग मा-र-लागोमा रात्रिभोज गरेको एक सातापश्चात् राष्ट्रपति सङ्क्रमणमुक्त रहेका छन्," कन्लीले भने।

त्रिहत्तर वर्षीय ट्रम्पले उक्त भेटपछि पनि आफूमा कुनै पनि लक्षण नदेखिएको भन्दै अलग्ग नबसी नियमित काम गरिरहेका थिए।

तर ह्वाइट हाउसमा आयोजित एउटा पत्रकार सम्मेलनमा ट्रम्पले सङ्क्रमण परीक्षण गराए कि गराएनन् भनेर सोधिएपछि उनले परीक्षण गराउने बताएका थिए।

ह्वाइट हाउसका चिकित्सकले उनले गत शुक्रवार परीक्षण गराएको बताए।

"म दैनिक रूपमा सीडीसी [सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन] र ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सम्पर्कमा रहेको छु। र, हामीले सङ्क्रमण फैलिनलाई कम गर्न र सङ्क्रमणसँग सङ्घर्ष गर्न सबै खालका उच्चतम अभ्यासहरू कार्यान्वयन गर्न प्रोत्साहन गरिरहेका छौँ," उनले वक्तव्यमा भनेका छन्।

अमेरिकाको आधिकारिक सुझावमा सङ्क्रमण पुष्टि भएको व्यक्तिलाई भेटेको हुन्छ त्यसले १४ दिन आफ्नै घरमा अलग्ग बस्नुपर्ने भनिएको छ।

अमेरिकामा हालसम्म २,७०० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ भने ५४ जनाको मृत्यु भएको छ।

गत शुक्रवार राष्ट्रपति ट्रम्पले राष्ट्रिय सङ्कटकाल घोषणा गर्दैँ कोरोनाभाइरस महामारीसँग लड्न ५० अर्ब डलर भएको कोष स्थापना गरेका छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस प्रकोप फैलिरहेकाले राष्ट्रिय सङ्कटकाल' घोषणा गरेका छन्

मा-र-लागो भ्रमण

ब्रजिलका राष्ट्रपति बोल्सोनारोका प्रेससचिव फाबियो वाइन्गटनले आफू राष्ट्रपति ट्रम्पनजिकै उभिएको एउटा तस्बिर पोस्ट गरेका थिए।

उक्त भ्रमणको कैयौँ दिनपछि उनमा सङ्क्रमण भएको पाइएको थियो। त्यस्तै अन्य केही अधिकारीहरूमा पनि सङ्क्रमण पाइयो।

वाइन्गटनलाई भेटेका माईयामीका नगरप्रमुखले पनि आफूलाई सङ्क्रमण भएको गत शुक्रवार सार्वजनिक गरेका थिए।

ब्रजिलको प्रतिनिधिमण्डलले ट्रम्पकी छोरी इभान्का, उनका पति र व्यक्तिगत वकिललाई पनि भेटेको थियो।

यसैबीच उक्त भेटमा सहभागी एक रिपब्लिकन सिनेटरले पनि सावधानीका लागि 'सेल्फ क्वारन्टीन'मा बसेको जनाएका छन्।

अरू कुन राजनीतिज्ञमा सङ्क्रमण देखियो?

पत्नी सोफियामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि यसै साताको सुरुमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले आफू १४ दिन 'सेल्फ क्वारन्टीन'मा बस्ने घोषणा गरेका थिए।

उनले पत्रकार सम्मेलनमा बोल्दै आफूमा लक्षण नदेखिएकाले परीक्षण गराउनुको कुनै अर्थ नभएको चिकित्सकहरूको सल्लाह पाएको बताएका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, स्पेनमा प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई पनि सङ्क्रमण भएको सरकारले पुष्टि गरेको छ

स्पेनमा प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई पनि सङ्क्रमण भएको सरकारले पुष्टि गरेको छ। सरकारका अनुसार दुवै जना मड्रिडस्थित प्रधानमन्त्रीको निवासमा बसिरहेका छन् र उनीहरू अवस्था ठिकै छ।

स्पेन इटलीपछि युरोपमा सबैभन्दा बढी प्रभावित देश हो।

ब्रिटेनकी कनिष्ठ स्वास्थ्यमन्त्रीमा कोरोनाभाइरसको सङ्क्रमण गत साताको सुरुमा पुष्टि भएको थियो। नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।

गत महिना इरानका उपस्वास्थ्यमन्त्रीमा पनि सङ्क्रमण पुष्टि भएको थियो।